PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

हिंसाको आगोमा दन्दनी दिल्ली : के धर्मकै विषयले निम्त्याएको हो संकट?



सहयोग रञ्जित

हिंसाको आगोमा दन्दनी दिल्ली : के धर्मकै विषयले निम्त्याएको हो संकट?
Photo : Danish Siddiqui/Reuters

सेतो कुर्था। कपडाभरी रगत र कालो दाग। चारैतिर हातमा लट्ठी बोकेका युवाहरुले कुर्थावाल युवकमाथि निर्मम प्रहार गरिरहे। उनको टाउको फुट्यो। उनीमाथि केहीले रड समेत प्रहार गरे। कुर्था लगाएका युवाले आफूलाई नहान्न हारगुहार गरिरहेका थिए। तर, कसैले सुनेनन्।

कुटाइ खाने युवक मुसलमान थिए। कुट्ने 'हिन्दुत्व समर्थक'। सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगरामा ताज महलको भव्यता हेरिरहेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदावादमा ट्रम्पको स्वागतमा रम्दै थिए। त्यसैबीच राजधानी नयाँ दिल्लीमा हिंसाको आगो दन्किरहेको थियो।

एकातर्फ ट्रम्पको भारत भ्रमणका तस्विर सार्वजनिक भइरहे। अर्कातर्फ नयाँ दिल्लीमा भएका हिंसाका तस्विरहरुले पनि विदेशी संचारमाध्यममा स्थान पाइरह्यो। चर्चामा रह्यो त्यही कुर्था लगाएका रगतले लत्पतिएका युवकको तस्विर।

+++

'दिलवालोंका दिल्ली' जलिरहेको धेरै महिना भयो। तीन दिनयता भने दिल्ली नराम्रोसँगै आगोले दन्किएको छ।

मोदी सरकारले कार्यान्वयनमा ल्याइसकेको नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा दैनिक रुपमा भारतका विभिन्न प्रान्तहरुमा प्रदर्शन भइरहेको छ। राजधानी नयाँ दिल्ली पनि त्यसबाट अछुतो थिएन।

जवाहरलाल नेहरु विश्वविद्यालय र शाहिनबागमा रहेका कलेजहरुमा सीएएकै विषयलाई लिएर विरोध भइरहेको महिनौं भयो। शाहिनबागमा प्रहरीकै अगाडि बन्दुक लिएर एक युवाले आतंक मच्चाए। बन्दुक देखाउनु अहिले दिल्लीमा 'कमन बात' भएको छ।

ट्रम्प सोमबार साँझ दिल्ली पुग्ने भएकाले सुरक्षा व्यवस्था कडा पार्नु पर्ने बाध्यता। अर्कातिर प्रदशर्नकारीहरुको आक्रोश। प्रहरी भने पहिला जस्तै बीचमा। न त सुरक्षा दिनसक्यो, उल्टै दिल्लीमा फेरि बन्दुक पड्कियो। केही युवा प्रहरी र प्रदर्शनकारीलाई गोली तेसाउँदै हिँडिरहे। बन्दुक देखाउने कसैलाई पक्राउ गर्न प्रहरीले सकेको छैन। भारतीय मिडियामा बन्दुकधारी युवकले प्रहरीकै अगाडि बन्दुक देखाउँदै हिँडिरहेको भिडियो देखाउने होड चलेको छ।

सीएएको विषयलाई लिएर दिल्लीमा भड्किएको हिंसामा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा एक हेड कनस्टेबल समेत छन्। सयौं घाइते भएका छन्।

सोमबार दिल्ली जहिरह्यो। मंगलबार यसले निरन्तरता पायो। पसलहरुमा आगलागी, सपिङ कम्प्लेक्सहरुमा तोडफोड, गाडीमा आगजनी र ढुंगामुढा। यो अहिलेसम्म पनि निरन्तर छ। यता दिल्ली पुगेकी अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प दिल्लीको एक विद्यालयमा बालबालिकाहरुसँग 'ह्यापिनेस क्लास' लिइरहेकी थिइन्।

धेरैले यसलाई 'गुजरात दंगा २' संज्ञाका दिएका छन्। मोदी गुजरातका मुख्यमन्त्री रहँदा त्यहाँ सन् २०२० मा हिंसा भड्किएको थियो। त्यस विषयमा अहिले पनि मोदीमाथि प्रश्न उठ्ने गर्छ। त्यस हिंसामा धेरै संख्यामा मुस्लिमहरुलाई 'टार्गेट' गरिएको थियो, अहिले दिल्लीमा जस्तै।

