PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाल-पाकिस्तान परामर्श संयन्त्रको बैठक : सार्कलाई गति दिन पाकिस्तानको आग्रह, नेपालको मौनता



विधुर ढकाल

नेपाल-पाकिस्तान परामर्श संयन्त्रको बैठक : सार्कलाई गति दिन पाकिस्तानको आग्रह, नेपालको मौनता
Photo: @ForeignOfficePk

काठमाडौं : नेपाल पाकिस्तान द्वीपक्षीय राजनीतिक परामर्श संयन्त्रको चौथो बैठक पाकिस्तानको राजधानी इस्लामावादमा भएको छ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र पाकिस्तानका परराष्ट्र सचिव सोहिल मोहम्मदले नेतृत्व गरेका थिए। बैठकमा दुई देशबीचको आपसी साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वार्तामा शिक्षा, खेलकुद, संस्कृति, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप उचाइमा कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। वार्तामा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाठ मनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

त्यस्तै दुई देशबीच जलवायु परिवर्तन लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रय मुद्दमा मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो।

इस्लामावाद पुगेका परराष्ट्र सचिव वैरागीले त्यहाँका परराष्ट्र सचिव मखदुम शाह महमुद कुरेसीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा सचिव बैरागीले काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवादमा पाकिस्तानको तर्फबाट सहभागिताका लागि आग्रह गरेका थिए।

यसैबीच भेटमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनको विषयमा छलफलसमेत भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। यद्यपि, परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सार्कको नाम उल्लेख गरिएको छैन।

उता पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको स्टेट्मेन्टमा भने सार्कको विषय उल्लेख गरिएको छ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार त्यहाँका परराष्ट्र मन्त्री कुरेसीले सार्कको अध्यक्षको हैसियतमा रहेको नेपालको कामको प्रशंसा गर्दै सार्कलाई पुन: गति दिन पहल गर्न अनुरोध गरेको उल्लेख छ।

विदेशमन्त्री कुरेसीले सार्क क्षेत्रीय साझेदारी र यस क्षेत्रका जनताको साझा फाइदाका लागि बनाइएको सार्कलाई पुन: गति दिनुपर्ने बताएका थिए।

विगत पाँच वर्षदेखि सार्क गतिहीन बनेको छ। २०१४ मा नेपालमा आयोजित सार्क शिखर सम्मेलनपछि अर्को सम्मेलन हुन सकेको छैन।

२०१४ को नोभेम्बर २६ र २७ मा काठमाडौंमा १८ औं शिखर सम्मेलन भएको थियो। सोही सम्मेलनले १९ औं शिखर सम्मेलन आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिएको थियो।

सोही अनुरुप १९ औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा २०१६ को नोभेम्बर १५-१९ सम्म आयोजना गरिने तय भएको थियो। तर, यो सम्मेलन हुन सकेन।

सन् २०१६ को जनवरी २ मा भारतको पठानकोट एयरफोर्स स्टेसनको वेस्टर्न एयर कमाण्डमा चार जना आक्रमणकारीले आक्रमण गरे। आक्रमणमा घटनास्थलमै दुई सैनिक जवान र चार आक्रमणकारीको मृत्यु भएको थियो। यो आक्रमणमा पाँच आक्रमणकारी एक सर्वसाधारण तथा सात जना सुरक्षा अधिकारीहरुको मृत्यु भएको थियो।

आक्रमणको भारतीय पक्षले पाकिस्तानको हात रहेको आरोप लगाएको थियो। पठानकोट आक्रमणको ९ महिना पछि पुन: भारतको उरीमा आक्रमण भयो।

सेप्टेम्बर १८ मा भएको आक्रमणमा १७ भारतीय सैनिकको मृत्यु भयो। जम्मु कश्मिरको उरीमा रहेको भारतीय सैनिक क्याम्पमा पसेर आतंकवादी समूहले आक्रमण गरेको थियो। यससँगै दुई देशबीचको सम्बन्ध तनावमा छ।

यही आक्रमणपछि इस्लामावादमा आयोजना गर्न लागिएको सार्कको १९ औँ शिखर सम्मेलन स्थगित भयो। घटनाको १० दिनपछि भारतले आधिकारिक रुपमा पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा सहभागी नहुने सन्देश पठायो।

पठानकोट र उरी आक्रमणले अनिश्चित बनेको सार्कको शिखर सम्मेलन सन् २०१९ को फेब्रुअरीमा भएको पुलवामा आक्रमणले थप अनिश्चित बनायो। त्यस यता सार्कका अधिकारीहरु छलफलमा जुट्न सकेका छैन।

गत वर्ष न्यूयोर्कमा राष्ट्रसंघीय महासभा साइड लाइनमा भएको मन्त्रीस्तरीय बैठकमा एकसाथ पाकिस्तान र भारतका समकक्षीहरु सहभागी समेत भएनन्। अध्यक्षका हैसियतले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बैठक आह्वान गरेका थिए।

हरेक वर्ष महासभा साइड लाइनमा सार्क मन्त्रीस्तरीय बैठक हुँदै आएको छ, त्यो पनि औपचारिकता देखाउनका लागि मात्र।

सो बैठकमा बैठकमा श्रीलंका र बंगलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए। कार्यव्यस्तता भन्दै भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell