PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बलिउडका कम्पनीहरुमा कर विभागको छापा



पहिलोपोस्ट

बलिउडका कम्पनीहरुमा कर विभागको छापा

विश्वभर ठूलो बजार छ बलिउडको। भारत भित्रैपनि सर्वाधिक आय कर तिर्ने उद्योगहरु मध्य पर्छ फिल्म उद्योग, चाहे कम्पनी होस् या व्यक्ति। आर्थिक वर्ष २०१८/ १९ मा ७० करोड भारतीय रुपैयाँ बुझाउँदै सर्वाधिक आय कर तिर्ने व्यक्ति बने अमिताभ बच्चन।

डिएनए इन्डियाको एक रिपोर्टका अनुसार आर्थिक वर्ष २०१७/१८ मा सुल्तान स्टार सलमान खान ४४ करोड पचास लाख तिरेर सबैभन्‍दा धेरै कर बुझाउने व्यक्ति बनेका थिए। त्यस्तै बलिउड स्टार अक्षय कुमारले सन् २०१७ मा २९ करोड पचास लाख आय कर विभागलाई बुझाएका थिए।

मेघास्टारदेखि स्टारहरुले तिरेको करको खबर बेला बखत् सञ्चार माध्यमका लागि हेडलाइन बन्ने गरेको छ। तर, बलिउडका अधिकांश फिल्महरुमा बजारमा डुल्दै गरेको, विवाह लगायत अन्य समारोहमा अतिथि बन्ने, बसमा यात्रुको भूमिका निभाउने अनुहारहरुको आय कति?

हाल तिनै 'एक्सट्रा' कलाकार बलिउड फिल्म निर्माण कम्पनी र आय कर विभागबीच विवादको कारण बनेका छन्।

गत साता कर विभागले सात ठूला फिल्म कम्पनीमा छापा मार्‍यो। करण जौहरको धर्मा प्रोडक्सन, एकता कपूरको बालाजी टेलिफिल्म, फरहान अख्तरको एक्सेल इन्टरटेन्मेन्ट, बासु भाग्नानीको पूजा फिल्म्स, दिनेश विजानको म्याड्डक फिल्म्स, लभ फिल्म्स र जार पिक्चर्समा विभागले 'एक्सट्रा' (साना भूमिका निर्वाह गर्ने) कलाकारलाई दिइने पारिश्रमिक बारे सर्वेक्षण गरेको हो।

यी ठूला ब्यानरहरुले एक्सट्रा कलाकारको पारिश्रमिक भुक्तानी गर्नुअघि स्रोतमा २ प्रतिशत करकट्टी गर्दै आएको पुष्टि भएको इकोनोमिक टाइम्सले जनाएको छ। चार दशक यता एक्सट्रा कलाकारको सोही दरमा करकट्टी हुँदै आएको छ। भारतीय आय कर विभागका एक कर्मचारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ,'पर्दामा साना भूमिका निर्वाह गर्ने कलाकारहरु ठेकेदारले खटाउँछन् त्यसैले पनि अनियमितता छ। तर, उनीहरु पनि कलाकार हुन्। स्टार सरह उनीहरुको पारिश्रमिकमा पनि अग्रिम कर कटौती हुनुपर्छ।'   

सपनाको उद्योग मानिने बलिउडमा स्क्रिन भर्न देखाइने यी 'एक्सट्रा' कलाकारहरु अदक्ष कहलिन्छन्। हलिउडले त स-साना भूमिकामा देखिने यी कलाकारलाई 'मानव प्रप'को संज्ञा दिन्छ। तर, कर विभागका लागि जति सानो भूमिकामा देखिए पनि ती कलाकारहरु हुन्। कलाकारलाई राज्यले दक्ष जनशक्ति मान्छ। र, कलाकारको आय स्रोतबाट १० प्रतिशत करकट्टी हुनुपर्ने नियम रहेको छ।

कर विभागले एक्स्ट्रा कलाकारसँगै छायांकनका लागि भाडामा लिइने सर सामानको पनि स्रोतमा कर कटौती बारे अनुसन्धान गरेको थियो। जसबारे अधिकांश फिल्म निर्माण कम्पनीका सूचना अधिकारी मौन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell