PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतालाई मासिक भत्ता : खेलकुदमन्त्री विश्वकर्मा



रासस

अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतालाई मासिक भत्ता : खेलकुदमन्त्री विश्वकर्मा
युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको मंगलवार अवलोकनपछि एकेडेमीका बालकसँग साक्षत्कार गर्दै। फोटो : रासस।

कास्की : युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन्।

पोखरा महानगरपालिका-१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको आज अवलोकन गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक पाँच हजार रुपैयाँ तथा ओलम्पिकमा सहभागीलाई मासिक चार हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको उल्लेख गरे।

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उनले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पारे।

उनले भने, ‘खेलाडीलाई मासिक भत्ता दिने कार्य एउटा शुरुवात हो। उहाँहरुलाई हौसला प्रदान गर्नका लागि बढीभन्दा बढी सुविधा र सम्मानको योजना सरकार बनाएको छ। खेलाडीले खेलेर नै जीवन सुनिश्चित हुने अवस्था निर्माण हुँदैछ।’

सहाराले आफ्नो मेहनत र लगानी तथा देश विदेशबाट सहयोग जुटाएर फुटबल खेल विकास तथा सामाजिक क्षेत्रमा गरेको योगदानबाट गौरवको अनुभूति हुने उल्लेख गर्दै मन्त्री विश्वकर्माले एकेडेमी भवन तथा खेल मैदानका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए।

एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन्। मन्त्री विश्वकर्माले आज नै पोखरा रंगशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रंगशालाको निरीक्षण गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएका थिए। साथै आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत उनले जानकारी लिए। पोखरा फुटबल रंगशालामा हालसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell