PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

सुदुरपश्चिम खप्तड गोल्डकप : भारतीय टिमलाई हराउँदै आयोजक सुप ११ सेमिफाइनलमा



एम बम

सुदुरपश्चिम खप्तड गोल्डकप : भारतीय टिमलाई हराउँदै आयोजक सुप ११ सेमिफाइनलमा

कैलाली : आयोजक सुदूरपश्चिम ११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ।

पहिलो चरणमा वाई पाएर क्वाटरफाइनल पुगेको सुदुरपश्चिम–११ भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो। सुदुरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे। कंचनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक/एक गोल फर्काए।

खेलको १० औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो। उद्धव खत्रीको पासमा विक्रमले डिबक्सभित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे। १९ औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता २–० को बनाए। कंचनजंघाका गोलरक्षक निगमसिंह अगाडी बढेको अवस्थामा फिलिपले सहजै खाली पोष्टमा गोल गरे। खेलको २३ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक सुदुरपश्चिम–११ ३–० ले अघि रह्यो। उनले पुन उद्धवको पासलाई सदुपयोग गरे। २८ औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कन्चनजंघाले अग्रता ३–१ मा झार्‍यो। सुदुरपश्चिमका धनबहादुर थापाले डिबक्सभित्र अमीर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे। खेलको ३९ औं मिनेट कंचनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिको थियो। डिबक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जाली चुमाए। खेलको ४६ औं मिनेटमा दिपेशले गोल गर्दै सुदुरपश्चिमलाई ४–२ को सहज जित दिलाए। दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे। त्यसपछि दुवै टीमले गोल गर्ने प्रयासहरु गरे पनि सफल हुन सकेनन्। खेलको म्यान अफ दि म्याच आयोजकका बिक्रम चुनिए। उनले १० हजार नगद सहित ट्रफी प्राप्त गरे।

खेलपछि प्रतिक्रिया दिदैं आयोजक सुदुरपश्चिम– ११ का प्रशिक्षक रोहित भण्डारीले सोचे अनुसारको नतिजा भए पनि खेलाडीहरु केही नयाँ भएकोले तालमेल राम्ररी मिल्न नसकेको बताए। 'खेलाडीबीच कम्बिनेसन राम्रो भएन। गोलकिपर पनि घाइते भएर समस्या भयो,' प्रशिक्षक भण्डारीले भने, 'डिफेन्स लाइन राम्रो थियो। तर धेरै खेलाडीहरुले तालमेल मिलाउन सकेनन्। अब सेमिफाइनलमा यो खेलका गल्तीहरु सुधार गरेर खेल्छौं।'

विभागीय टीमसँग खेल्न गाहे भए पनि आफुहरु राम्रो खेल्ने प्रशिक्षक भण्डारीको भनाई छ। कञ्चनजंघा फुटबल क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले राम्रो खेलेको भन्दै खेलको सुरुवातमा भएका गल्तीका कारण जितबाट बन्चित भएको बताए। डिफेन्डसको गल्तीले खेलको सुरुमै तीन गोल खायौं। गोलकिपर पनि पहिलो खेलमा घाइते भएका कारण उसले राम्रो खेल्न सकेन।' प्रशिक्षक क्षेत्रीले भने, 'खेलमा फाइट ब्याक गर्दै दुई गोल फर्किएको हो। दोस्रो हाफमा सुदुरपश्चिमभन्दा बढी गोल गर्ने मौका पायौं। तर फिनिसिङ भएर गोल गर्न सकेनौं। पहिलो पटक सुदुरपश्चिममा गोल्डकप खेल्न आएको भारतको कञ्चनजंघा फुटबल क्लबले उद्घाटन खेलमा वाग्मती युवा क्लबलाई टाइब्रेकरमा हराएको थियो। क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले देशकै उत्कृष्ट मध्येको गोल्डकपबारे युट्युबमा हेरेर प्रतियोगिता खेल्न आएको र आगामी दिनमा पनि आउने जानकारी दिए।

अब सुदूरपश्चिम– ११ ले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बुधबार थ्री स्टार र नव जनजागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell