
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८ औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलवारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहनेछन्।
विसं २०६८ को जनसंख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ। कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसंख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ।