काठमाडौं : प्रहरी महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै संगठन छाडेका पूर्व डिआइजी रमेश खरेलले नयाँ अभियान शुरु गर्ने भएका छन्।
रमेश खरेल तिनै हुन् जसलाई नेपाल प्रहरीमा 'सिंघम'का रुपमा चिनाइन्थ्यो। उनको कार्यकालमा गुण्डाहरु तह लगाउने तथा तस्करी नियन्त्रणमा महत्वपूर्ण काम भएका थिए। वीरगंज रहँदा उनलाई त्यहाँका व्यवसायीहरुले 'हिरो'का रुपमा व्याख्या गर्थे। भारतीय सीमाबाट नेपाली व्यवसायीलाई आउने धम्की र अपहरणका केसलाई उनले न्युन गराएकै कारण उनलाई बलिउड फिल्मका पात्र 'बाजिराव सिंगम' सँग तुलना गर्थे।
देशमा भ्रष्टाचार र गलत प्रवृद्धि विकास हुँदै गएकाले खरेलले त्यसविरुद्ध 'हाम्रो नेपाल, हामी नेपाली' अभियानको नेतृत्व गर्न लागेका हुन्। 'यो एउटा खवरदारी अभियान मात्र हो। देशमा हुने गलत कामको हामी खवरदारी गर्छौं,' पूर्व डिआइजी खरेलले भने।
२०७४ चैत २८ गते खरेलले सरकारले डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेपछि राजीनामा दिएका थिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनी पूर्व आइजी सर्वेन्द्र खनाल र पूर्व एआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सँगै प्रहरी निरीक्षकको परीक्षा उतीर्ण गरेका थिए। तर, राजनीतिक रुपमा सरकारले महानिरीक्षक छानेको भन्दै राजीनामा गरेका थिए।
सर्वेन्द्र खनाल माघ २८ गते अवकाश भइसकेका छन्। अब खरेल भने राजनीतिक बाटो रोज्ने लयमा देखिएका छन्।
के राजनीति गर्न लाग्नु भएको हो?
हाम्रो प्रश्नमा खरेलले भने, 'राजनीतिक होइन। केवल खबरदारी मात्र हो। शान्तिपूर्ण रुपमा गलत कामको विरोध गर्छौं।'
बिहीवार खरेलले औपचारिक रुपमा कार्यक्रमको घोषणा गर्ने भएका छन्। उनको समूहमा विभिन्न कारणले चर्चामा आएका ज्ञानेन्द्र शाही पनि छन्।
'देशमा रुल अफ ल को खिल्ली उडाइएको छ। भ्रष्टाचार मौलाएको छ यसैको लागि मेरो नयाँ कदम हो,' पूर्व डिआइजी खरेलले भने।
नेपाल प्रहरीको २५ औं आइजी विषयमा पनि डिआइजी नवराज सिलवालले सरकारको नियुक्तिप्रति असन्तुष्टि देखाउनै राजीनामा दिएका थिए। राजीनामा दिए लगतै उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरे। पार्टीले टिकट दिएका सिलवाल अहिले प्रतिनिधिसभा सांसद छन्।