PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मध्यरातमा ईश्वर पोखरेलको त्यो ट्वीट...



कुञ्जरमणि भट्टराई

मध्यरातमा ईश्वर पोखरेलको त्यो ट्वीट...

काठमाडौं : 'शनिवारबाट नै फोन आइरह्यो, तपाईँलाई संविधान संशोधको कार्यदलमा राखिएको हो? त्यसपछि सोमबार बिहानै माधवकुमार नेपालले छलफल गरौं भनेर सम्पर्क गर्नुभयो। पत्रपत्रिकामा भनेजस्तो कार्यदलको कुरा हो भने आउँदिन भनेँ। उहाँले होइन, एकछिन बसौं भनेपछि कोटेश्वरमा भेला भयौं,' सोमवार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले फोनमा भनेका थिए।

उनले सुनाएको प्रसंग हो - वामदेव गौतमका लागि नेकपाले छलफल गरेको संविधान संशोधनको कार्यदल। नेकपाले शनिवार बसेको सचिवालय बैठकमा संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास चन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाइएको समाचार आइतबार बेलुकीमात्रै सार्वजनिक भयो।

समाचार बाहिरिएसँगै विभिन्न टीकाटिप्पणी सुरु भयो। सचिवालय सदस्यहरुले छलफलमात्रै भएको तर निर्णय नभएको प्रतिक्रिया दिन थाले।

सोमवार दिनभरजसो नै कार्यदलको विषयले तरंग पैदा गर्‍यो। नेताहरु आन्तरिक भेटघाटमा व्यस्त भए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहानै निवास पुगे।

माधवकुमार नेपालले सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटालाई कोटेश्वरस्थित निवासमा डाके। नेम्वाङले संविधान संशोधन व्यक्ति विशेषका लागि होइन, राष्ट्रिय औचित्य र आवश्यकताका आधारमा हुने भन्दै नेपाललाई नेतृत्वसामू सो कुरा पुर्‍याइदिन अनुरोध गरे। खिमलाल देवकोटाले सुवास दाइको कुरा ठीक हो भन्दै समर्थन जनाए। अर्थात्, चर्चामा रहेको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाले अस्वीकार गरे सोमबार नै।

यसबाट पनि कार्यदल फासफुस भएको देखिन्छ। पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था नभएको भन्दै राष्ट्रिय सभामा जान अस्वीकार गरे।

उनै वामदेवलाई पार्टीको उपाध्यक्ष बनाउन पार्टी विधान नै संशोधन भएकोले नेताहरु संविधान संशोधन गर्न पनि तयार भएको कुरा बाहिरिएपछि नेताहरु अफ्ठ्यारोमा परे। गौतमलाई राष्ट्रिय सभामा लैजान कार्यदल बनाएको विषयले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

मध्यरात अर्थात् मंगलवार बिहान १२:२७ बजे नेकपा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले यस विषयमा आफू जानकार नरहेको भन्दै ट्वीट गरे। ट्वीटमा उनले एकाएक संविधान संशोधनको बारेमा कुरा सुनेर आफूलाई उदेक लागेको उल्लेख गरेका छन्।

ट्वीटमा उनले लेखेका छन्, 'अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ। मानिसहरू उदेक मान्दैछन्!'

उनले संविधान संशोधन केका लागि भन्ने प्रश्न समेत गरेका छन्। पोखरेलले कुरा लुकाइएको भन्दै लेखेका छन्, 'केका लागि संशोधन? खराखरी बहस गर्नेबेला आएजस्तो छ। कुरा लुकाएर-ढाँटछल गरेर कति दिन चल्छ - कसरी चल्छ? राजनीति गरिन्छ, जुवा खेलिन्न!'

नेता पोखरेलले मध्यरातमा यो ट्वीट गर्नुले कार्यदल गर्भमै तुहिएको पुष्टि गर्छ।

पोखरेलको ट्वीटमा विभिन्न खाले कमेन्ट आएका छन्। पोखरेलको ट्वीटको कमेन्टमा वामदेवलाई गाली गर्नेहरु धेरै छन्।

उनको कमेन्टमा छवी बराल लेख्छन्, 'चुनाव हारेपछि चुप लागेर बसेका वामदेव गौतमलाई यति धेरै लिफ्ट दिने शीर्ष नेता नै हुन्, आफ्नो गुटमा प्रयोग गर्न उनको नाम आउने बित्तिकै सबै नेताले आँखा चिम्लेर उपाध्यक्षदेखि संगठन विभाग हुँदै धेरै विषयमा महत्वकांक्षी बनाइदिए, मौका यही हो भन्दै उनले पनि संविधान संशोधन गरेर प्रम हुने चौका हान्न खोजे।'

उनको ट्वीटमा हिरा ग्याउलु नामक ट्वीटर प्रयोगकर्ताले भने इश्वर पोखरेलको ट्वीटमा झुटको आशंका गरेका छन्।

उनी लेख्छन्, 'ए कमरेडलाई पनि थाहा नभएको कुरो कसरी पास होला र? कि हजुर पिटेजस्तो गर्नुस् म रोएजस्तो गर्छु भनेको त होइन होला।'

पोखरेलको ट्वीटमा टेकनारायण दयालु नामक ट्वीट प्रयोगकर्ताले वामदेवका लागि नेकपा सती जान लागेको हो भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन् 'सत्ता र स्वार्थका धूर्त खेलाडी वामदेवले २०५४ मा एमाले पार्टी विभाजन गरेर २०५६ सालमा भएको निर्वाचनमा ९० भन्दा बढी स्थानमा हराएका थिए। तिनै अस्थिरताका खलनायक वामदेवलाई बोक्नेहरु सरकार स्थिर र बलियो बनाउन होइन कमजोर बनाउन सक्रिय छन्। वामदेवका लागि नेकपा सती जान तयार हो र कमरेड?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell