PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाँस्कोटाको 'भव्य' भनिएको घर खोज्न बालकोटदेखि टीकाथली पुग्दा, तर…



नेत्र तामाङ

बाँस्कोटाको 'भव्य' भनिएको घर खोज्न बालकोटदेखि टीकाथली पुग्दा, तर…

काठमाडौं : आइतबार प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमस्थित आफ्नो जन्मघरमा ६९ औँ जन्मदिनको केक काट्दै गर्दा भक्तपुरस्थित निवास भने सुनसान देखिन्थ्यो। ओलीका तीन घरमध्ये दुई घरमा राष्ट्रिय झन्डा फहराइरहेको थियो। माझघरमा एकजना सुरक्षाकर्मी देखिन्थे। भित्र कुनै चहलपहल थिएन।

हामी 'अडियो काण्ड'का कारण बिहीवारमात्र राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको नयाँ घरको खोजीमा यहाँसम्म आइपुगेका छौँ।

हामीलाई सूचना थियो : सञ्चारमन्त्री बाँस्कोटाको गुपचुप 'भव्य भवन' बनेको छ। तर, उनी पब्लिसिटीका लागि प्रधानमन्त्री ओलीको घरमा बसिरहेका छन्।

'वरपरका मानिसलाई थाहा होला,' यही सोच्दै साथी प्रवीण रानाभाट र म नजिकैको चियापसल पस्यौँ। चिया पसले रहेछन् काभ्रेतिरकै।

कोशीपारी घर बताउने चिया पसले भन्दै थिए : गोकुल बाँस्कोटाले थोरै समयमा काभ्रेमा राम्रो विकास भित्र्याए। राम्रो छवि भएको मान्छे हो। केन्द्रसम्म पहुँच भएको मान्छे। जिल्लालाई त धेरै राम्रो थियो नि। त्यस्तै मान्छे चाहिन्छ विकासका लागि।

यस्तो मान्छे एक्कासी गिरेको भन्दै चिन्तित देखिए उनी। कोशीपारीमा धेरै राम्रो भइसकेको उनी बताउँदै थिए। बाँस्कोटाबारे थप्दै थिए, '५० हजारभन्दा बढी भोटको फरकले जितेको मान्छे उहाँ। जिल्लाभर राम्रो काम गर्नुभएको छ। एसियाकै राम्रो अस्पताल बन्न लागेको छ साँगामा। उहाँले नै त लगेका हुन्।'

एसियाकै पहिलो। एसियाकै उत्कृष्ट। एसियाकै ठूलो। एसियाकै नमुना। यस्ता दाबी हामीकहाँ सर्वत्र पाइन्छन्। उनले पनि एसियाकै राम्रो अस्पताल बन्न लागेको हामीलाई सुनाए।

नयाँ भवनबारे भने उनले अनभिज्ञता देखाए, 'ठिमीमा चाहिँ घर छ भन्ने सुनेको हुँ।'

बरु यता बाँस्कोटाको सवारी गुड्नै छाडेको चिन्ता पोखे उनले। बाँस्कोटाले बालकोटै छाडिसकेको सुनाउँदै थिए उनी। तर, कुन ठाउँ सरे भन्ने कुरा भने थाहा नभएको बताए। २० मिनेट बसेर चिया दुनोट गफ सकेर हामी लाग्यौँ अर्को पसलतिर।

तीन सय मिटर पर, अलि पाकाजस्ता पसले देखिए। पानी पर्न थालेको थियो। उनकै पसलमा ओत लाग्न खोज्दै हामीले सोध्यौँ बाँस्कोटाबारे।

बाँस्कोटा सरिसकेका हुन् त? ती पसले भन्दै थिए, 'यतै छन्। मानिसहरु फाट्टफुट्ट भेट्न आउँछन्। पहिलेजस्तो रजगज छैन।'

बाँस्कोटाको बसाईँले बालकोटलाई नै दाग लागेको दाबी गर्दै थिए उनी। बाँस्कोटाको नयाँ भवनबारे भने उनलाई पनि थाहा रहेनछ।

त्यसपछि बाँस्कोटाको हालखबर र उनको नयाँ भवनबारे नजिकैको अर्को पसलेलाई पनि सोध्यौँ हामीले।

'समाचारको हल्ला आएपछि बाहिर निस्केको देखेका छैनौँ,' ती पसलेले चर्को जवाफ फर्काए,'हामी उनीहरुको पछि लाग्ने भए पो थाहा पाउँछौँ।'

उनीबाट पनि बाँस्कोटाको भव्य भनिएको नयाँ भवनको सूचना पत्ता नलागेपछि हामीले एक फन्को मार्‍यौँ ओली निवास। उनको निवासलाई दाहिने पार्दै पछाडिबाट ट्यांकी बन्दै गरेको ठाउँसम्म। केही भेउ पाउने अवस्था देखिएन।

त्यसपछि काभ्रेकै एकजना नेतालाई फोन गरेँ। ती नेताले भने : तल्लो लोकन्थली भन्ने सुनेको हो। तर, मैले पनि देखेको छैन। त्यति भनेपछि ती नेताले फोन काटिदिए।

त्यसपछि हामी लाग्यौँ तल्लो लोकन्थलीतिर। लोकन्थली आइपुगेपछि त्यहाँका स्थानीयलाई सोध्यौँ : तल्लो लोकन्थली कता हो?

तल्लो लोकन्थली भन्ने त सुनेकै छैन त : उनीहरुको जवाफ।

हामी बाइकमा आफ्नै सुरमा पुगेछौँ आनन्दनगर। त्यहाँ रहेका दुई पसलमा सोध्दा पनि केही पत्तो लागेन। हामी समिट अस्पतालको बाटो उक्लिँदै लोकन्थली हाइटतिर पुग्यौं। बाटो बन्दै गरेकाले ठप्प रहेछ।

त्यतै रोकेर फर्निचर पसलभित्र पस्यौँ। अनि सोध्यौँ बास्कोटा निवासबारे। ती व्यक्तिले भने : समिट अस्पतालबाट तल ओर्लेपछिको फाँटमै हो।

त्यसैगरी हामी ओर्लियौं मनोहरा फाँट। तर, त्यहाँ पनि कुनै पत्तो लागेन। सोध्दै जाँदा हनुमन्ते खोलाको तिरमा पुग्यौँ। त्यतै एकजना साग बेच्नी दिदीलाई सोध्यौँ। उनले हाँस्दै भनिन् : त्यही अस्ति काण्ड परेको मन्त्रीको हैन। टीकाथली हो नि। उताको पुल तरेपछि जसलाई सोधे पनि भनिदिन्छन्।

हामी मक्ख पर्‍यौँ र लाग्यौँ त्यतै। चार पाँच जनालाई सोध्दा पनि पत्ता लागेन। एकजना पाका देखिने व्यक्तिलाई समात्यौँ। उनले ठोकुवाका साथ भने : यता हैन। समिट अस्पतालकै तलतिर छ। त्यता एक जना लामा ठेकेदार छन्। उनैको घर छेवैमा हो।

काभ्रेका एक नेता, फर्निचर पसले र यिनी गरी तीन जनाले सुनाएको लोकेसन एउटै भएपछि हामी फेरि फर्कियौँ समिट अस्पतालतिरै। अनि समात्यौँ नयाँ पसलेलाई। उनलाई लामा ठेकेदारबारे सोध्यौँ।

गिट्टी बालुवा ठेकेदार हो?: उनले सोधे।

'हो,' हामीले टाउको हल्लायौँ।

उनले लामा ठेकेदारको घरको लोकेसन बताए। दिव्येश्वरी पार्टी प्यालेस हुँदै हामी मनोहरा नजिकैको चोकमा पुग्यौँ। अनि सिमेन्ट पसलमा सोध्यौँ लामा ठेकेदारको घर। पसलेले देखाइदिए घर।

ठेकेदारको घर पुगेपछि लामा ठेकेदार नभेटे पनि बाँस्कोटाको घरबारे थाहा पाइयो। त्यसपछि हामी लाग्यौँ लोकन्थली मनोहरा पार्क। त्यहाँ तीन जनालाई सोधेपछि पत्ता लाग्यो बाँस्कोटाको घर।

घर हेरेपछि हामीले जुन भव्य भनेर सोचेका थियौँ त्यस्तो भने लागेन।

सानो कम्पाउन्डमा झन्डै १२ वर्षअघि बनेको भनिएको यो घर भदौबाट तल्ला थप्न शुरु गरिएको रहेछ। झन्डै चार आनामा बनेको भुईतल्ला सहित तीन तल्ले घर साँघुरै ठाउँमा छ। चाइनिज इँटा र सेतो रंग मिसिएको भवनको काम केही दिनमै सकिने कामदारले सुनाए। पर्खाल र रंगरोगनका काम सकिए पनि झ्याल ढोका हाल्न अझै समय लाग्ने ती कामदारको भनाइ थियो।

उक्त भवन बाँस्कोटाले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमै उल्लेख छ। २०७५ साल वैसाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण बुझाएका थिए बाँस्कोटाले। उक्त घर थिमिमा रहेको उल्लेख छ। त्यसैले हामीले सोचेका थियौं। थिमिमा एउटा घर छ, अर्को यो हो। तर, मध्यपुर थिमि नगरपालिका वडा १ मा यही ठाउँ पर्ने रहेछ। मनोहरा, लोकन्थली र थिमि तीनै नामबाट यस ठाउँलाई चिनिएको र लेखिएको पाइयो।

बाँस्कोटाले सम्पत्ति विवरणमा श्रीमती तारादेवी बाँस्कोटाको नाममा भक्तपुरको थिमिमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा रहेको उल्लेख गरेका छन्। यो पौने ४ आना बराबरको जग्गा हो।

यो सम्पत्ति उनले पुर्ख्यौली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख छ। चारकोठे सोही घरमा उनले तल्ला थपेका रहेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell