PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्तर्राष्ट्रिय उडानको तयारीमा बिबी एयरवेज, २०२० भित्रै चारवटा न्यारोबडी जहाज ल्याउने



वसन्तराज उप्रेती

अन्तर्राष्ट्रिय उडानको तयारीमा बिबी एयरवेज, २०२० भित्रै चारवटा न्यारोबडी जहाज ल्याउने

काठमाडौं : आफ्नो एउटै पनि जहाज नभएर उडान सेवा बन्द रहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बिबी एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालनका लागि विदेशी कम्पनीसँग साझेदारी गर्ने भएको छ।

आठ वर्षको अन्तरालमा एकपटक लाइसेन्स खारेजीमा परेर पुनः नवीकरण गरेको कम्पनी अब भने सञ्चालनमा आउने तरखरमा रहेको सम्बद्ध कर्मचारीले बताएका छन्। यसका लागि सन् २०२० भित्र चारवटा एयरबस-३२० सिरिजका न्यारोबडी जहाज खरिद गरेर ल्याउने योजना छ। अन्तर्राष्ट्रिय उडानका लागि बिभिन्न मुलुकसँग सम्झौता वार्ता सुरु गरिसकेको कम्पनीका एक पदाधिकारीले बताए।

'हाम्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स नवीकरण भइसकेको छ। क्षमता विस्तारका लागि हाम्रा संचालक भवन भट्टले विभिन्न अन्तर्राष्ट्रिय कम्पनीसँग नेगोसिएसन सुरू गर्नु भएको छ,' उनले भने, 'विदेशी लगानी आएसँगै हामीले भ्रमण २०२० भित्रै चारवटा न्यारोबडी जहाज खरिद गरेर नियमित उडान सुरु गर्ने योजना बनाएका छौँ।'

लाइसेन्स नवीकरण भएको करिब दुर्ई वर्षपछि यो कम्पनीले साझेदार ल्याउन लागेको हो। कम्पनीले दुई वर्षअघि नेपाल वायु सेवा निगमसँग बोइङ ७५७ 'कर्णाली' खरिद गरेको थियो। उक्त बोइङ अमेरिकाको एभेन्चर कम्पनीलाई बेच्न सम्झौता सकेर पन्छाउने प्रक्रियामा छ।

दुई वर्षअघि कम्पनीले १५ करोड रुपैयाँमा खरिद गरेको बोइङ-७५७ लाई २० करोड ६१ लाखमा अमेरिकी कम्पनीलाई बिक्री गरेको जनाएको छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग व्यवसायिक योजना प्रस्तुत गर्दा दुईवटा बोइङ-७५७ र एयरबस-३२० बाट अन्तर्राष्ट्रिय उडान भर्ने प्रतिबद्धता जाहेर गरेको थियो।

सम्झौता भएअनुसार मन्त्रालयले कम्पनीको नियमित पर्फरेन्स चेक गर्ने भनेको थियो। हालसम्म कम्पनीले कुनै गति नलिएको मन्त्रालय स्रोतले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार कम्पनीले लाइसेन्स नवीकरण गरेको मितिदेखि हालसम्म एयरलाइन्स अपरेसन सर्टिफीकेट 'एओसी' प्रक्रियामा आएको छैन।

निगमसँग किनेको बोइङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाउनका लागि कम्पनीलाई प्राधिकरणले पटक पटक आग्रह गरेको थियो। बिक्रीको प्रक्रियामा गएपछि अब भने उक्त बोइङ विमानस्थलबाट हट्दै छ।

बिबी एयरवेजले सन् २०१२ सेप्टेम्बर १३ कम्बोडियाको सियाम रिपबाट बोइङ ७५७-२०० विमानमा दुई सय एक पर्यटक ल्याएर आफ्नो सेवा सरु गरेको थियो। सुरुको त्यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रूपमा संचालन आएको थियो।

कम्पनीले आफ्नो नियमित उडान अक्टोबरदेखि सुरु गरेको थियो, तर सोचेजस्तो फाइदा नभएपछि निरन्तरता दिन सकेको थिएन। टोन्ले सापले लिज पर्चेजमा लिइएको आफ्नो जहाज फिर्ता लिएर गएपछि बिबिका उडान रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell