कैलाली : थ्री स्टार क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधवार भएको दोस्रो क्वाटरफाइनलमा जित हात पार्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो।
पहिलो चरणमा बाई पाएर सोझै क्वाटरफाइनल पुगेको थ्री स्टारले सिमराको नव जनजागृती क्लबलाई २-० ले हरायो। ललितपुको क्लब थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक/एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गर्यो। खेलको ८० औँ मिनेटमा निशान खड्काको पासमा संजोगले हेडिङमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए।
त्यसको १ मिनेटमै आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे।
खेलको म्यान अफ द म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिएका छन्। उनले नगद १० हजारसहित ट्रफी पाए।
खेलपछि प्रतिक्रिया दिँदै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिमले सोचेभन्दा राम्रो खेलेका कारण शुरुमा गोल हुन गाह्रो भएपनि पछि गोल हुँदा जित हात पारेको बताए।
अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिहीवार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन्।