नयाँ दिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको सुरुवात अहमदाबादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियमको उद्घाटनबाट भयो। भारतीयहरुबाट पाएको भब्य स्वागतपछि त्यहाँ उनले सम्बोधन गरे। एक लाख मानिसको भिडमा ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा मात्र गरेनन् उनलाई 'भेरी टफ प्राइममिनिस्टर' समेत भनिदिए।
ताजमहलको साइट सिइङसँगै नयाँ दिल्ली तर्फको यात्राले मोदी र ट्रम्पबीच 'टफ-टक'को माहौल बन्दै गयो। जतिबेला फर्स्ट लेडी मेलानिया ट्रम्प दिल्लीको स्कुलमा ह्याप्पीनेस क्लास हेर्दै थिइन् ट्रम्प र मोदीबीच ब्यापार वार्ताको तयारी हुँदै थियो।
भारत र अमेरिकाबीच लामो समयदेखि ब्यापारिक मुद्दाहरुमा असमझदारी उत्पन्न भएको छ। ट्रम्पको यस भ्रमणले ब्यापारका बिषयमा उत्पन्न बिवाद समाधानको अपेक्षा गरेको थियो। सोमबार नै अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग ट्रेड डिल बाहेक ३ अर्ब डलर बराबरको रक्षा उपकरणसम्बन्धी डिल हुने बताइसकेका छन्। दुई देशबीच करिब २ अर्ब डलर बराबरको मिसाइल डिफेन्स सिल्डबारे पनि छलफल भएको ट्रम्पले जानकारी दिएका छन्।
तर अमेरिकी मिडियाहरु नै मोदीको अधिनायकवादी आन्तरिक नीति तथा विवादित क्षेत्र काश्मिरमाथि मोदीको सरकारी नीतिलाई हेर्दै अमेरिकाको नीति पनि भारतलाई हतियार बेच्ने भन्दा पनि उत्पादक व्यापारिक कुटनीति हुनुपर्ने विश्षेषण गरिरहेका छन्।
गत वर्षमात्रै भारत र अमेरिकाले ठूलो सैन्य सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका थिए। दुबै देश बढ्दो चिनियाँ प्रभावलाई लिएर चिन्तित देखिन्छन्। यस्तै मोदी र ट्रम्प दुबैमा रहेको एन्टि मुश्लिम धार समान देखिन्छ। तर ब्यापारका बिषयमा दुबैले अख्तियार गरेको नीतिका कारण दुबै देशबीचको १६० अर्ब डलरको द्विपक्षीय ब्यापारमा असमझदारी उत्पन्न भएको छ।
अमेरिका फर्स्ट भन्ने ट्म्पको नीतिका कारण दुई देशबीचको ब्यापारिक सम्बन्ध निकै खराब बनेको छ जसका कारण २५ अर्ब डलर बराबरको ब्यापार घाटा झन् बढेर गएको छ। चीनसँगको रणनीतिक मामिलमा समेत चुकेको अमेरिका आफ्नो ठूलो निर्यात बजार भारतसँग पनि ब्यापारिक सम्बन्ध मजबुत बनाउन सकिरहेको छैन।
अमेरिकाले पनि भारतीय स्टिल तथा आलुमिनियममा कर लगाउनुकासाथै केही सामाग्रीहरुमा ड्युटी फ्रि सुविधा खारेज गरिदियो।
मोदीको 'मेक इन इन्डिया' नारा पछि भारतमा अमेरिकी सामाग्रीहरुमा उच्च कर लगाउन सुरु भयो। ६ सय मिलियन डलरभन्दा बढीको निर्यात हुँदै आएको क्यालिफोर्नियाको हाडे बदाममा भारतले उच्च कर लगाइदियो। यस्तै अमेरिकी कम्पनी हार्डे डेभिडसन मोटरबाइकका पनि शतप्रतिशत निर्यात कर लगायो।
यसैकारण ट्रम्पले भारतलाई 'ट्यारिफ किङ' नै भन्न भ्यायो ।
दुई देशले अझैपनि कृषि, दुग्ध पदार्थ, डेटा संरक्षण तथा इ कमर्सका साथै अन्य क्षेत्रसँग सम्बन्धित मुद्दाहरुमा अझै पनि समस्या समाधान गर्न सकेका छैनन्।
ब्यापार वार्तालाई अघि बढाउन अमेरिकाले भारतसँग आफ्नो मागको सूची बढाइरहेको छ। अमेरिका आफ्नो दुग्ध उत्पादनको बजार बढाउन चाहन्छ भने भारत डेरी तथा दुग्ध उत्पादन सकेसम्म अमेरिकाबाट नभित्र्याउनेमा स्पष्ट छ।
अमेरिकाले स्याउ र बदाम जस्ता कृषि उत्पादनहरुका लागि पनि भारतमा बजार हेरिरहको छ। यसका साथै अमेरिका आफ्नो चिकित्सा उपकरणहरुमा भारतले लगाएको निर्यात कर अन्त्य गर्न माग गरिरहेको छ।
भारतमा हार्ले डेभिडसन मोटरबाइकमा लगाइएको कर पनि उल्लेखननीय रुपमा घटोस् भन्ने नै अमेरिका चाहिरहेको छ।
भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले दुई देशबीच ऐतिहासिक ब्यापार सम्झौता हुने भनेका छन्। अहिलेसम्मकै सबैभन्दा ठूलो डिल भनेर ट्रम्पले भनेको ब्यापार सम्झौता हाल सुरुवाती चरणमा रहेको पनि उनले बताइसकेका छन्।
यो सम्झौताले लगानी सम्झौतामा भएका बाधाहरु अन्त्य गर्ने ट्रम्पको भनाई छ। 'मोदी र मैले दुबै देशबीचको आर्थिक सम्बन्धलाई बिस्तार गर्ने प्रयासहरुमा चर्चा गर्न लागेका छौं। हामी अहिलेसम्मकै ठूलो ब्यापार सम्झौता गर्नेछौं। यो दुबै देशकालागि राम्रो मात्र नभई भब्य हुनेछ।'- उनले भनेका छन्।
हाल दुई देशबीचको ब्यापार ४० प्रतिशतभन्दा धेरै भएको ट्रम्पले नै भनेका छन्। उनका अनुसार अब भारत अमेरिकाको प्रमुख निर्यात बजार हो। यस्तै अमेरिका पनि भारतको लागि ठूलो निर्यात बजार हो। ट्रम्पले दुबै देशले एक अर्का 'फलेफुलेको' हेर्न चाहेको छ।
उनले भारतमा रोजगारी तथा अवसरहरु आकर्षित गर्नकालागि बिदेशी कम्पनीहरुमाथिको बोझ कम गर्नुका साथै नयाँ लगानीको बाटोमा देखिएका अवरोधहरु हटाउने तथा अनावश्यक नियमनहरुलाई अन्त्य गर्नुपर्ने दवाव दिँदै आएका छन्। ट्रम्पले मोदीले भारतको आर्थिक क्षेत्रमा उल्लेखनीय सुधार गरेको भन्दै अब लगानीको माहौलमा तीब्र सुधारको अपेक्षा गरेको बताएका छन्। (एजेन्सीहरुको सहयोगमा)