
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिखेर एयर फोर्स वानमा छन्। प्रथम महिला मेलानिया ट्रम्पका साथ ट्रम्प भारतको 'मेडन' भ्रमणका लागि आउँदैछन्। ट्रम्प सोमबार मध्याह्न गुजरातको अहमदावाद पुग्नेछन्।
विमानस्थलमा ट्रम्प दम्पत्तिको स्वागतमा शंख र ढोल बजाइनेछ। करिब एक हजार कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन्। ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा नै स्वागत गर्ने कार्यक्रम रहेको छ। त्यहीँ नै ट्रम्पलाई गार्ड अफ अनर दिइनेछ।
विमानस्थलबाट निस्किएपछि अहमदावादमा नागरिक अभिनन्दन गरिनेछ। विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म ट्रम्पको रोड शो हुनेछ। त्यसमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुनेछन्। ट्रम्पको कार्यक्रम हुने स्टेडियम विश्वको सबैभन्दा ठूलो स्टेडियम हुने बताइएको छ।
अहमदावादमा ट्रम्पको स्वागतमा 'केमछो ट्रम्प/नमस्ते ट्रम्प' कार्यक्रम आयोजना गरिँदैछ। यो कार्यक्रमलाई भारतकै हालसम्मको भव्य कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा विभिन्न राज्यका कलाकारहरुले गीत प्रस्तुत गर्नेछन्। कैलाश खेरले सूफी गीत प्रस्तुत गर्ने बताइएको छ। त्यसपछि दुवै देशका नेताले भारत अमेरिकाको सम्बन्धबारे चर्चा गर्नेछन्। भाषणपछि ट्रम्पलाई गाडीमा नै स्टेडियम परिक्रमा गराइनेछ।
हाल अहमदावादको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। ठाउँठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। अमेरिकी सुरक्षा एजेन्सीका व्यक्तिहरुको उपस्थिति बढेको छ। अहमदावादमा ट्रम्पको सवारी हुने बाटो सजाइएको छ। विभिन्न स्थानमा ट्रम्प र मोदीका फोटोहरु टाँगिएका छन्।
यता भारतका लागि उड्नुअघि ट्रम्पले मोदी आफ्नो अत्यन्त मिल्ने साथी भएको प्रतिक्रिया दोहोर्याएका छन्। उनले यस भ्रमणमा आफू निकै उत्साहित भएको बताएका छन्। मोदीले पनि यो भ्रमण ऐतिहासिक हुने बताएका छन्।
ट्रम्पले मोदीले आफूलाई विमानस्थलदेखि कार्यक्रम हुने स्थानसम्म ७० लाख मानिस सडक वरिपरि हुने बताएको दाबी गरेका छन्। ट्रम्पले बारम्बार लाखौँ मानिसले आफूलाई स्वागत गर्न आउने कुरा बताउँदै आएका छन्। यसका लागि मोदी सरकारले तयारी पनि गरिसकेको छ। करिब २२ किलोमिटरको रोड शोमा सडक वरिपरि भारतीय संस्कृति झल्कने प्रदर्शनी गरिनेछ।
ट्रम्प साबरमति आश्रम समेत जाने कार्यक्रम तय भएको छ।
भारत उड्नुअघि मोदी ट्वीटरमा केही रमाइलो गरे। सोल मेम नामक ट्वीटर अकाउन्टमा ट्रम्पलाई बाहुलबलीका रुपमा देखाइएको थियो। त्यसमा ट्रम्पका साथै मेलानिया र ट्रम्पका छोरीज्वाईँको टाउलाई बाहुबली फिल्मको भिडियोमा जोडिएको थियो। इडिट गरिएको भिडियोमा भारतीय प्रधानमन्त्री मोदी पनि देखिएका छन्।
To celebrate Trump's visit to India I wanted to make a video to show how in my warped mind it will go......
— Sol 🎬 (@Solmemes1) February 22, 2020
USA and India united! pic.twitter.com/uuPWNRZjk4
उक्त ट्रोल भिडियो रिट्विट गर्दै ट्रम्पले आफू भारतीय साथीहरुलाई भेट्न निकै उत्सुक रहेको जनाएका छन्।
Look so forward to being with my great friends in INDIA! https://t.co/1jdk3AW6fG
— Donald J. Trump (@realDonaldTrump) February 22, 2020
सोमबार दिउँसै ट्रम्प र मेलानिया आग्रा जानेछन्। उनीहरुले ताजमहलको भ्रमण गर्नेछन्। ताजमहलमा सूर्यास्त हेरेपछि साँझ ट्रम्प दिल्लीका लागि प्रस्थान गर्नेछन्। मंगलबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ट्रम्पबीच भेटवार्ता हुनेछ। मेलानियाले दिल्लीका विद्यालयहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ।