PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एसिसी इस्टर्न रिजन टी-२० मा च्याम्पियन हुने नेपालको लक्ष्य, डर कोरोनाको



मुकुन्द घिमिरे

एसिसी इस्टर्न रिजन टी-२० मा च्याम्पियन हुने नेपालको लक्ष्य, डर कोरोनाको

काठमाडौं : एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको खेल खेल्न नेपाली टोली बिहीवार थाइल्यान्ड जाँदैछ। एसियन कपको रोडम्यापका रुपमा लिइएको प्रतियोगितामा सहभागी हुने टोलीलाई बुधवार नेपाल क्रिकेट संघ क्यानले बिदाइ गरेको छ।

केही हप्ता अघि एकदिवसिय फर्म्याटमा ओमन र अमेरिकासँग खेलेको नेपाली टोलीले यसपाली टी-२० का लागि युवा खेलाडी बाहुल्य रहेको टिम थाइल्यान्ड जाँदैछ। नेपाली टिमको लक्ष्य प्रतियोगिताको च्याम्पियन बन्ने भए पनि कुनै टिमलाई अबमुल्यन नगरेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले बताए।

‘टी-२० मा प्रतिद्वन्दीलाई कमजोर आक्न मिल्दैन। जे पनि हुन सक्छ। ओमनकै उदाहरण दिने हो भने पनि टी-२० मा कुनै पनि कुरालाई कमजोर आँक्न नहुने देखिन्छ। हाम्रो ब्यालेन्स राम्रो छ। त्यही अनुसार प्रदर्शन गर्छौं भन्ने छ’, मल्लले नेपाली टिमको तयारीबारे भने, ‘तयारी राम्रो भयो। अलि फरक फर्म्याटमा भयो। एकदिवसीय खेलिरहेका थियौं। टी २० मा खेल्नुपर्ने भयो। जहाँसम्म लाग्छ खेलाडीहरु पनि तयार छन्। लक्ष्य क्वालिफाई हुने नै हो।’

नेपाली टिमका प्रशिक्षक जगत टमाटाले अहिले टिममा युवा खेलाडीको बाहुल्यता रहेको बताउँदै अनुभव र नयाँ जोसको मिश्रण रहेकोले टिम राम्रो रहेको प्रतिकृया दिए। 

डर कोरोनाको

एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटको तालिका परिमार्जन भएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार पछिल्लो समय चीनबाट शुरु भएको कोरोना भाइरसको प्रभावले प्रतियोगिता नै हुने या नहुनेमा अन्योल थियो। तर, पछिल्लो समय एसिसीले स्वास्थ्यसम्बन्धी समन्वय गरेरै खेल गराउने निर्णय गरेको प्याकुरेलले बताए।

‘हप्तादिन अघिसम्म त प्रतियोगिता नै रद्द होला कि जस्तो अवस्था थियो। पछि स्वास्थ्यको हिसाबमा सुरक्षित नै रहने भएपछि प्रतियोगिता गर्ने एसिसीले निर्णय गरेको हो,’ उनले भने।

नेपाली टिमले होटल र मैदान बाहेक अन्त जान नपर्ने हुँदा असुरक्षित नहुने भन्दै एसिसीले प्रतियोगिता निर्धारित मितिमै गर्ने निर्णय गरेको उनले बताए।

चीन, थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपालले इस्टर्न रिजन पुरुष टी-२० खेल्ने तालिका रहे पनि अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने बताएका थिए। यी देशहरुले सहभागिता नजनाउनुको कारण कोरोना भाइरसको प्रकोप भएको बताइएको छ।

एसिसीले अघिल्लो हप्ता जारी गरेको नयाँ तालिका अनुसार नेपालले २९ फेब्रुअरीमा पहिलो खेल मलेसियासँग खेल्नेछ। त्यस्तै मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने तय भएको छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भइसकेको छ भने अभ्यास पनि शुरु भएको छ। प्रतियोगिताका लागि भुवन कार्कीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। त्यस्तै उक्त प्रतियोगिताका लागि किशोर महतो पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।

टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामीलगायतका खेलाडीहरु समावेश छैनन्। प्रशिक्षकबाट उमेश पटवालको राजीनामा पछि नेपाली टिमको प्रशिक्षकमा जगत टमाटा छन्।

सहभागी देशमा कोरोनाको अवस्था

चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसले विश्वभर ८० हजार भन्दा बढी मानिसहरुलाई सङक्रमित गरिसकेको छ। जसमा चीनमा मात्र ८१ हजार भन्दा बढी सङक्रमित भेटिइसकेका छन्। यद्यपि प्रतियोगितामा चीन, भुटान र म्यानमारले नखेल्ने पक्का गरिसकेका छन्।

त्यस्तै क्रिकेट आयोजना हुने थाइल्यान्डमा पनि अहिलेसम्म ३७ जनामा कोरोनाको सङ्क्रमण देखिइसकेको छ। यता हङकङमा ७, मलेशियामा २२, नेपालमा १ र सिंगापुरमा ९० जनामा सङ्क्रमण भेटिइसकेको छ।

यद्यपि खेलाडी होटल र मैदानमा मात्र जाने भएकाले कोरोनाबाट डराउनुपर्ने आवश्यकता नरहेकोमा एसिसीले आश्वस्त तुल्याएको सचिव प्याकुरेलको भनाइ छ। 
कोरोना भाइरसकै कारण सिरि ए, ओलम्पिक छनोट लगायतका विभिन्न खेलहरु प्रभावित भइसकेका छन्।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, बिनोद भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सुन्दीप जोरा, किशोर महतो, भुवन कार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell