PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली नै भन्थे, 'जन्मदिनको केक जस्तो होइन मेरो देश' : यही भाषणबाट मनोज गजुरेलले रचे यो गीत



मन्दिरा खत्री

प्रधानमन्त्री ओली नै भन्थे, 'जन्मदिनको केक जस्तो होइन मेरो देश' : यही भाषणबाट मनोज गजुरेलले रचे यो गीत

'जन्मदिनको केक जस्तो होइन मेरो देश,

च्वाट्ट काटी बाँडी खायो पहाड मधेश……'         

मनोज गजुरेलको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ। कारण - केककै कारण।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिका पुगे। गाउँपालिका नै बिदा दिएर तामझामका साथ पुर्ख्यौली घर पुगेका उनले नेपालको नक्सासहितको केक काटे। गीतमा भने झैं ओलीले केक च्वाट्ट काटी पहाड मधेश बाँडी खाए।

नक्सासहितको केक काटेका तस्विरहरु सामाजिक सञ्जालमा जब सार्वजनिक भयो तब ओलीको आलोचना सुरु भयो। राजनीतिक विश्लेषक मुमाराम खनालले देशकै नक्सालाई केक बनाएर काट्दा हात कामेनन् भन्दै प्रश्न गरे। मुमाराम जस्तै धेरैले केक काटेको विषयलाई लिएर आक्रोश पोखे। कतिपयले व्यङ्ग्य गरे र केहीले सुझाव दिए।

जब केक काटियो तब गजुरेलले 'जन्मदिनको केक जस्तो होइन मेरो देश' एकाएक चर्चामा आएको हो। त्यसो त नेपालका चर्चित कमेडियन कहलिने गजुरेलले समेत उक्त गीत आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा आजै शेयर गरेका छन्।

उनले भिडियो शेयर गर्दै प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन फोटो खोज्दै गर्दा त्यहिबेला देश आकारको केक काटिदै गरेको समाचार सार्वजनिक भएको उल्लेख गरेका छन्।

पाँच वर्षअघि गजुरेलले नै तयार पारेका हुन् गीत। उनकै शब्द, संगीत र स्वर रहेको गीतमा कलाकारहरु सीताराम कट्टेल (धुर्मुस), निर्मल शर्मा, शिवहरि पौडेल, दीपकराज गिरीलगायत फिचर्ड छन्। अहिले सामाजिक संजाल प्रयोगकर्ताहरुले गीतका विभिन्न भागहरु पोस्ट गरी केक काट्ने विषयले देश नै टुक्रा भइरहेको टिप्पणी गरिरहेका छन्।   

प्रधानमन्त्रीज्युलाई 'Happy Birth Day' भन्न फोटो खोज्दै गर्दा मेरो पुरानो भिडियो भेटियो- 'जन्मदिनको केकजस्तो हैन मेरो...

Posted by Manoj Gajurel on Sunday, February 23, 2020

यसैबीच हामीले गजुरेललाई यो गीतका बारेमा प्रश्न गर्‍यौं। उत्तर ‌ओलीसँगै आएर ठोक्कियो।

गजुरेलले भने '२०७२ सालको नाकाबन्दी र मधेश आन्दोलन ताका मैले यो गीत लेखेको थिएँ। त्यति बेला प्रधानमन्त्री ओली राष्ट्र र अखण्डताको पक्षमा बोल्नु हुन्थ्यो। एक दिन नाकाबन्दीको समयमा ओलीको भाषण सुन्दै थिए। अनि यो गीत लेखें।'

के भनेका थिए त ओलीले?

गजुरेल सम्झिँदै भन्छन्, 'ओलीले भाषणकै क्रममा 'यो देश भनेको केक जस्तो बनाएर खाने होइन' भनेका थिए। प्रधानमन्त्रीको त्यो राष्ट्रवादी भाषण सुनेपछि यो गीत फुरेको थियो।'

ओलीको यही लाइनबाट प्रभावित हुँदै गजुरेलले 'जन्मदिनको केक जस्तो होइन मेरो देश, च्वाट्ट काटी बाँडी खायो पहाड मधेश… शब्दहरु कोरेका थिए।

'केक सङ' तयार गर्न गजुरेललाई करिब एक महिना लागेको थियो।

आइतबार 'पहाड मधेश' नै बनाइएको नेपालको नक्सा भएको केक काटिनुलाई गजुरेल संयोग मान्छन्।

यो गीत भिन्न परिस्थितिमा बनाइएको थियो। अहिलेको परिस्थितिमा मिल्दोजुल्दो भएको छ। तर यो संयोग मात्र हो' गजुरेल प्रस्टाउँछन्।

उनका अनुसार यस गीतमा नेपालको तत्कालिन परिस्थिति र राजनैतिक अवस्थाबारे व्यङ्ग्य गरिएको थियो।

त्यसैले त स्रष्टाको कला अमर हुने उनी बताउँछन्। 'जन्मदिनको केक..' गीत पनि परिस्थिति अनुसार सान्दर्भिक भएको उनको दाबी छ।

'सिर्जना कहिले पनि मर्दैन। यही संयोगलाई हेरौ न। मैले पाँच वर्षअघि गाएको यो गीत अहिले आएर समय सान्दर्भिक र जीवन्त भएको छ।'

ह्वाइट हाउस अगाडि पनि गुञ्जिएको थियो गीत 

भारतीय नाकाबन्दीको समयमा नेपालीहरुले धेरै सास्ती बेहोरे। सीमा नाका ठप्प। खाद्यान्नको अभाव, ग्यास, इन्धनको हाहाकार। विश्वभर रहेका नेपालीहरुले भारतको उक्त कदमको विरोध गरेका थिए।

यसैबीच अमेरिकामा बसोबास गर्ने नेपालीहरुले समेत नाकाबन्दीको विरोधमा उत्रिएका थिए। अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस अगाडि आयोजित विरोध सभामा गजुरेल उपस्थित थिए। उनले नेपालीहरु सामु 'जन्मदिनको केक' गीत गाएका थिए।

'अहिले पाँच वर्षपछि फेरि यो गीत हिट भइरहेको छ। त्यो समय नाकाबन्दीको बेला अन्तर्राष्ट्रिय जनमत श्रृजना गर्ने क्रममा मैले ह्वाइट हाउसमा भएको विशाल प्रदर्शनमा पनि यो गीत गाएको थिएँ' उनले भने।

**

गीत फेरि चर्चामा त आयो। तर केक काट्ने विषयमा उनको मत अलि फरक छ।  

'प्रधानमन्त्री ओलीले सकारात्मक हिसाबले नेपालको नक्सा भएको केक काटेका होलान्। तर, परिस्थिति काल सुहाँउदो भएन' गजुरेल व्यंग्य गर्दै भन्छन्, 'प्रधानमन्त्री देशका स्रष्टा हुन्। उनले काम गर्नुअघि १० चोटी सोचेर, २० पटक सल्लाह गरेर, ३० पटक ध्यान गरेर, २४ पटक आत्म विशलेषण गरेर,५० पटक विवेक प्रयोग गरेर गर्नुपर्छ।'

स्टेजमा उभिएर दर्शकलाई हँसाउने कमेडियनले प्रस्‍तुति दिँदा त्यसको प्रभाव के हुन्छ भनेर बीस पटक सोच्ने भन्दै उनले प्रधानमन्त्रीले पनि केक काट्नुअघि त्यसबारेमा सोच्नुपर्ने उनको मत छ।

भन्छन्, 'नसोचेरै गरेको कारणले नै देख्नेलाई जोक भयो र सरकारको विरोध भयो। उद्देश्य जतिसुकै राम्रो भएपनि देश, काल, परिस्थिति मिलेन भने त्यो भद्दा मजाक मात्र हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell