PahiloPost

Apr 2, 2020 | २० चैत्र २०७६

गुटका आधारमा भविष्य देख्न थालियो भने भुल हुनेछ : प्रवक्ता श्रेष्ठ



रासस

गुटका आधारमा भविष्य देख्न थालियो भने भुल हुनेछ : प्रवक्ता श्रेष्ठ
फाइल फोटो।

कास्की : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन्।

नेकपा गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा मंगलवार पोखरामा उनले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिस्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिए।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको वस्तुगत चाहनाले मात्र एकता सम्भव भएको हो। गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढाउनु आवश्यक छ। गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ।’

पार्टीका हरेक सदस्यले एकताको मर्म र भावअनुसार कम्युनिस्ट संस्कार र आचरण अनुसरण गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले सरकारले केही कठिनाइका कारणले आशातित काम गर्न नसके पनि अब जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने र सरकारलाई सफल बनाइ छाडिने दृढता व्यक्त गरे। पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले तीनमहिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाइने बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका नेता कार्यकर्ता जनताको घरदैलोमा पुग्दै पार्टी र जनताको सम्बन्ध सदृढ गर्ने तथा सरकारका गतिविधको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए। बैठकमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए।

प्रस्तुत प्रतिवेदनका बारेमा विभिन्न १२ वटा समूह निर्माण गरी छलफल शुरु भएको प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले जानकारी दिए। बैठकमा प्रदेशका ११ वटै जिल्लाका अध्यक्षले सङ्गठनात्मक अवस्था तथा गतिविधि सहितको प्रस्तुती बैठकमा राखेका थिए। बैठक बुधवार पुनः बस्ने बताइएको छ।



गुटका आधारमा भविष्य देख्न थालियो भने भुल हुनेछ : प्रवक्ता श्रेष्ठ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell