PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सेयर बजारको कारोबारमा नयाँ रेकर्ड : ४ अर्ब नाघ्यो किनबेच



पहिलोपोस्ट

सेयर बजारको कारोबारमा नयाँ रेकर्ड : ४ अर्ब नाघ्यो किनबेच

काठमाडौं : सेयर बजारले बुधबार नयाँ  रेकर्ड बनाएको छ। बजारमा अहिलेसम्मकै उच्च चार अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको हो। सूचक पनि ५० अंकले बढेको छ।

बुधबारबाट करेक्सन सुरु हुन्छ भन्ने विश्लेषण सुरु भइरहेका बेला नेकपाले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न नेकपाले निर्णय गरेपछि बजारले फेरि छलाङ मारेको ब्रोकर तथा लगानीकर्ताहरु बताउँछन्।

अर्थमन्त्री खतिवडाले लगानीकर्ताले सेयर बजार बिरोधिका रुपमा लिने गरेका छन्। खतिवडा राष्ट्रियसभामा नदोहोरिने सम्भावना बढेका कारण बजारमा कारोबार रकम र सूचक दुबै उक्लिएको विश्लेषण गरिएको छ।

यो साताको चार कारोबार दिनमा सोमबार बाहेक बजारले छलाङ मारिरहेको छ। सोमबार दुई अंक हाराहारीले बजार घटेको थियो। बुधबार समेत गरेर बजार चार कारोबार दिनमा बजार १६३ अंकले उक्लिसकेको छ।

कुल १८० कम्पनीको कारोबार भएकोमा ८ कम्पनीको कारोबार १० करोड रुपैयाँ माथि छ। नेपाल लाफइको २१ करोड ९९ लाख रुपैयाँ, शिवम् सिमेन्टको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख,  हिमालयन डिस्टीलरीको १६ करोड ७१ लाख, नेको इन्स्योरेन्सको ११ करोड २४ लाख, नेपाल इन्स्योरेन्सको १० करोड ९३ लाख, गुँरास लाइफको १० करोड ४१ लाख र एनआइसी एसियाको १० करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

एभरेष्ट बैंक कन्भर्टिभल, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपालको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यसैगरी कालिका पावर, गुँरास लाइफ, राष्ट्रिय बीमा कम्पनी संस्थापक, सिभिल लघुवित्त र जोशी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले उक्लिएको छ।

बजारका सबै उपसूचकहरु हरियो भएका छन्। जीवन बीमा ५७१ अंक, निर्जीवन २३३ अंक, बाणिज्य बैंक ५० अंकले बढेको छ। केही समय रातो देखिएको ब्यापार समूह पनि अन्तत: हरियो भएको छ।

ब्रोकरहरुका अनुसार, बुधबार कारोबार रकम बढ्नुको प्रमुख कारण अर्थमन्त्री राष्ट्रिय सभामा नदोहोरिने नेकपाको निर्णय हो।

'चार अर्ब रुपैयाँभन्दा बढिको कारोबार हुनु भनेको सबै नयाँ पैसा आएर भएको भन्ने होइन' ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले भने, 'पुरानो पैसा पनि बजारमा थियो। बीचमा बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिएर कारोबार रकममा बृद्धि भएको छ।'

लगानीकर्ता अम्बिकाप्रसाद पौडेले सेयर ब्रोकरसँग रहेको मार्जिन लेन्डिङको पैसा पनि प्रयोग हुन थालेकाले कारोबार रकम बढेको बताउँछन्। रानाभाटका अनुसार, सेयरको सेटलमेन्टका लागि ब्रोकरको पैसा प्रयोग भइरहेको छ।

जस्तो ग्राहकले सेयर खरीदका लागि धमाधम अर्डर दिन्छ। ब्रोकरले किनिदिन्छन्। लगानीकर्ताले त्यो पैसा तत्कालै तिर्छ भन्ने छैन। उसले आफ्नो क्षमताभन्दा बढि सेयर किनिरहेको हुन्छ।

सेटलमेन्ट नगर्ने हो भने ब्रोकर आउट हुन्छन्। तर अहिले कोही पनि ब्रोकर आउट भएका छैनन्। 'यसको अर्थ हो ब्रोकरसँग भएको पैसा पनि सेटलमेन्टका लागि प्रयोग भएको छ' रानाभाटले भने, 'यसबाहेक चुप लागेर बसेका संस्थागत लगानीकर्ताले पनि अहिले बजार प्रवेश गरेका छन्।'

जस्तो केही समयदेखि सामूहिक लगानी कोष, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनीहरु चुप लागेर बसेका थिए। अहिले उनीहरु बढ्दो बजारमा प्रवेश गरेका छन्। बढ्दो बजारमा एकै पटक सबैको प्रवेश हुँदा कारोबार रकम अहिलेसम्मकै उच्च भएको हो।

अहिले लगानीकर्ताले पुरानो सेयर बेचेर नयाँ कम्पनीको उठाइरहेका छन्। जस्तो अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेचेर त्यति नै पैसाको नबिल उठाइरहेका छन्। उसले चार्टर्ड एक करोडको बेचेर नबिल त्यतिकै उठायो भने कारोबार रकम दुई करोडको देखिन्छ।

ठूला लगानीकर्ताहरुले झ्यामझुम बजार प्रवेश गरेपछि साना पनि त्यसमा तानिएका छन्। 'हर्ड इफेक्ट' का कारण सबैले एकै पटक बजार प्रवेश गर्दा कारोबार रकम उच्च भएको ब्रोकरहरु बताउँछन्।

अहिले बैंकहरुले सेयरमा लगानी गर्नलाई पैसा सजिलै दिन थालेका छन्। यसबाहेक बढ्छ भन्ने मनोविज्ञानका कारण सहकारी संस्थाबाट ऋण लिएर पनि सेयर किन्ने बढेका छन्।

यसबाहेक कोरोना भाइरस प्रभाव पनि बजारमा परेको देखिन्छ। कोरोना भाइरसका कारण चीनसँगको ब्यापार रोकिएको छ। ब्यवसायीहरुले ब्यापार रोकिएपछि त्यो पैसा सेयर बजारमा लगाउन थालेका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell