काठमाडौं : अमेरिकी जहाज कम्पनी बोइङको उत्पादन बोइङ '७५७-एस' सिरिजको जहाज नेपालबाट विस्थापित हुने भएको छ।
नेपाल वायुसेवा निगम (तात्कालिन शानेवानि) ले ३० वर्षअघि दुईवटा बोइङ (कर्णाली र गण्डकी) खरिद गरेको थियो। बेचिसकेका ती दुई जहाजका पाटपुर्जा खोलेर धमाधम छुट्याउने काम भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनाबाट छुट्याइएका पाटपुर्जा खरिदकर्ताले लगेपछि नेपालबाट बोइङ सम्झनामा मात्रै रहनेछन्।
दुई वर्षअघि निगमले निजी क्षेत्रको वायु सेवा कम्पनी बिबी एयरवेजलाई बिक्री गरेको 'कर्णाली' अमेरिकी कम्पनी एभेन्चर एभिएसनले खरिद गरेको छ भने निगमसँग हाल बाँकी भएको 'गण्डकी' अमेरिकी कम्पनी सिएसडीएस कम्पनीले खरिद गर्ने भएको छ।
बिबी एयरवेजले १.८ मिलियन अमेरिकी डलरमा 'कर्णाली' एभेन्चरलाई बिक्री गर्ने सम्झौता गरेको छ। ५.७ मिलियन डलरमा सिएसडीएससँग बिक्रीका लागि नेवानिले समझदारी गरिसकेको छ। सम्झौता हुन बाँकी छ। निगमले गत वर्ष बोइङ बेच्नुअघि मूल्यांकनका लागि २० हजार अमेरिकी डलर खर्चेर स्विटजरल्याण्डको फिनटेक कम्पनीबाट परामर्शदाता बोलाएको थियो।
नेपालमा बोइङ-७५७ ल्याइँदा नामै 'ड्रिमलाइनर' राखिएको थियो। कारण थियो, जहाजको उक्त मोडल त्यसबेला अत्याधुनिक र नौलो हुनु।
चार दशकअघि बोइङ नेपाल आउँदा
दक्षिण एशियाली मुलुकमध्ये बोइङ किन्ने नेपाल पहिलो मुलुक थियो। नेवानिले सन् १९७२ सेप्टेम्बर ९ बाट एक सय २३ सिट क्षमतायुक्त बोइङ-७२७ संचालनमा ल्याएको थियो।
उक्त बोइङ किनेर ल्याउँदा निगममा फ्रान्सको ब्यवस्थापन थियो। त्यो बेला महाप्रबन्धक रोबर्ट रेफेल थिए। तीनवटा इन्जिनयुक्त दुई जहाजमध्ये एउटाले सन् १९९३ अप्रिल २४ तारिखसम्म उडान गरेको थियो भने सन् १९७२ मे १६ मा ल्याइएको दोस्रो बोइङ-७२७ ले सन् १९९३ डिसेम्बर २४ सम्म उडान गरेको थियो।
ककपीटमा तीनजना चालकदल (क्याप्टेन, फर्स्ट अफिसर र फ्लाइट इन्जिनियर) हुनैपर्ने, मर्मत र सञ्चालन खर्च महंगो थियो। बोइङ-७२७ मा 'अपरेसन कस्ट' महंगो भएपछि निगमका पदाधिकारी उक्त विकल्प खोज्नुपर्ने निर्णयमा पुगेपछि ती जहाज बिक्री गरिएको थियो ।
निगमले पछि सन् १९८७ सेप्टेम्बर १९ मा फेरि अर्को बोइङ किन्यो। ल्याएपछि 'कर्णाली' नाम दिइएको बोइङ ७५७ 'एस' सिरिजको जहाज दुइजना मात्रै चालकदल भए चलाउन सकिनेसँगै त्योबेला अत्याधुनिक थियो। त्यसको वर्षदिनपछि १९८८ सेप्टेम्बर १ मा निगमले फेरि त्यही सिरिजको दोस्रो बोइङ 'गण्डकी' खरिद गरेको थियो।
त्यतिखेर निगमका कार्यकारी अध्यक्ष थिए इश्वरीलाल श्रेष्ठ र महाप्रबन्धक बलिराम सिंह। निगमले दोस्रोपटक ल्याएको बोइङ 'गण्डकी' कार्गो र पेसेन्जर बोक्ने 'कम्बी' जहाज थियो। त्यतिखेर कम्बी जहाज हङकङबाट ब्रिटिस गोरखाबाट आउने र नेपाल आर्मीबाट लेबनान मिसन जाने-आउने यात्रु र सामान ओसारपसारमा प्रयोग भएको थियो।
अहिले निगमले बिक्री गर्न लागेको 'गण्डकी' बोइङ कम्पनीले उत्पादन गरेमध्ये पहिलो र अन्तिम 'कम्बी' जहाज रहेको निगमका पूर्वक्याप्टेन बताउँछन्। निगमले छोटो अवधिमै थप पैसा खर्च गरेर कम्बी जहाज प्रयोगबाट हटाएको थियो।
उत्पादन गरेको समयदेखि बोइङ कम्पनीले एक हजार ४९ वटा बोइङ-७५७ 'एस' बिक्री गरेको थियो। नेपालमा बोइङ आइसकेपछि निगमले पश्चिमी मुलुकका लण्डन, पेरिस, फ्र्याङ्कफर्ट र दुबई लगायतका गन्तव्यमा उडान गरेको थियो भने सार्क मुलुक र दक्षिण एशियामा माले, कोलम्बो, ढाका, कराँची, म्यानमार, सिंगापुर, बैंकक, हङकङ, साङ्घाइ, ओसाका, दिल्ली, कोलकाता ,बंगलुरू र मुम्बई लगायतका सहरमा उडान भरेको थियो।
रोल्स रोयस इन्जिनयुक्त जहाजको उडान अन्यका तुलनामा राम्रो रहेको पूर्व वरिष्ठ क्याप्टेन कृष्णविक्रम क्षेत्री अझै सम्झन्छन्। जहाज ल्याएको ३० वर्ष बितिसक्दा पनि एउटै पनि मेजर समस्या नआएको उनी बताउँछन्। बोइङ-७२७ को ककपीटमा तीनजना चालकदल हुँदा गाह्रो भएपछि निर्माता कम्पनीले पाइलट दुईजनामात्रै भए हुने ७५७-'एस' उत्पादन गरेको थियो।
कम्पनीका अनुसार बोइङ-७५७ सेमी अटोमेटीक जहाज हो। टेक-अफ भएपछि स्वचालित रूपमा ल्याण्डीङ हुने भएपनि बोइङमा कुनै बेला पाइलटले आफ्नो इच्छाअनुसार सहजै इन्टरभेन गरेर ल्याण्ड गर्न सकिने फङ्सन थियो।
पत्राचारको भरमा मर्मत सम्भार
बोइङ उत्पादक कम्पनीले जहाज बेच्दा नै आवश्यक पैसा लिइसकेको हुन्थ्यो। तर उसको आफ्टर सेल्स सर्भिस भने भरपर्दो थियो। टेलेक्सबाट खबर पाएपछि आवश्यक ठाउँमा कम्पनीले प्राविधिक पठाउँथ्यो।
'३० वर्षको अवधिभर बोइङमा प्राविधिक समस्या आउँदा एउटा टेलेक्स-मेल पठाउँदा उतैबाट सजिलै एडभाइस आउँथ्यो, अब अहिले एयरबसमा समस्या आयो भने पहिल्यै बैंकमा पैसा पठाउनु पर्छ, त्यसपछि कम्पनीले आवश्यक व्यवस्थापन गर्छ,' निगमका एक प्राविधिक इन्जिनीयर भन्छन्। एयरबसको तुलनामा बोइङको 'आफ्टर सेल्स सर्भिस' धेरै राम्रो रहेको बताउँदै उनले भने,'एयरबसले सुरुमा जति नै कम पैसा लिएर, कमिसन दिएर जहाज बेच्छ नि पछि पाइलट तालिम, मर्मत सम्भारमा चर्कै पैसा असुल्छ भन्ने कुरा पनि सुनिँदै आएको छ।'
उनका अनुसार बोइङ-७५७ मा एक लाख आठ हजार आठ सय ६२ किलो तौलसम्म भार धान्न सक्ने क्षमताको थियो। एक सय ७४ जना इकोनोमी क्लास र १६ वटा बिजनेस क्लासको उडान गरिएको थियो। बोइङलाई पुरै इकोनोमी क्लासमा फ्लाइट गराउँदा दुई सय २० यात्रु बोकेर उडान गर्न सकिन्थ्यो।
सन् १९९४ ताका आयरल्याण्डबाट बोइङ-७६७ ल्याउने प्रयास गरिएको थियो। दुई सय ७० यात्रु क्षमताको जहाज उडानका लागि निगमले पाइलट पठाएर तालिम पनि गराएको थियो। सरकारी स्वामित्वको संस्थानमा जहाज खरिदको निर्णय विवादमा पर्यो। त्यो बेला लाउडा र धमिजालगायत विभिन्न काण्ड हुन थालेपछि जहाज नेपाल ल्याइएन, उतै थन्क्याइयो।
त्यसपछि भने निगमले जहाज 'लिज' मा ल्याउन थालेको थियो। एसियाभरमै पहिलोपटक बोइङ-७५७ भित्र्याउने कम्पनी निगम नै थियो। बोइङ ल्याउनुअघि निगममा कार्यरत क्याप्टेन अमेरिका गएर तालिम लिइ आफैं जहाज उडाएर ल्याएका थिए। स्रोतका अनुसार त्यसबेला सरकारले ५५ हजार मिलियन डलरको लागतमा बोइङ खरिद गरेको थियो।
'हामीले बोइङको पहिलो उडान गर्दाखेरी फ्र्याङ्कफर्ट, अमेरिका, दुबई, लण्डन, पेरिस, साङ्घाइ, ओसाका र सिंगापुर लगायतका गन्तब्यमा उडान भरेको थियो,' पूर्व वरिष्ठ क्याप्टेन क्षेत्री स्मरण गर्छन्, 'दुबई उडान गर्दा बोइङ हेर्नेको लर्कै हुन्थ्यो। ओहो! बोइङ-७५७ उडान गर्ने नेपाल कस्तो धनी मुलुक भनेको पनि सुन्न पाइन्थ्यो।'
'कम्बी' जहाजलाई महंगो लागत
दोस्रो बोइङ-७५७ गण्डकीको खरिद 'कर्णाली' को तुलनामा महंगो परेको थियो। त्यो बेला 'पार्टनरसिप प्रोग्रेस नेपाल एयरलाइन्स एण्ड बोइङ' को नारा दिएर इण्डियन मिडियामा विज्ञापन दिएर निगमको बजारीकरण गरिएको थियो। त्यो जहाज ल्याएको केही वर्ष पनि उपयोग भएन।
ककपीट पछाडि ठूलो 'कार्गो डोर' थियो। ठूलो कार्गो हाल्न र जहाजभित्र पनि कार्गोको कन्टेनर गुड्ने पाङ्ग्रा राखिएको थियो। त्यसपछि पुनः पैसा थपेर कम्बी हटाइएको थियो। अब यो जहाजमा कम्बी छैन।
निगमले अन्तर्राष्ट्रिय उडान क्षमता विस्तारका लागि सन् २०१५ मा आठवटा विजनेस क्लास र एक सय ५० वटा इकोनोमी क्लाससहित एक सय ५८ सिटे दुईवटा एयरबस-३२० ल्याएको थियो। एयरबसबाटै अन्तर्राष्ट्रिय उडान क्षमता विस्तार गर्नका लागि निगमले गत वर्ष असार र साउनमा दुई सय ७५ सिटे दुईवटा एयरबस-३३० ल्याएर भारत, मलेसिया, थाइल्याण्ड, कतार, जापान लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्दै आएको छ।