काठमाडौं : आफन्त बिरामी भएको बहानामा नक्कली सुनको बाला बिक्री गरी ठगी गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं कागेश्वरि मनोहरा-६ बस्ने २३ वर्षीय वीरबहादुर तामाङ र मेलम्ची-४ स्थाई घर भई हाल कागेश्वरि मनोहरा-६ बस्ने २१ वर्षीय अमित तामाङलाई पक्राउ गरेको हो।
उनीहरुले गत फागुन २ गते बूढानीलकण्ठ नगरपालिका-४ बस्ने अनिता बाँस्कोटालाई आफन्त बिरामी भएको बहानामा नक्कली सुनको बालालाई सक्कली भनी ६ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ। रकम लिएर भागेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाडौं-३ बाँसबारी बाट सोमवार पक्राउ गरेको हो।
उनीहरुले उपत्यकाका विभिन्न स्थानमा यस्तै किसिमका अपराध गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।