
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।
रिपोर्टस क्लबमा भएको साक्षात्कारमा डा महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका हुन्। उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए।
‘हामीले यो प्रकरणमा विरोध गरिरहेका छौँ। प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन्, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ। सबै काण्डहरुमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ,’ उनले भने।
महतले एमसिसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गरे। नेपालको विकासमा ठूलो रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पारे। एमसिसीमा नेपाल मात्रै नभएर अन्य धेरै देशहरु संलग्न रहेको भन्दै महतले सन् २०१७ मा सम्झौता भएको भएपनि सन् २०२० मा आएर राष्ट्रघाती देख्नेहरुले तीन वर्ष के हेरेर बसे? भनेर प्रश्न समेत गरे।
प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसिसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउदै आएका छन्। नेकपाको केन्द्रीय समितिले एमसिसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो।
कार्यदलले शुक्रवार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ।