PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

ट्रम्पको भारत भ्रमण : राष्ट्रपतीय निर्वाचनका लागि रुष्ट प्रवासी भारतीय फकाउने, चिनियाँ प्रभाव रोक्ने



विधुर ढकाल

ट्रम्पको भारत भ्रमण : राष्ट्रपतीय निर्वाचनका लागि रुष्ट प्रवासी भारतीय फकाउने, चिनियाँ प्रभाव रोक्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको दुई दिने भ्रमण सकेर स्वेदश फर्किएका छन्।

दक्षिण एसियाको ठूलो अर्थतन्त्र भारतमा पुगेर उनले क्षेत्रीय शान्तिका कुरादेखि इन्डो प्यासिफिक क्षेत्रको सहकार्यको विषयमा चर्चा गरे।

अमेरिका र भारतबीच तीन विलियन डलर बराबरको रक्षा सम्झौता भएको छ। सम्झौताअन्तर्गत अमेरिकामा बनेको अपाचे र एमए-६० रोमियो हेलिकोप्टर भारतले किन्ने छ।

भ्रमणका क्रममा ट्रम्पले क्षेत्रीय साझेदारीको सन्देश दिन खोजे। उनले दुई पटक पाकिस्तानको नाम लिएर अमेरिका र पाकिस्तानको सम्बन्ध राम्रो रहेको सन्देश दिए। ट्रम्पको भारत भ्रमणलाई उनको दुई योजना अनुरुप भएको आंकलन गरिएको छ।

राष्ट्रपतीय निर्वाचनको प्रचार

यतिबेला ट्रम्प आफ्नो चुनावी अभियानमा जुटेका छन्। २०२० को नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिएका छन्। यस्तोमा उनले भारत भ्रमणलाई आफ्नो चुनावी अभियानमा लक्षित गरेका छन्।

अमेरिकामा हाल ४४ लाख भारतीय मुलका अमेरिकी नागरिकहरु छन्। क्यालिफोर्निया, न्यूयोर्क, टेक्सास, न्यूजर्सी जस्ता महत्त्वपूर्ण राज्यमा भारतीय मुलका अमेरिकी मतदाताहरु निर्णायक रुपमा रहेका छन्। यस्तोमा अमेरिकी राष्ट्रपति ट्रम्पले भ्रमणलाई ती मतदाता रिझाउने अस्त्रका रुपमा उपयोग गरेको विश्लेषण गरिएको छ।

ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि 'अमेरिका फस्ट' नीति लिएर पहिलो पटक ह्वाइट हाउस प्रवेश गरेका थिए। ह्वाइट हाउस प्रवेशसँगै उनले अमेरिकाले दिँदै आएको एच-१ बी भिसामा कडाइ गरे। यसको असर भारतीय नागरिकहरुमा समेत पर्‍यो।

२०१८ मा ट्रम्प प्रशासनले एच-१ बी भिसा दर्ता प्रक्रियालाई परिवर्तन गर्दै अमेरिकी डिग्री होल्डरलाई प्राथमिकतामा राखेको थियो। 'वाइ अमेरिकन हायर अमेरिकन' नीति अनुरुप ल्याइएको यस नीतिले भारतीय शैक्षिक संस्थाबाट उच्च शिक्षा लिएका आइटी क्षेत्रका विद्यार्थीहरु अमेरिका प्रवेशको बाटो असहज बन्यो।

अमेरिकाले हरेक वर्ष ६५ हजार एच-१ बी भिसा दिँदै आएको थियो। ट्रम्प प्रशासनको नीति अनुसार अमेरिकी शैक्षिक संस्थाबाट अध्ययन गरेकाहरु प्राथमिकतामा परे। यसले ट्रम्प प्रशासन माथि भारतीय मुलका अमेरिकीहरुको विश्वास गुमाउँदै गएको थियो।

२०२० मा पनि एच-१ बी भिसा पाउने भारतीयहरु घट्ने इकोनोमिक्स टाइम्सले जनाएको छ। नयाँ दर्ता प्रक्रियामा ढिलाइ हुँदा यसको मारमा अमेरिकी आइटी कम्पनीहरु परेका छन्।

एच-१बी भिसा दिने निकाय अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले अप्रिलबाट भिसा प्रक्रियामा परिवर्तन गर्दैछ। जसअन्तर्गत रोजगारदाताले अग्रिम रुपमा कामदारको नाम दर्ता गराउनुपर्ने छ।

ट्रम्प प्रशासन आएसँगै भारतीयहरुको भिसा रिजेक्सन दर बढिरहेको छ। अमेरिकी टेक्नो कम्पनीहरु गुगल, फेसबुक, एप्पलजस्ता कम्पनीहरुमा भारतीय कामदार संख्या घट्दै गएको छ। सन् २०१५ मा रिजेक्सन दर ६ प्रतिशत थियो, जुन २०१९ मा पुग्दा २४ प्रतिशत पुगेको छ। सन् २०२० मा अझै बढ्ने अनुमान गरिएको छ।

यसले भारतीय मुलका मतदाताहरुमाझ ट्रम्प प्रशासनप्रति रोष प्रकट गरेको छ। यो आक्रोशलाई मथ्थर पार्न ट्रम्पले भारत भ्रमणलाई उपयोग गरेका छन्।

भू-राजनीतिक आयाम

अमेरिकी राष्ट्रपति ट्रम्पको यो भ्रमणभित्रको भूराजनीतिक आयाम पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।

अमेरिकी रक्षा नीति 'इन्डो प्यासिफिक स्ट्राटेजी'को महत्त्वपूर्ण साझेदार हो भारत। यस भ्रमणका क्रममा ट्रम्प र मोदीबीच अमेरिका, भारत, अष्ट्रेलिया र जापानबीचको साझेदारी र मरिनटाइम सेक्युरिटीको विषयमा छलफल भएको ट्रम्पले संयुक्त प्रेस कन्फ्रेन्समा बताएका थिए।

'तपाईँहरु यसलाई एउटा बैठक भन्नुहोला। तर, यो बैठकभन्दा माथि उठेको छ। यसले स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्रको प्रत्याभूतिका लागि प्रतिआतंकवाद, साइवर तथा मरिनटाइम सेक्युरिटीका क्षेत्रमा साझेदारीलाई बढावा दिएको छ,' मोदीसँगको भेटपछिको पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए। उनले प्रविधिको क्षेत्रमा फाइभ जी नेटवर्क निर्माणमा अमेरिकाले जापान अष्ट्रेलियासँग मिलेर काम गरिरहेको भन्दै अप्रत्यक्ष रुपमा चिनियाँ हुवावेको फाइभ जीको बजारमा आक्रमण समेत गरे।

पछिल्लोसमय विश्व अर्थतन्त्रमा अगाडि बढिरहेको चीनलाई रोक्नका लागि अमेरिकाले यस क्षेत्रमा उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। उसले अगाडि सारेको इन्डो-प्यासिफिक स्ट्राटेजीमा नेपाललाई पनि तान्ने प्रयास गरिरहेको छ। उसको रक्षा प्रतिवेदनमा नेपाल पनि यस रणनीतिमा नयाँ सदस्यको रुपमा व्याख्या गरिएको छ। यद्यपी नेपालले आधिकारिक रुपमा सदस्यता लिएको स्वीकार गरिसकेको छैन।

२०१८ मा अमेरिका पुगेका नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा अमेरिकी स्टेट सेक्रेटरी माइक पोम्पिओले यस विषयमा चर्चा गरेका थिए। जसको जानकारी अमेरिकी विदेश मन्त्रालयले दिएको थियो। त्यतिबेला अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक क्षेत्रको केन्द्रमा रहेको बताएको थियो।

भारतीय भूमिबाट ट्रम्पले अर्को सन्देश पनि दिएका छन्- पाकिस्तानबिना दक्षिण एसियाको शान्ति र स्थायित्व हुन सक्दैन्।

पाकिस्तानलाई शत्रु ठान्ने भारतीय भूमिमा पुगेर उनले पाकिस्तानसँग सम्बन्ध राम्रो भएको र आतंकवादविरुद्ध लड्न अमेरिका र पाकिस्तान मिलेर काम गरिरहेको बताएका थिए। चीनसँग नजिक रहेको पाकिस्तानलाई चिढ्याउन ट्रम्पले पनि चाहेनन्। भारतीय भूमिमा पुगेर पाकिस्तानलाई सम्बोधन गरी नटाढिएको सन्देश दिए।

यसभित्र ट्रम्पको भित्री चासो भनेको यस क्षेत्रमा आफ्नो प्रभावलाई कायम राख्दै चिनियाँ प्रभावलाई रोक्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell