PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानमन्त्रीको जन्मदिनले धज्जी उडाएको नेकपाको त्यो आचारसंहिता



विधुर ढकाल

प्रधानमन्त्रीको जन्मदिनले धज्जी उडाएको नेकपाको त्यो आचारसंहिता
तेह्रथुम प्रस्थानअघि बालुवाटारमा जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली। फोटो : सूर्य थापाको फेसबुकबाट।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गत माघ ५ गते पार्टी भित्र विशेष परिपत्र जारी गर्‍यो। २०७६ साउन ३१ गते बसेको नेकपाको सचिवालय बैठकले बामदेव संगठन विभाग बनायो, प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा।

यही विभागको पहिलो बैठक असोज ३० गते पार्टी कार्यालयमा बैठक बस्यो। बैठकले पार्टीको नियमावली संशोधन,संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहितासहितको कार्ययोजना तयार गरी केन्द्रीय सचिवालयमा पेश गर्‍यो। सोही अनुरुप केन्द्रीय सचिवालयको पुस १३ गते सम्पन्न बैठकले कार्ययोजनालाई परिमार्जनसहित पारित गर्‍यो।

सचिवालयको सोही निर्णयसहित जारी गरिएको विशेष सर्कुलरले पार्टीका नेता कार्यकर्ताहरुलाई आचार संहितामा बाँध्ने प्रयास गरेको छ। सर्कुलरको खण्ड ‘ङ’मा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालन गर्नुपर्ने आचारसंहिताको बारेमा उल्लेख छ।

‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ। हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं। यसका लागि पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले आचारसंहिता पालन गर्न जरुरी छ,’ सर्कुलरमा उल्लेख छ।

आचारसंहितमा परिवार भित्र बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने सर्कुलरमा उल्लेख छ।
‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’  जारी गरिएको सर्कुलरमा भनिएको छ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन। प्रधानमन्त्रीले जन्म दिन मनाउँदै गर्दा पार्टीले जारी गरेको आचारसंहिताको धज्जी उडाइएको छ।

प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि काठमाडौंबाट प्रधानमन्त्री ओलीसहितको टोली हेलिकोप्टरमार्फत प्रधानमन्त्रीको जन्मस्थान तेह्रथुम पुग्यो।

यो टोलीमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ लगायत छन्। प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि प्रधानमन्त्रीको सचिवालयका केही सदस्य यसअघि नै तेह्रथुम पुगिसकेका थिए।

प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि राज्यसंयन्त्र नै प्रयोग भएको छ। उनको जन्मदिनका लागि तेह्रथुमको प्रशासन संयन्त्र पनि लागि परेको छ। तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काका अनुसार ओलीको जन्मोत्सव मनाउनका लागि उनी जन्मिएको ईवास्थित निवासको करिब ५० मिटरको दूरीमा हेलिप्याड निर्माण भयो।

तेह्रथुममा पुगेका ओली केही सार्वजनिक कार्यक्रममा सहभागी भए, केही उद्घाटन समारोहमा पनि। अनी उनको नितान्त व्यक्तिगत कार्यक्रम शुरु भयो। उनको जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरियो।

प्रधानमन्त्रीको जन्मदिनका लागि पाँचथरको फिदिमबाट केक मगाइयो। प्रधानमन्त्रीको जन्मोत्सवमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दियो। बिदा पाएका कर्मचारी र मातहतका विद्यालयका शिक्षकहरुलाई भने जन्मोत्सव समारोहमा अनिवार्य उपस्थितिका सूचना गाउँपालिकाले गर्‍यो। कर्मचारी तथा मातहतका शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि गाउँपालिकाले निर्देशन दिएको थियो।

नेकपाका अध्यक्ष रहेका ओली आफैँ पार्टीको आचारसंहिता कार्यान्वयन गर्नुपर्ने व्यक्ति हुन्। तर उनी आफैँले पार्टीको आचारसंहिता उल्लंघन गरे।

‘आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो। मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो,’ पार्टीले जारी गरेको सर्कुलरमा अगाडि भनिएको छ, ‘पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य हो। यसको पालना नगर्ने तथा पटकपटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुन बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारबाही गर्नुपर्दछ।’

पार्टीकै अध्यक्षले आफ्नो जन्मदिन मनाउँदाका लागि राज्यसंयन्त्रको दुरुपयोग गर्दै कार्यक्रम गरिनु दुर्भाग्य भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए।

‘जन्मदिनको कार्यक्रम सामान्य रुपमा मनाएको भए हुन्थ्यो। हामीमा जन्मदिन मनाउने संस्कृति पनि कहाँ हो र?’ ती नेताले प्रश्न गरे, ‘उहाँ प्रधानमन्त्री नभएको भए उहाँले जन्मदिन मनाउनुहुन्थ्यो?’

नेकपाले आचारसंहिता जारी गर्दै गर्दा अन्तिममा एउटा वाक्यांश लेखेको छ- ‘कमरेडहरू, झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने यी निर्णयहरू पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरूको समाधानका लागि महत्वपूर्ण छन्। त्यसर्थ आउनुहोस्, पार्टीलाई गतिशील र अभिभारा बहन गर्नका लागि समर्थ तुल्याउन उपरोक्त निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सक्रियतापूर्वक जुटौं।’

‘हामीले आचार संहितामा के लेखेका छौँ? हामीले अहिले के गरिरहेका छौँ?’, ती स्थायी कमिटी सदस्यले पहिलोपोस्टसँग भने, ‘पार्टी डकुमेन्टले भन्दा पनि व्यक्तिको निर्णयले चलिरहेको छ। यो दुर्भाग्य हो। डकुमेन्ट अनुसार काम भइरहेका छैनन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell