![रामचन्द्र पौडेलको दृष्टिकोणमा ७० करोड काण्डमा प्रधानमन्त्री ओली पनि ! भन्छन् : जनताले दिएको मत बाँदरको हातमा नरिवाल](https://pahilopost.com/assets/upload/contentthumb/87380470_211247553397412_4202130779033042944_n1.jpg)
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार संस्थागत भ्रष्टाचारमा अगाडि बढेको दावी गरेका छन्। ७० करोड घुस प्रकरणमा मन्त्रीमात्र सीमित नहुने तर्क गर्दै उनले जनताको मत बाँदरको हातमा नरिवल झै भएको टिप्पणीसमेत गरे।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक कम्युनिस्टकरणति अगाडि बढेको दावी गरे।
'समावेशी, समानुपतिक नेकपालाई अल्झो भएको छ। कार्यकारी यिनै समावेशी प्रतिनिधिले नियन्त्रणमा राख्छन्,' पौडेलले भने, 'तर कम्युनिस्ट यो सिस्टम नै उल्टाउन लागेका छन्। यो आपत्तिजनक छ।'
उनले सरकारको काम कारवाहीमाथि कडा आलोचना समेत गरे। राष्ट्रपतिलाई कार्यकारी जिम्मेवारी दिने काम भएको आक्षेप पनि लगाए। अध्यक्षात्मक पद्धतिमा सरकारलाई लैजान खोजेको उनको दावी थियो।
उनले संस्थागत भ्रष्टाचार बढेको औल्याउँदै भने, 'मन्त्रीले मात्र ७० करोडमा लाग्छ? त्यो भन्दा माथि पनि छ। पार्टी नै लागेको छ।'
त्यतिमा मात्र उनी रोकिएनन्। 'जनताले दिएको मत बाँदरको हातमा नरिवाल भएको छ। लोकतान्त्रिक शक्तिले सशक्त प्रतिकार गर्नु आवश्यक छ। समयमै जनदबाव दिऔं,' उनले भने।
राष्ट्रिय सभाका सांसदलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको विषयलाई उनले 'संविधान तोडफोड'को संज्ञा दिए। 'देशलाई कम्युनिस्ट करण गर्न लागियो। बहुमतको घोर दुरुपयोग भयो,' उनले भने, 'सर्वसत्तावाद लाद्ने काम भयो।वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन कार्यदल गठन हुनुको अर्थ के? ओली आफू बलियो बन्न वामदेवलाई रिझाउन संविधान नै संशोधन गर्न खोजे।'