
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मोत्सवका अवसरमा काटेको केकको तस्विरले सामाजिक सञ्जाल तताएको छ। नेपालको नक्सासहितको केक काटेको फोटा सार्वजनिक भएपछि ओलीको आलोचना सुरु भएको हो।
उसो त केक हेलिकोप्टरबाटै बोकेर लगिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नै आलोचना भएको थियो। पार्टीले जारी गरेको आचारसंहिता पालना नभएको भन्दै ओलीको आलोचना भयो।
त्योभन्दा बढी आलोचना केकको फोटो सार्वजनिक भएपछि भयो। नेपालको नक्सा अंकित केक प्रधानमन्त्रीले काटेपछि धेरैले आक्रोश, कतिपयले व्यङ्ग्य र केहीले सुझाव दिए।
राजनीतिक विश्लेषक मुमाराम खनालले देशकै नक्सालाई केक बनाएर काट्दा हात कामेनन् भन्दै प्रश्न गरेका छन्। खनालले देखेर लाज मान्ने र मुटु कमाउने निरीह नागरिकमात्र भएको टिप्पणी गरेका छन्।
यस्तै, सोमराज पाठकले ट्वीटरमा आक्रोश व्यक्त गरेका छन्। पाठकले देशको नक्सामा केक काट्नुभन्दा आफ्नो पूर्णकदको केक काट्न सुहाउने हैन भन्दै प्रश्न गरेका छन्।
देशको नक्शाको केक काटनु भन्दा आफ्नै पुर्ण कदको केक बनाएर काटेको भए सुहाउने थियो नि हैन र?
— som raj pathak (@somrajpathak3) February 23, 2020
जन्मदिन त खड्गप्रसादको थियो नेपालको त हैन नि हजुर!!😩😡 pic.twitter.com/4k8lczomq5
पुरुषोत्तम ढुंगेलले लिम्पियाधुरा तथा लिपुलेक हटाएर छिमेकीले आठराइमा केक पठाइदिएकोमा प्रधानमन्त्री दंग भनेर व्यङ्ग्य गरेका छन्।
दुई तिहाइका पिएम,जनतालाइ कस्तो आशा र भरोसा थियो।सर्बहारा,शोसित पिडितहरुको लागि बनेको सरकार हो भनेर।छिमेकीले लिपुलेक लिम्पुवाधुरा र कालापानी नेपालको नक्सालबाट हटाएर केक बनाएर पठाइ दियो आठराइका पिएम त्यसैमा मख्ख। जन्मोत्सव आफुले होइन सारा नेपालीले मनाअोस।गालि होइन जय जयकार गरोस। pic.twitter.com/TaFWXNatNX
— Purushottam Dhungel (@DhungelPuru) February 24, 2020
अविन मेन्याङ्बोले ट्वीटरमार्फत अपिल गरेका छन्। देशको नक्सा भएको केक काट्नुभयो, यथार्थमा चाहिँ त्यो काम नगर्नुहोला भनेर।
मेरो देशको प्रधानमन्त्रीले आफ्नो जन्म दिनमा नेपालको नक्सा भएको केक काटेर जन्म दिन मनाउनु भएछ।मेरो उहालाई एउटा सानो अनुरोध/अपिल जसरी देशको नक्सा भएको केक काट्नु भयो यथार्थमा चाहिँ त्यो काम नगर्नुहोला। pic.twitter.com/wfTQncvwrk
— Abin meyangbo (@AbinMeyangbo) February 24, 2020
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै युवा नेता समेत रहेका जागृत रायमाझीले प्रधानमन्त्रीको कामलाई घिनलाग्दो सांस्कृतिक मजाक भनेर टिप्पणी गरेका छन्।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानसभामा राज्य पुनर्संरचना विवादको पृष्ठभूमिमा हास्य कलाकारले सिर्जना गरेको ‘जन्मदिनको केक जस्तो हैन मेरो देश’ गीतलाई स्मरण गराएका छन्।
साझा पार्टीका प्रवक्ता समेत रहेका सूर्यराज आचार्यले बर्थ’डे केकको तस्विर विद्रुप लागेको टिप्पणी गरेका छन्। आचार्यले रुसमा कम्युनिस्ट शासनको अन्त्य मनाउन लेलिनको आकृतिको केक काटिएको स्मरण पनि गराएका छन्।
प्रम ज्यु, 'बर्थडे-केक' को तस्बिर विद्रुप लाग्यो। प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। १९९८ मा रुसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो।https://t.co/JnOa5PTJXm pic.twitter.com/aN5l6HSz4P
— Surya Raj Acharya (@SuryaRAcharya) February 23, 2020
राम तामाङले सर्वहारा वर्गको राजसी जन्मोत्सवको टिप्पणी गरेका छन्। ट्वीटरमा ठाकुरप्रसाद गजुरेलले धर्ती माताप्रतिकै अपमान भनेका छन्।
राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नेपालको नक्सा अंकित केकको रचनाकार को हो भनेर प्रश्न गरेका छन्।
देशको प्रधानमन्त्रीको जन्मदिनमा काटिने केक अरू केही नपाएर नेपालकै नक्सा बनाएर काटेर खाने व्यवस्था मिलाउने महान परिकल्पनाकार चाँही को चक्र वक्र मध्ये पर्नुभो ? pic.twitter.com/Rxoaj4jJC0
— Rajendra Lingden (@RajendraLingden) February 24, 2020
निरञ्जन थापाले ट्वीटरमा देशका प्रधानमन्त्रीले नक्सा अंकित केक काटेर दिन खोजेको सन्देश को हो भनी प्रश्न गरेका छन्।
ट्वीटरमा केदार शर्माले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। शर्माले भनेका छन्, 'तपाईँलाई कमजोर देख्न चाहनेहरु अति खुसी छन्। र, ब्वाँसो ढोकैमा छ।'
प्रधानमन्त्री ज्यू,
— केदार शर्मा (@kedar_sharmaa) February 24, 2020
तपाईँको छुच्चो बोली, थोत्रा तुक्का, बतासे सपना, स्खलित वाचा, अरिँगाल सेना, यती मोह, गोकुलादिप्रेम, ब‘ड्डे केक आदिबाट तपाईँलाई कमजोर देख्न चाहनेहरू अति खुुसी छन्।
र, ब्वाँसो ढोकैमा छ।
हामी धेरै भने दु:खी र लज्जित छौँ। किनभने हामी तपाईँका विरोधी हैन, आलोचक हौँ।