कैलाली : सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ। धनगढी रंगशालामा सोमवार भएको खेलसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो। गोल्डकपको चौँथो दिन सोमवार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देही आफ्नै जिल्लाको सुनौलो संगम युवा क्लबलाई टाइब्रेकरमा हराउँदै अन्तिम आठमा पुगेको छ।
सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको गोल्डकप अन्तर्गत सोमवार भएको खेलमा गोर्खा ब्वाइजले सुनौलो संगमलाई टाईब्रेकरमा ५-३ ले हरायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने। उनले सुनौलोका कप्तान मोहन थापाको पेनाल्टी बचाए। खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ चुनिए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे।
अब गोर्खा ब्वाइजले सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। यसअघि भएका खेलमा जित हात पार्दै विभागीय टिम एपिएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जनजागृती क्वाटरफाइनलमा पुगिसकेका छन्। यस्तै आयोजक सुदूरपश्चिम-११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने बाई पाएर सिधै क्वाटरफाइनलमा पुगेका थिए।
मंगलवारदेखि प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु शुरु हुनेछन्। पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब र कंचनजंघा एफसी भिड्ने छन्।