PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

विलासी गाडीको आयात ह्वात्तै घटेपछि लक्ष्य भन्दा ४६ प्रतिशत कम राजस्व संकलन



राधेश्याम पटेल

विलासी गाडीको आयात ह्वात्तै घटेपछि लक्ष्य भन्दा ४६ प्रतिशत कम राजस्व संकलन

वीरगंज : विलासी गाडीको आयात ह्वात्तै घटेपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारको राजस्व संकलन प्रभावित भएको छ। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म लक्ष्यभन्दा २० अर्ब कम राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी जगदीश पुर्बेका अनुसार पछिल्लो ७ महिनामा लक्ष्यको ४६ प्रतिशत कम राजस्व संकलन भएको छ। कार्यालयले चालु आव २०७६/०७७ को लागि साउनदेखि माघसम्म भन्सार महसुलतर्फ १९ अर्ब २२ करोड ९० लाख, भ्याटतर्फ १९ अर्ब ४० करोड ६ लाख, अन्तशुल्कतर्फ ३ अर्ब ३५ करोड ८ लाख गरी कुल ४१ अर्ब ८८ करोड ५ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य पाएको थियो। जसमा ५३ दशमलव ६८ प्रतिशत अर्थात २२ अर्ब ४८ करोड २४ लाख रुपैयाँ राजस्व मात्रै संकलन भएको उनले बताए।

चालु आवको ७ महिनामा कार्यालयले भन्सार महसुलतर्फ १० अर्ब १ करोड ३५ लाख, भ्याट तर्फ १० अर्ब ६२ करोड ९६ लाख, अन्तशुल्कतर्फ १ अर्ब ६१ करोड, सडक निर्माण दस्तुरतर्फ १२ करोड ९१ लाख ८७ हजार राजस्व असुली गरेको हो। विलासी गाडी, ट्रेडिङका सामान लगायतको आयातमा गिरावट आएपछि राजस्व संकलन ओरालो लाग्दै गएको छ।

भन्सार कार्यालयले चालु आवको गत साउनमा कुल ३ अर्ब ३६ करोड १२ लाख लक्ष्य पाएकोमा सय दशमलव ३६ प्रतिशत अर्थात ३ अर्ब ३७ करोड ३२ लाख, भदौमा कुल ४ अर्ब २० करोड ४ लाख लक्ष्य पाएकोमा ८० प्रतिशत अर्थात ३ अर्ब ३८ करोड १६ लाख, असोजमा ४ अर्ब २० करोड ४ लाख लक्ष्य पाएकोमा ७० प्रतिशतले २ अर्ब ९३ करोड १७ लाख र कात्तिकमा ३ अर्ब २८ करोड ९६ लाख लक्ष्य पाएकोमा ९९ प्रतिशतले ३ अर्ब २५ करोड ४ लाख राजस्व संकलन भएको छ।

त्यसैगरी, कार्यालयले मंसिरमा भन्सार कार्यालयले ३ अर्ब ३३ करोड ५५ लाख राजस्व संकलनको लक्ष्य पाएकोमा १०५ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ८३ लाख, पुसमा ३ अर्ब २६ करोड ६४ लाखको लक्ष्य पाएकोमा ९० प्रतिशतले २ अर्ब ९४ करोड ३७ लाख र माघमा ३ अर्ब १२ करोड ३ लाख लक्ष्य पाएकोमा ९० प्रतिशतले ३ अर्ब ८ करोड ३३ लाख रुपैयाँ राजस्व असुली गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell