PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मूल्य आकासिएपछि सुन आयात सात महिनामा २५ सय केजी घट्यो, मोटरसाइकल आयत भने बढ्यो



खेमराज श्रेष्ठ

मूल्य आकासिएपछि सुन आयात सात महिनामा २५ सय केजी घट्यो, मोटरसाइकल आयत भने बढ्यो

काठमाडौः अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा आयातमा भारी गिरावट आएको छ। 

भंसार विभागका चालु आर्थिक वर्षको ७ महिनामा ६ अर्ब ३३ करोड रुपैंया बराबरको ११ सय ५० किलो सुन आयात भएको छ। गत वर्षको यही अवधिमा १६ अर्ब ४५  करोड रुपैंया बराबरको ३६ सय ५ केजी सुन आयात भएको थियो।

चालु वर्षमा सुनबाट सरकारले ७१ करोड राजस्व संकलन गरेको छ। गत वर्षको यही अवधिमा सुनबाट १ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो।  चालु वर्ष टर्कीबाट ४ सय केजी र स्वीटजरल्याण्डबाट १ सय केजी सुन आयात भएको तथ्यांकमा छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएपछि नेपालमा पनि मूल्यवृद्धिमा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ। सुनले मंगलबारसम्म प्रतितोला ८० हजारको रेकर्ड कायम राख्दा बजार ७५ प्रतिशतले खस्किएको छ।

विलासी वस्तुसँगै घट्यो चारचक्के सवारीसाधन आयातको आयात परिमाण पनि निकै घटेको छ। यो अवधिमा मोटरसाइकलको आयात भने बढेको छ।

चालु वर्षको सात महिनामा एक हजार सीसीदेखि १५ सय सीसीसम्मको सवारी ४ हजार ३२ वटा आयात भएको छ। जसमा जीप, कार, र भ्यान समावेश छन्। यी गाडीहरुको आयातमा लागि व्यवसायीले ३ अर्ब रुपैंयाँ तिरेका छन् भने करतर्फ राज्यलाई ६ अर्ब ९४ करोड राजस्व बुझाएका छन्। यो प्रकृतिको सवारी गत वर्ष यही अवधिमा ४ हजार ८६ वटा सवारी आयात भएको थियो।

यस्तै २ हजार सीसीसम्मको सिंगल क्याब सवारी २४ सय  ५३ वटा आयात भएका छन्। यी सवारीका लागि व्यवसायीले  भारतमा १ अर्ब ५१ करोड खर्च गरेका छन् भने राज्यलाई १ अर्ब ८० करोड राजस्व तिरेका छन्।

गत वर्षको यही अवधिमा यो प्रकृतिको सवारी ३३ सय ५४ वटा आयात भएको थियो। यो चालु आर्थिक वर्षभन्दा ९ सयले बढि हो।

यसैगरी २ हजार सीसीसम्मको पिकअप सवारी यो वर्ष १४ सय ७२ वटा सवारी आयात भएको छ। यो सवारीका लागि व्यवसायीले भारतमा १ अर्ब ४९ करोड तिरेका छन्। राज्यलाई २ अर्ब २२ करोड राजस्व तिरेका छन्। गत वर्ष सोही अवधिमा यो प्रकृतिको १९ सय ७ वटा सवारीसाधन आयात भएको थियो।

यस्तै पिकअप सवारी थाइल्याण्डबाट १ सय ३७ वटा आयात भएको छ। गत वर्ष थाइल्याण्डबाट १ सय ८४ वटा आयात भएको थियो। दक्षिण कोरियाबाट ५ वटा, चीनबाट २६ र जापानबाट एउटा आयात भएको छ।

यस्तै सेमी इन्जिनका सवारी यो वर्ष भारतबाट १२ सय १५ वटा आयात भएको छ । यो गत वर्ष सोही अवधिको आयातभन्दा २ सय ३ वटाले कमी हो। यो प्रकृतिको सवारी चीनबाट ५६ वटा आयात भएको छ।

सवारी खरिदमा बैंकले प्रवाह गर्ने ऋणको सीमा सरकारले ५० प्रतिशतमा सीमित गरेपछि सवारीसाधनको बिक्री घट्दै आएको छ। जसको सोझो असर आयातमा देखिएको हो।

मोटरसाइकल आयातमा वृद्धि

गत वर्षको तुलनामा मोटरसाइकलको आयात भने बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा ५० सीसीदेखि १ सय ५५ सीसीसम्मका १ लाख ७ हजार ४ सय २३ वटा मोटरसाइकल नेपाल भित्रिएको छ।

नेपालका अधिकृत बिक्रेताले ८ अर्ब ३८ करोड तिरेर ल्याएका मोटरसाइकलबाट राज्यले ८ अर्ब ६५ करोड राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिमा त्यही प्रकृतिको मोटरसाइकल ८४ हजार ४४ वटा आयात भएको थियो।

यस्तै १ सय ५५ सीसीदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकल ४२ हजार ३ सय २ वटा आयात भएको छ। ४ अर्ब २२ करोड रूपैयाँ तिरेर ल्याएको यो मोटरसाइकलको राजस्व मात्रै ३ अर्ब ७४ करोड रूपैयाँ राज्यले लिएको छ।

गत वर्ष सोही अवधिमा १ सय ५५ सीसीदेखि २ सय ५० सीसी क्षमताको ३२ हजार ९ सय ६ वटा आयात भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell