
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्षका लागि निलम्वित गरेको छ।
एन्फाले शहीद स्मारक ए डिभिजन लिगका क्रममा प्रतियोगिताको नियमावली २१ (७) विपरित कार्य गरेको भन्दै निलम्वन र जरिवानको सजाय सुनाएको हो। श्रेष्ठले हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीचको खेल अघि शेर्पाका गोलकिपरसँग फिक्सिङको प्रयास गरेको चर्चा चलेको थियो।
यस विषयमा फागुन २ गते एन्फाको अनुशासन कमिटीको बैठक बसेको थियो। जसले श्रेष्ठलाई २ वर्ष एन्फाको आयोजना या स्वीकृतिमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्वन गरेको एन्फाले जनाएको छ। त्यस्तै उनलाई ५० हजार जरिवाना तोकेको छ।
त्यस्तै हिमालयन शेर्पा क्लबका गोलकिपर मिनबहादुर बस्नेतलाई एकपटक सुध्रने मौका दिएको भन्दै चेतावनी पत्र दिएको छ।
त्यस्तै हिमालयन शेर्पाकै टिम म्यानेजर बिजेन्द्र पुडासैनीलाई लिगको क्रममा नियमावलि २१ (७) तोडेको भन्दै ३० हजार जरिवाना र एन्फाको आयोजना या स्वीकृतिमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिमा सहभागी हुन नपाउने गरी निलम्वन गरको एन्फाले जनाएको छ।