कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय देशकै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय। यही विश्वविद्यालयमा मानविकी संकायतर्फका २२ भन्दा बढी विभागमध्ये अधिकांशमा पुरुष नै विभाग प्रमुख छन्। मुश्किलले दुई तीनजना मात्र महिला विभागीय प्रमुख रहेको केन्द्रीय क्याम्पसमा हाल अर्थशास्त्र विभागको नेतृत्व गरिरहेकी छन् प्रोफेसर डाक्टर कुशुम शाक्यले।
'घडीघर'को ठ्याक्कै पछाडिपट्टि सबैभन्दा दाहिनेतिर चिटिक्क परेको सानो क्षेत्रफलमा फैलिएको छ अर्थशास्त्र विभाग। गेटबाट छिर्नेबित्तिकै ब्यवस्थित बगैंचा, बीचमा बुद्धको सानो मूर्ति र बगैंचाका तीनतिरै जस्ताका छाना लगाइएका लामा भवन। विभागका कक्षा कोठा भने पनि, प्रशासनिक कोठा भने पनि, सेमिनार हल भने पनि सबै यही जस्ताको छानामुनि नै छन्। यही विभागमा विद्यार्थीका रुपमा दुई वर्ष बिताएकी कुशुम लामो समयदेखि अध्यापनमा संलग्न छिन्। विभागीय प्रमुख भएको ठ्याक्कै दुई वर्ष भयो। यति बेला उनले थालेका केही महत्वपूर्ण कामहरु 'देखिने' अवस्थामा पुगेका छन्।
झट्ट हेर्दा आकर्षक भए पनि अर्थशास्त्र विभागको यो भवन भूकम्पपछि चर्किएको छ। भित्ताहरु चर्किएपछि विभाग अन्त कतै सार्ने वा यहीँ नयाँ भवन बनाउने विषयमा लामै छलफल चले। योजनाहरु बने। लामो समय छलफल र योजनाहरुमै सीमित रहेको यो काम अब भने कार्यान्वयनको अवस्थामा पुगेको छ। फागुन महिनाभित्रै नयाँ भवनको शिलान्यास गर्ने खुशी उनले हामीसँग बाँडिन्।
'अर्थ मन्त्रालय, योजना आयोगदेखि देशका ठूला-ठूला ओहदामा पुग्नेहरु जन्माएको विभाग हो यो। यहाँका प्रोडक्टहरु सबै उच्च तहमा छन्। भूकम्पले चर्किएपछि नयाँ भवन बनाउन सहयोग होस् भनेर हामीले धेरै फोरमहरुमा कुरा उठायौं। अर्थ मन्त्रालयले बजेट छुट्याइदिएर हामीले काम थाल्न सक्यौं।'
कुशुमका अनुसार भवनको नक्सा र डिजाइन पास भएर आइसकेको छ। टेन्डर प्रक्रिया चलिरहेको छ। अब पुरानो भवनकै पछाडिपट्टिको जमिनमा तीनतले नयाँ अत्याधुनिक भवन बन्दैछ।
बुवा भागेपछिको बाल्यकाल
कुशुम शाक्य काठमाडौंको ओमबहाल टोलमा बिसं २०१८ मा जन्मिइन्। उनी जन्मेकै साल उनका बुवा कनकमान शाक्य घरबाट भाग्नुपर्ने परिस्थिति आयो। त्यसबेलाको पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले थालेको आन्दोलनमा लागेका कनकमानलाई समाउन घरमै सेनाले घेरा हालेपछि चार महिनाकी कुशुमलाई छोडेर बुवा कनकमान भागेछन्। भाग्दै भारत पुगेर उतै बसेका सुवर्णशमशेरहरुसँग भेटेपछि कनकमान पनि रक्सौलमा लुकेर बसेछन्।
चार महिनाकी कुशुमलाई आमा सूर्यदेवीले धेरै दुःखले हुर्काइन्। उनीमाथि एक दिदी र दाजु पनि थिए। परम्परागत शाक्य परिवारका उनीहरु संयुक्त परिवारमै भएकाले कुसुमले बुवाको नभए पनि हजुरबुवाहरुको वात्सल्यमा हुर्किन पाइन्। अहिले पनि जब कुशुमकी आमाले बुवा भारत भागेको समयको कुरा उप्काउँछिन् कुशुमलाई त्यो समय सम्झेर धेरै दुःख लाग्दो रहेछ। उनीहरु बेलाबखत कष्टपूर्ण यात्रा गर्दै रक्सौल पुग्थे, अनि भारतीय जस्तै भेषमा लुकेर बसेका कनकमानलाई भेटेर केही समय सँगै बिताएर फर्कन्थे। कुशुमलाई सानोमा ट्रकमा लुकेर बुवालाई भेट्न आमासँग भारत गएको अझै पनि याद आउँछ।
बुवा शिक्षित थिए। तर १० वर्ष रक्सौल बसेकाले बालबच्चाले त्यो छायाँ पाउन सकेनन्। सुनचाँदीका भाँडा र गरगहना बनाउने परिवार भएकाले कुशुमका हजुरबुवाहरुको राणाहरुसँग बाक्लो सम्पर्क रहेछ। त्यसैले हजुरबुवा र हजुरबुवाका भाईहरुले पढ्न लेख्न जानेका थिए। उनीहरुमध्ये माइला हजुरबुवाले कुशुमलाई त्यही ज्यासलमै राखेर लेखपढ सिकाउन थाले। कुशुमलाई उनले एउटा सिलोट दिएका थिए जसमा उनले नेपाली, अंग्रेजी र हिसाब पनि सिक्न थालिन्।
माइला हजुरबुवाले उनलाई लामा लामा जोड घटाउ दिन्थे रे। जब उनी नबिगारी सबै हिसाब सकेर हजुरबुवालाई सिलोट फिर्ता दिन्थिन् हजुरबुवाहरु खुबै खुशी हुन्थे रे। अनि हजुरबुवाहरु 'ल नानीले गर्यो! अब भने साँच्चिकै गर्यो !' भन्दै ताली बजाउँथे रे ! त्यो उत्साहले सानैदेखि गणितमा कुशुमको रस बसेको थियो।
दाजु-दिदी स्कुल गए पनि उनको स्कुल जाने माहौल बनेन। जब १० वर्षपछि बुवा आममाफी पाएर नेपाल फर्किए अनि मात्र कुशुमको जीवन सामान्य रफ्तारमा चल्न थाल्यो। ज्यासलमै बसेर लेखपढ गरिरहेकी कुशुमको औपचारिक पढाइ कक्षा ५ बाट लगनको नवयुग स्कुलबाट सुरु भयो। लामो समयपछि घर फर्किएका बुवा। जतिबेला पनि एकदम पढ्नुपर्छ है छोरी भनिरहने। तर कुशुमलाई भने त्यतिबेला बुवालाई हेर्दा पनि लाज लाग्ने अनि उनी बुवाको छेउ नपर्दै भाग्थिन् रे। बुवासँग बस्ने मौका नपाएकाले उनलाई बुवाको अघि पर्न लाज लाग्ने गरेको विस्तारै सामान्य बन्दै गयो। पछि कुशुमका बहिनी र भाई पनि जन्मिए।
कुशुम भने कक्षा ६ मा प्याफलस्थित कान्ति ईश्वरी माविमा भर्ना भएर पढ्न थालिन्। बल्ल उनको विद्यार्थी जीवन सहज हुँदै गयो। बुवा फर्केपछि मात्रै उनले सिलोटको सट्टा कापी कलम पाइन्। पढ्नका लागि घचघच्याउने बुवा पनि पाइन्। बुवा नहुँदाका दुःख विस्तारै उनले बिर्संदै गइन्। असल मान्छे बन्न पढ्नुपर्छ भन्ने बुवाका अर्तीहरु मात्र याद राखिन्। हुन पनि त्यसबेला 'गणेशमानपछि कनकमान' भन्ने भनाई शाक्य समुदायमा चर्चित थियो। त्यसबेला राजाबाटै मन्त्री र प्रधानपञ्च बन्ने अफर लत्याएका कनकमान त्यागी नेतामा गनिन्थे।
राजनीतिले नतानेपछि अध्ययनमै
कान्ति ईश्वरीबाट एसएलसी सकेपछि कुशुमले इकोनोमिक्स र म्याथ लिएर आइए र बीए पद्मकन्या कलेजबाट पास गरिन्। बीए पढ्दै गर्दा उनले स्वतन्त्र विद्यार्थी युनियनमा समेत सक्रिय भएर लागिन्। मीना पाण्डे अध्यक्ष भएर उनले कोषाध्यक्ष पदमा लडेको बिसं ०३६ सालको त्यो चुनावमा सबैभन्दा धेरै मत ल्याएर जितेको सम्झँदै उनले भनिन्- 'काठमाडौंको मेजोरिटी छोरीहरु पढ्ने भएकाले पनि होला पिके को चुनाव हेर्न बागबजारको वल्लोदेखि पल्लो छेउसम्म ठूलो भीड लाग्थ्यो। अहिलेभन्दा पनि रमाइलो हुन्थ्यो त्यो बेलाको चुनावी माहोल।'
दुई वर्ष सक्रिय भएर राजनीति गरेको अनुभव समेत उनीसँग छ।
पढाइले उनलाई राजनीति सिकायो। राजनीतिबाट उनले चाहिँ के सिकिन् त? 'कति विद्यार्थीहरु नपढ्ने तर पद र पैसामा लोभिन आउनेहरु देखेपछि मलाई के लाग्यो भने इमानदार भएर राजनीति गर्न पनि अध्ययनशील हुनुपर्दोरहेछ। विद्यार्थीले नपढी कहिल्यै अर्थपूर्ण राजनीति गर्न सक्दैनन्। शिक्षा पहिलो सर्त हो भन्ने मनमा लाग्यो।' त्यसैले २०३९ सालमा मास्टर्स पढ्न कीर्तिपुर पुग्दा भने उनले राजनीतिबाट परै बसेर पढाई मात्र गर्ने मन बनाइसकेकी थिइन्।
बीए पास भएपछि तत्कालीन मन्त्री बखानसिंह गुरुङ कुसुमका बुवालाई भेट्न घर आएछन्। कुशुमलाई राष्ट्र बैंकमा जागिर खुवाउनुपर्छ भन्दै। तर उनका बुवाले मानेनन्। भनिदिए -'कुशुमले सरासरी मास्टर्स पढेर सक्नुपर्छ। जागिरमा अल्झिनु हुँदैन।' उनी पनि बुवाकै कुरा मानेर कीर्तिपुर पुगिन् र अर्थशास्त्रमा मास्टर्स सकिन्। इकोनोम्याट्रिक्स थप पेपर दिएपछि उनलाई पुरानो क्याम्पस पिकेकी मुक्ति म्यामले कर गरेरै पढाउन बोलाइन् । तर उनलाई पढाउनमा भन्दा अन्त कतै जागिर खाने मन थियो। जति टारेपनि मुक्ति म्यामको जोड अघि उनले सुख पाइनन्। त्यसबेला म्याथ पढाउनका लागि उनलाई पिके बोलाइएको थियो। पढाउन मन नलाग्दा नलाग्दै उनी २०४४ मा पद्मकन्यामा पार्ट टाइमरका रूपमा पसिन।
'दुई सयजना अट्ने हलभरि विद्यार्थी हुन्थे। त्यत्रो विद्यार्थी सम्हाल्नुपर्ने। यत्रो मानिसलाई चित्त बुझाउनुपर्ने भएपछि पढाउँदा राम्रो गर्नुपर्छ भन्ने दिमागमा आयो,' उनले भनिन्, 'म जुनसुकै काम गर्दा पनि सफल पारौं भनेर हिँड्ने स्वभाव भएकाले पढाउँदा राम्रो गर्नुपर्छ भनेर सुरु गरें। अनि म पढाउन मै फोकस्ड हुन थालें।'
अस्कलमा जुलोजी पढाउने उनका श्रीमान शुभरत्न शाक्यले पनि पढाउन हौसला दिन थाले। उनी भन्थे-'शिक्षकमा अनुशासन र मेहनत भयो भने विद्यार्थीलाई पनि उस्तै बनाउन सकिन्छ। त्यो नै आफ्नो सफलता हो।' विस्तारै अध्यापन पेशामा कुसुमको रस बस्न थाल्यो।
६ वर्ष पद्मकन्यामा पढाएपछि उनी कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस आइन्। कीर्तिपुर पढाउँदा गर्दा उनले नेदरल्याण्डबाट पपुलेसनमा पोष्ट ग्रयाजुएयसन गरिन्। लगत्तै अष्ट्रेलियाबाट पनि डिग्री लिइन्। पिएचडी भने उनले आफ्नै विभागबाट गरिन्।
विकेन्द्रीकरणमा विश्वास
पिएचडी गराउने गुरु स्वर्गीय मदनकुमार दाहाललाई उनी बारम्बार सम्झिन्छिन्। मदन सरले उनलाई सँधै प्रोत्साहन गर्दै भन्थे रे 'मैले कति धेरैलाई पिएचडी गराएँ, तर यति डिसिप्लिन र ट्रयाकमा बस्ने मान्छे मैले देखिनँ!' त्यो सम्झेर उनलाई आज पनि ऊर्जा मिल्छ।
सन् २००८ मा पिएचडी सकेपछि उनले तीन वर्ष विश्वविद्यालय अनुदान आयोगमा क्वालिटी एस्योरेन्स एण्ड एक्रिडिटेसन डाइरेक्टर भएर काम गरिन्। अध्यापन बाहेक पनि केही गरौं भन्ने सधैं लागेकाले उनले प्रोजेक्टमा काम गरेको बताउँछिन्। विश्व बैंकको परियोजना अन्तर्गत शैक्षिक संस्थालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने प्रोजेक्ट थियो त्यो। उनले नेपालमै पहिलोपटक चितवनको बालकुमारी कलेजलाई क्वालिटी एक्रिडिटेसन दिएर यो कामको थालनी गरिन्।
तीन वर्ष यो प्रोजेक्टमा काम गरेपछि उनी फेरि त्रिविमै फर्किन र प्रोफेसर बनिन्। क्वालिटी एस्योरेन्स र एक्रिडिटेसनमा काम गरेपछि उनको शैक्षिक संस्थाको सफलताबारेको बुझाइ पनि विस्तार हुँदै गयो। उनी भन्छिन्- 'शैक्षिक संस्थालाई गुणस्तरीय बनाउने काम एउटा प्रिन्सिपल, म्यानेजमेन्ट वा डिपार्टमेन्ट हेडको मात्र होइन। यो त म्यानेजमेन्ट, फ्याक्लटी र स्टुडेन्ट सबैलाई एकै ठाउँमा गुटमुट्याएर एउटै ट्रयाकमा राखेर अघि बढाउने एप्रोच हो। कुनै एउटालाई मात्र दोष दिने र बोझ थोपर्ने हो भने संस्था फेलियर हुन्छ।'
सन् २०१८ मा उनी अर्थशास्त्र विभागको प्रमुख बनिन्। प्रमुख भएपछि उनले आफ्नो विभागलाई पनि गुणस्तरीय मापदण्डमा ढाल्नुपर्छ भनेर सुरुमै कमिटी बनाएर क्वालिटी एस्योरेन्सको प्रक्रिया सुरु गरिन्। विभागको नयाँ भवन निर्माणलाई पनि कार्यान्वयनतर्फ लगिन्। एक महिनाअघि मात्र अर्थशास्त्र विभागले सार्कस्तरीय कन्फ्रेन्स गर्यो, जसमा माल्दिभ्सबाहेक सबै सार्क राष्ट्रका अर्थशास्त्रीहरुले भाग लिएका थिए। उनकै शब्दमा यो कन्फ्रेन्सले 'निकै ठूलो प्रभाव' पार्यो डिपार्टमेन्टमा।
'म चार वर्षमा के गर्न सक्छु भन्नेमा लक्षित छु। एकेडेमिक माहोल बनोस्। शिक्षक बिद्यार्थी सम्बन्ध आमाबाबु र छोराछोरीको जस्तो होस्। अर्थशास्त्र विभागमा सँधै राम्रो सँग कक्षाहरु संचालन हुन्छ भनेर टियू मै सबैले भन्छन् । हरेक शुक्रबार हामी थेसिस, प्रोपोजल डिफेन्स ग्रुपमा गर्ने नियम बनाएको छु। त्यो दिन कुनै क्लास नराखी डिस्कसन मात्र हुन्छ। यसबाट बिद्यार्थीहरु पनि धेरै खुशी छन्,' उनले भनिन्।
शैक्षिक संस्थामा हुने भ्रष्टाचार र आर्थिक हिनामिनाबारेका समाचारले उनलाई नझस्क्याउने होइन। 'संस्था चलाउन पैसा चाहिन्छ तर नियमसंगत खर्च भएको छ छैन हेर्ने मेरो काम हो। म आएकै दिनदेखि सबै कुरा रेकर्ड र ट्रान्सपेरेन्ट हुनुपर्छ भन्दै आएको छु। हामीले सुरुदेखि नै ट्रयाकमा राख्यो भने काम पारदर्शी हुन्छ,' कुशुम भन्छिन्, 'म सँधै इन्क्लुजिभ हुने प्रक्रियामा जान्छु। स-साना कमिटी बनाएर एक्टिभेट गराउँछु किनभने सेन्ट्रलाइज वर्कले काम गर्दैन भन्ने मेरो सिद्धान्त हो।'
दुई छोरीमध्ये जेठी जापानमा पिएचडी गर्दैछिन्। कान्छी अमेरिकामा पब्लिक हेल्थ सेक्टरमा काम गर्छिन्। श्रीमान-श्रीमती दुवै प्राज्ञिक क्षेत्रमा छन्। रिटायर्ड लाइफबारे सोच्ने फुर्सद पनि छैन रे उनलाई। दुवैको पढाउने काम भएकाले पनि एकअर्कालाई सहयोग हुन्छ। दुईबीच राम्रो संयोजन र कोअर्डिनेसन भएरै प्राज्ञिक क्षेत्रमा सफल हुन सकेको जस्तो उनलाई लाग्छ। उनी भन्छिन्- 'पढाउने मामिलामा हामी दुवै एउटै फिलोसोफीमा चल्छौं। बिद्यार्थी जुनसुकै राजनीतिक दलका होउन् शिक्षकको नेतृत्व, हौसला र मार्गदर्शनले मात्र विद्यार्थीको भविष्य बन्छ र हामीले गर्ने काम सधैं त्यही नै हुनुपर्छ।'