कैलाली : नव जनजागृति युवा क्लब सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतवार भएको खेलमा फराकिलो जित हात पार्दै मोफसलको क्लब अन्तिम आठमा पुगेको हो।
सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको गोल्डकपको तेस्रो दिन भएको खेलमा नव जनजागृति युवा क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४-० को फराकिलो गोल अन्तरले हरायो।
नव जन जागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे। यस्तै एक गोल सागर चौधरीको नाममा रह्यो।
पहिलो हाफमा मदन भण्डारीसँग गोल रहित बराबरी खेलेको जन जागृतिले दोस्रो हाफमा भने लगातार गोल गर्यो। खेलको ५२ औँ मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए। मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवार अगाडी बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे।
खेलको ५९ औँ मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। मदन भण्डारीका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दाको फाइदा विवेकले उठाए। खेलको ७२ औँ मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३-० को अग्रता दिलाए।
त्यसपछि खेलको ८० औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पूरा गरे। मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि पाएको पेनाल्टीलाई विवेकले गोल गर्दै ह्याट्रिक पुरा गरे। उनको ह्याट्रिकसँगै नव जनजागृतिले खेल ४-० ले आफ्नो पक्षमा पार्यो।
मदन भण्डारी स्पोर्टस एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन। खेलको ३५ औँ मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्तान असीम गुरुङ गोल गर्न चुके। उनको प्रहार जन जागृतिका गोलरक्षक दिल मनि चौधरीले बचाएका थिए।
प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जन जागृतिका विवेक चौधरी खेलको म्यान अफ द म्याच चुनिए। उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे। अब सेमिफाइनल प्रवेशका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ। थ्री स्टारले पहिलो चरणमा वाई पाएको छ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा सोमवार गोर्खा ब्वाइज रुपन्देही र सुनौलो संगम बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।