+++

दिल्ली अशान्त हुनुमा मुख्य कारण बन्यो हिन्दुत्व र मुस्लिमबीचको द्वन्द्व।

सामाजिक संजाल र भारतीय मिडियाहरुमा प्रसारित भिडियोका अनुसार दिल्लीमा सीएएको विरोधमा उत्रेका मुसलमानहरुलाई निशाना बनाइ कुट्ने र दुर्व्यवहार गर्ने कार्य भयो। शाहिनबागबाट शुरु भएको विरोध प्रदर्शन दिल्लीका विभिन्न स्थानमा फैलिएको अवस्थामा केही दिनयता जाफरावाद र मौजपुरमा समेत सरकार विरोधी प्रदर्शन भइरहेको थियो।

जाफरावादमा एक सर्भिस लेनमा आन्दोलन भइरहँदा करदमपुरी, चांदबाग, खजूरी खास, वजीराबाद र यमुनामा समेत प्रदर्शन भइरहेको थियो।

सोमबार मौजपुर चोकमा सीएएको समर्थनमा केही मानिसहरु नारा लगाइरहेका थिए। त्यसको २ सय मिटर अगाडि सीएएको विरोधमा प्रदर्शन गरिरहेकाहरु थिए। दुवै समूहबीच करिब दुई घण्टासम्म ढुंगा हानाहान भयो। मौजपुरबाट शुरु भएको हिंसा उत्तरपूर्वी दिल्लीभर फैलियो। यसबीच केही स्थानमा गोली चल्यो। ढुंगा हानाहान कायम नै रह्यो। प्रहरीले अश्रुग्यास चलायो, लाट्ठी चार्ज गर्‍यो।

प्रहरीका अनुसार सोमबार रातिसम्म दिल्लीमा गोली चलेको आवाज सुनिएको थियो।

मंगलवारसमेत धेरै स्थानमा तोडफोड र आगजानी भएको छ।

+++

दिल्लीमा हिंसा फैलिनुको कारण सीएए देखिए पनि यसको मूल कारण भने त्यसैसँग जोडिएको हिन्दुत्व रहेको बताइन्छ। नागरिकता संशोधन विधेयक (सीएए) मार्फत् दक्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट उत्पीडनमा परेर भारत प्रवेश गरेका गैर मुसलमानहरुले सहजै नागरिकता पाउने प्रावधान लागू भइसकेको छ। दोस्रो पटक बहुमत सरकारको नेतृत्व गरिरहेका मोदीले नागरिकता संशोधन विधेयकलाई संसदबाट पारित गरेर राष्ट्रपति रामनाथ कोविन्दबाट अनुमोदन गराइ राजपत्रमा प्रकाशित समेत गरेको हप्तौं भइसक्यो। उत्तर प्रदेशमा त यो विधेयक कार्यान्वयन समेत भइसक्यो। यद्यपि, धेरैजसो प्रान्तहरुले केन्द्रसँग विद्रोह गर्दै सीएए लागू नगर्ने बताइरहेका छन्।

सीएएबाट भारतमा नै रहेका मुस्लिम नागरिकलाई खासै असर नपरे पनि बाहिरबाट आउने हिन्दुहरुका कारण मुस्लिमहरु ओझेलमा पर्ने आन्दोलनकारीहरुको मत छ। सीएएसँगै भारत सरकारले नेशनल रजिस्टर अफ सिटिजन 'एनआरसी' लागू गर्ने तयारी गर्‍यो। नागरिकता विधेयकले बलेको आगोमा घ्यू थप्ने काम गर्‍यो।

एनआरसीको माध्यमबाट भारतमा गैर कानूनी तरिकाले बसोबास गरिरहेका मानिसहरुलाई 'डिपोर्ट' गर्ने गरी नयाँ कानून निर्माण गर्ने तयारीमा भारत सरकार रहेको छ। हुन त सन् १९५५ मा नै भारतमा एनआरसी लागू गरिएको थियो। तर, त्यो असाममा मात्रै केन्द्रित थियो। अहिले भने एनआरसीलाई पूरै भारत भर लागू गराउने तयारी गरिरहेको भारतीय मिडियाहरुको दाबी छ। यद्यपि, यसमा आधिकारिक फैसला आइसकेको छैन।

'एनआरसी' अन्तर्गत भारतमा बसिरहेका व्यक्तिहरुले आफू त्यहाँ कानूनी रुपमा बसिरहेको प्रमाणित गर्नुपर्ने हुन्छ। सरकारले तोकेको मापदण्ड पूरा गर्न नसके सो व्यक्तिलाई भारतबाट निकाला गरिनेछ। यदि मोदी सरकारले 'एनआरसी' लागू गरेमा यसबाट त्यहाँ ठूलो संख्यामा बसोबास गरिरहेका मुस्लिमहरु नै प्रभावित हुने सम्भावना बढी छ। दस्तावेज भएका आदिवासी र मुस्लिम समुदायलाई यसले प्रभावित नगरे पनि कुनै आधारबिना भारतमा बसिरहेका मुस्लिम भने प्रभावित हुनेछन्।

त्यसैले पनि मुस्लिम समुदाय यस विधेयकको विरोधमा सडकमा ओर्लिएका हुन्। दिल्लीको शाहिनबागमा आन्दोलनमा उत्रेमा धेरै मुस्लिम महिला नै छन्। दिल्लीका अन्य भागमा छुट्टाछुटै समूहले आन्दोलनको नेतृत्व गरिरहेका छन्।

सीएएको समर्थनमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) छ। बिजेपी कार्यकर्तासँगै आरएसएस समर्थकहरुले भारतमा हिन्दुत्वको वकालत गर्दै आएका छन्। त्यही हिन्दुत्वका समर्थनमा दिल्लीका सडकमा उत्रेका प्रदर्शनकारीहरु र मुस्लिम समुदायबीच भएको झडप अहिले मोदी सरकारको टाउको दुखाइको विषय बनेको छ। अतिथि बनेर दिल्लीमा पुगेका ट्रम्पको अगाडि प्रदशर्नकारीलाई पर्न नदिन गृहमन्त्री अमित शाहले ठूलै मिहिनेत गर्न परिरहेको छ।

+++

सामाजिक संजालमा हाल प्रहरी र प्रदर्शनमा उत्रेका दुई समूहबीच विभिन्न स्थानमा भएको झडपका भिडियो भाइरल भइरहेको छ। धेरैजसो भिडियोमा मुस्लिम समुदायमाथि आक्रमण गरिएको छ। सीएएको विपक्षमा उत्रेकाहरुलाई 'बन्दे मातरम' गाउन हिन्दुत्व समर्थकहरुले चेतावनी दिइरहेका समेत देखिएको छ।

हिंसा भड्‍किएपछि केही समयअघि भारतका गृहमन्त्री शाहले दिल्लीलाई लिएर विशेष बैठक बोलाएका थिए। दिल्लीका लेफ्टिनेन्ट गभर्नर अनिल बाइजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, दिल्लीका प्रहरी प्रमुख लगायत उपस्थित थिए बैठकमा। बैठकमा हाललाई दिल्लीमा सेना परिचालन नगर्ने विषयमा छलफल भएको छ। यद्यपि, दिल्लीमा प्रहरीको संख्या भने बढाइएको छ। ड्रोनबाट दिल्लीका विभिन्न स्थानमा प्रहरीले निगरानी गर्ने र हिंसा भएको स्थानमा प्रहरी फौज तैनाथ गर्ने तयारी गरिरहेको छ।

उत्तरपूर्वी दिल्लीका धेरै सडकहरु अहिले बन्द छ। सडकमा जलाइएका कयौं गाडी देख्न सकिन्छ। पसलहरु जलिरहेको अवस्थामा छ। दिल्लीको एक भाग पूरै ठप्प भएको छ। सोमवारको भन्दा आजको अवस्थामा केही सुधार आए पनि कुनै पनि समयमा फेरि हिंसा भड्किन सक्ने तर्फ प्रहरी सचेत रहेको बताइएको छ।

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले दिल्लीमा भड्किएको हिंसाका बारेमा मोदीसँग कुनै कुरा नभएको बताएका छन्। दिल्लीमा हिंसा भएको बारेमा आफूले सुनेको बताउँदै उनले भने, 'हामीले भेटमा धार्मिक स्वतन्त्रता बारेमा कुरा गर्‍यौं। मोदीले नागरिकहरुलाई धार्मिक स्वतन्त्रता दिन चाहेको बताए। उनीहरुले त्यस बारेमा धेरै काम गरेका छन्। मैले हिंसा भएको बारेमा सुनेको छु। तर, हामीले यस बारेमा छलफल गरेनौं। यसको समाधान भारत आफैँले गर्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell