PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिल्लीमा दंगा : मस्जिदमा फहर्‍याइयो हनुमानको झण्डा



पहिलोपोस्ट

दिल्लीमा दंगा : मस्जिदमा फहर्‍याइयो हनुमानको झण्डा
PHOTO: THEQUINT/ Aishwarya S Iyer

'उनीहरु हाम्रो राष्ट्रमा छन्। उनीहरुले जय श्री राम भन्नै पर्छ। 'बन्दे मातरम्' गाउनै पर्छ। उनीहरु यहींँको खान्छन् र पाकिस्तानको साथ दिन्छन्।'

भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्र अहिले 'युद्ध' मा होमिरहेको अवस्थामा एक महिलाले 'द क्विन्ट' अनलाइनमा 'राम वाणी' सुनाइरहेकी थिइन्। हातमा 'श्री राम' र 'हनुमान' लेखिएको झण्डा बोकेर उनको पछाडि ताली बजाउँदै समर्थन गरिरहेका थिए मानिसहरु।

'मुस्लिम विरोधी' यस्तै भड्काउ भाषणका कारण नै अहिले दिल्ली जलिरहेको भारतीय संचार माध्‍यमको दाबी छ।

केन्द्रमा रहेको नरेन्द्र मोदी सरकारले कार्यान्वयनमा ल्याएको नागरिकता संशोधन विधेयक (सीएए) र नेशनल रजिस्टर अफ सिटिजन 'एनआरसी' को विरोधमा भारतभर विभिन्न स्थानमा कयौं महिनादेखि प्रदर्शन भइरहेको छ। राजधानी दिल्लीमा पनि विरोध भइरहेका छ। दिल्लीको शाहिनबाग, मौजपुर लगायतका क्षेत्रमा विरोध गर्नेहरु धेरैजसो मुस्लिम समुदायका छन्। उनीहरु सीएएसँगै ल्याइने एनआरसीबाट त्रसित बन्दै विरोध गरिरहेका छन्।

तर, गएको तीन दिन यता दिल्लीको उत्तरपूर्वी क्षेत्रमा यसै विषयलाई लिएर हिंसा भड्किएको छ। हिंसामा सयौं घाइते हुँदा मृतकको संख्या २० पुगेको छ।

हिन्दुत्वको वकालत गर्दै सीएए विरुद्ध प्रदर्शन गरिरहेकाहरुलाई 'जसरी पनि सडकबाट हटाउने' भाषण सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले दिएका थिए। त्यसमा सबैभन्दा पहिलो नम्बरमा आउँछन् कपिल मिश्रा। उनले प्रदर्शन भइरहेको स्थानमा गएर ट्रम्प फर्किए लगत्तै विरोध गरिरहेकाहरुलाई उनीहरुले नमाने पनि हटाउने 'भड्काउ भाषण' दिएका थिए।   

त्यसैको उपज- अहिले दिल्ली जलिरहेको छ। मुस्लिमहरुका घर जलाइएको, हिन्दुत्वको नारा दिइरहेका घरघरमा पसेर तोडफोड गरिहरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

भाइरल भएका भिडियोमध्ये मोदी सरकारको टाउको दुखाइ बनेको छ दिल्लीको अशोक नगरको दृश्य।

मंगलवार मुस्लिम समुदायको न्यून उपस्थिति रहेको अशोक नगर क्षेत्रमा हिन्दुत्व वकालत गर्दै युवाहरुको समूह पुग्यो। बस्ती तोडफोड भयो। मुस्लिम समुदायमाथि हातपात भयो। यसैबीच केही युवक त्यहाँ रहेको मस्जिदमा चढे र भत्काउन शुरु गरे। 'जय श्री राम' र 'हिन्दुओंका हिन्दुस्तान' भन्दै मस्जिदको 'मिनारेट' मा पुगेका ती युवाहरुले त्यहाँ 'हनुमानको झण्डा' फहराए।

भारतको राष्ट्रिय झण्डा बोकेर पहिला पुगेका युवाले 'मिनारेट' भत्काउन खोजे। तर नसकेपछि उनले हनुमानको झण्डा मस्जिदमा फहराए।

घटना भइरहेको बेलामा प्रहरी उक्त स्थानमा तैनाथ नरहेको बताइएको छ। पछि प्रहरीले ती क्षेत्रमा रहेका मुस्लिम समुदायलाई बाहिर निकालेको थियो।

दिल्लीमा मुस्लिममाथि आक्रमणको घटना बढेपछि कयौं मुसलमानहरु सुरक्षित स्थानको खोजीमा दिल्ली बाहिर पलायन हुन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell