PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपा एकता प्रक्रिया अझै टुंगिएन, स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णय हुँदैन कार्यान्वयन



कुञ्जरमणि भट्टराई

नेकपा एकता प्रक्रिया अझै टुंगिएन, स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णय हुँदैन कार्यान्वयन

काठमाडौं : तत्कालिन एमाले र माओवादीबीच एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रिया तीन महिनाभित्रै सम्पन्न गर्ने उद्घोष गर्‍यो। तर, पार्टी एकता भएको २१ महिनासम्म पनि एकता प्रक्रियाका केही काम बाँकी नै छन्।

गत पुस पहिलो साता बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एकता प्रक्रिया ढिलो भएकोमा आत्मालोचना गरे। उनले पुराना गल्तीहरु नदोहोरिने प्रतिबद्धतासमेत गरेका थिए प्रतिवेदनमा। सोही स्थायी कमिटी बैठकले एकताका बाँकी काम १५ दिनभित्र सक्ने निर्णय गरेको थियो।

तर, निर्णय कार्यान्वयन भएन र एकता प्रक्रिया अघि  बढेन। त्यसपछि माघ १५ देखि १९ गतेसम्म बसेको  केन्द्रीय कमिटी बैठकले एकताका बाँकी काम १५ दिनभित्रै सक्ने निर्णय गर्‍यो। निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, 'स्थायी कमिटी बैठकले १५ दिनभित्र एकताका काम सक्ने निर्णय गरेपनि त्यसो हुन सकेन। आत्मआलोचित हुँदै १५ दिनभित्र एकताका बाँकी काम सक्ने निर्णय भएको छ।'

तर केन्द्रीय कमिटी बैठकको निर्णयको सीमा पनि नाघिसकेको छ। नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णय उल्लंघन गरेको छ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले मंगलवार समाजिक सञ्जालमा केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको गुनासो गरेका छन्।

 'माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकमा सचिवालयका तर्फबाट प्रस्ट रुपमा भनिएको थियो, 'आगामी १५ दिनभित्र पार्टी एकताका बाँकी कामहरु पूरा गरिनेछ। यसबाट उत्साहित भएर केन्द्रीय सदस्यहरु फर्किएका थिए,' उनी लेख्छन्, 'तर, बैठक सकिएको २१ दिनपछि अर्थात् फागुन १० मा बसेको सचिवालयको बैठकमा पनि पार्टी एकताका बाँकी कामहरुलाई पूर्णता दिने सम्बन्धमा छलफल भएको सुन्न पाइएन। बरु, अरु नै विषयहरु छताछुल्ल भएका छन्।'

नेकपामा केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग र विभागहरुले पूर्णता पाउन सकेको छैन। लामो रस्साक्सीकाबीच अन्य कमिटीको एकता सम्पन्न गरेको छ। रिजालले एकता प्रक्रिया सम्पन्न गरेर नेताकार्यकर्तालाई जिम्मेवारी दिनेतिर नेतृत्वको ध्यान नदिएको आरोप पनि लगाएका छन्।

कहिले सकिन्छ एकता?  

उता नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका बाँकी कामको आन्तरिक गृहकार्य भइसकेको दाबी गरे। आगामी सचिवालय बैठकले पूर्णता दिने उनको भनाइ थियो।

महासचिव पौडेलल भने, 'एकताका बाँकी विषय टुंग्याउने आन्तरिक गृहकार्य भइसकेको छ। आगामी सचिवालय बैठकमा निर्णय हुन्छ।'

तर सचिवालय कहिले बस्ने भन्ने टुंगो भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell