PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

‘थुनामा रहेकालाई छुटाइ दिन्छु’ भन्दै ४० हजार ठग्ने सम्साद अलि पक्राउ



राधेश्याम पटेल

‘थुनामा रहेकालाई छुटाइ दिन्छु’ भन्दै ४० हजार ठग्ने सम्साद अलि पक्राउ
ठगीको अभियोगमा पक्राउ परेका मोहम्मद सम्साद अलि।

वीरगंज : थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ठगीको अभियोगमा पर्सा प्रहरीले वीरगंज-२ छप्कैयाका मोहम्मद सम्साद अलिलाई पक्राउ गरेको हो।

गत असोज २० गते पक्राउ परेका वीरगंज-१६ नगवा निवासी २० वर्षीय सदाम हुसेनलाई छुटाउन उनका अभिभावकसँग सम्सादले ४० हजार रुपैयाँ लिएका थिए। पैसा दिएको भनी हुसेनका अभिभावकले पर्सा प्रहरीमा दिएको उजूरीका आधारमा सम्सादलाई पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

यसैबीच, वीरगंजबाट दुई दिनमा ४ जना हुन्डी कारोबारी पक्राउ परेका छन्। सोमवार र मंगलवार गरी २६ लाख ७१ हजारसहित एक भारतीय र ३ जना नेपाली पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा रौतहटको पिप्रा पोखरिया-१ घर भई हाल वीरगंज-१६ नगवा बस्ने ४१ वर्षीय सञ्जय कुमार साह, सोही स्थानका ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगंज-१६ नगवाका ३१ वर्षीय राजुकुमार कलवार रहेका छन्।

प्रहरीले चारै जनाविरुद्ध अवैध वित्तिय (हुण्डी) कारोबारमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ।

वडा प्रहरी कार्यालय विर्ताको टोलीले सोमवार सञ्जय र जयलाललाई वीरगंजको आदर्शनगरबाट पक्राउ गरेको थियो। बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको पर्साका प्रहरी प्रवक्ता वीरेन्द्र सिंह शाहीले बताए।

त्यसैगरी मंगलवार विर्ता प्रहरीले वीरगंज-१६ भन्सार गेट अगाडि ईनार्वा गाउँ जाने बाटोबाट विजय र राजुलाई पक्राउ गरेको थियो। बिआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमार्फत रक्सौलबाट वीरगंजतर्फ आउने क्रममा उनीहरु पक्राउ परेका हुन्। दुवै जनाको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell