
काठमाडौं : अवैध सुन नियन्त्रणमा लिएर बाँडफाड गर्ने १६ जना प्रहरीलाई निलम्वन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।
बुधवार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो। सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको समूहले केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट भित्रिएको अवैध सुन बाँडफाड गरेको आयोगमा उजुरी परेपछि छानविन सुरु गरेको हो।
निलम्बनको सूचीमा प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, जवान युवराज खरेल, जवान भविलाल रुम्बा लामा, जवान रामचन्द्र विक, जवान रीता चौधरी, जवान मनोज आले, जवान छेक्यु डोल्मा मोक्तान, जवान तारा बहादुर प्रजा र कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन्।
निरीक्षक नेपालको समूहले पुस ११ गते गाडी चालक फुर्वा पासाङको साथबाट ४ सय २२ ग्राम सुन लिई चालकलाई छोडेर बरामद सुन बाँडफाड गरेको आयोगले जनाएको छ। आयोगले पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले पद निलम्बन गर्न पत्र लेखेको हो।