PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मन्त्री रामवीर मानन्धरका 'सल्लाहकार' किशोरीमाथि यौन अपराधको अभियोगमा पक्राउ



सविन ढकाल

मन्त्री रामवीर मानन्धरका 'सल्लाहकार' किशोरीमाथि यौन अपराधको अभियोगमा पक्राउ
प्रतीकात्मक फाइल फोटो

काठमाडौं : बलात्कारको अभियोगमा प्रहरीले पक्रेको व्यक्ति बाहलवाला मन्त्रीका सल्लाहकार रहेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई नियन्त्रणमा लिएको हो। घले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार हुन्। पक्राउ परेपछि उनले आफू मन्त्रीको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए।

घलेले एक १७ वर्षीया किशोरी कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

कसरी भयो घटना?

गत माघ २७ गते ती किशोरी बनेपामा काठमाडौं आउने बस कुरेर बसिरहेकी थिइन्। घले पनि कामले बनेपा पुगेका थिए। उनी फर्किँदै गर्दा बाटोमा तिनै किशोरीलाई लिफ्ट दिएका थिए।

तर, उनले काठमाडौं आएपछि आफ्नै कोठामा लगेर उनलाई बन्धक बनाएको उजुरीमा उल्लेख छ। केही दिनसम्म थुनेर बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी छिन्। घलेका परिवार अमेरिका बस्दै आएका छन्। टोखामा फ्ल्याट भाडामा लिएका छन् उनले।

केही दिनसम्म उनले युवतीलाई बलात्कार गरेको खुलेको हो।

'उसले युवतीलाई अमेरिका पठाइदिन्छु भन्दै आश्वासन समेत दिएको देखिन्छ,' डिएसपी बोगटीले भने। युवती प्लस टूमा अध्यानरत छिन्।

तर, फागुन १ गते युवतीले मोबाइलबाट आफ्नो भिनाजुलाई खबर गरेपछि घटना प्रहरीकहाँ पुगेको थियो। ६ जनाको प्रहरीले दिनभर मोबाइल नम्बरलाई ट्र्याक गरेर युवतीलाई खोजी गर्‍यो।

'आफन्त आएर जानकारी दिएपछि हामीले घर खोजेर युवतीको उद्धार गरेका हौं। मोबाइल ट्र्याक गरेर पत्ता लग्यो,' डिएसपी बोगटीले भने।

पीडित युवती नावलिक हुन्। कानुनमा उमेर नपुगेको किशोरीसँग मञ्जुरीमा समेत यौन सम्बन्ध गर्नुलाई अपराधका रुपमा किटान गरिएको छ। घलेलाई प्रहरीले शरीर बन्धक तथा बलात्कार केसमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell