PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजधानीका सडक कालोपत्रे गर्दै कर्णाली प्रदेश सरकार, २६ किमि सडकका लागि ४७ करोड बजेट



रासस

राजधानीका सडक कालोपत्रे गर्दै कर्णाली प्रदेश सरकार, २६ किमि सडकका लागि ४७ करोड बजेट
फाइल तस्बिर

सर्खेत : कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ। राजधानी सहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो।

वीरेन्द्रनगरभित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षातमा हिलाम्य हुने र बिग्रँदा भत्कँदा पनि सरकारले ध्यान नदिएको भन्दै बर्खे अधिवेशनमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए। राजधानी सुर्खेतको सडक, खानेपानी र विद्युत् आपूर्तिमा देखिएको समस्यालाई प्रदेशसभा सदस्यले उठाएपछि सरकारले त्यसतर्फ बढी जोड गरेको हो।

प्रदेशसभा सदस्यको ध्यानाकर्षण र सरोकारवालाको सुझावसँगै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी शहरका सडक पुस दोस्रो सातादेखि धमाधम निर्माण गर्न शुरु गरेको छ। भौतिक पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक वासुदेव पौडलका अनुसार २५ किलोमिटर सडक निर्माण हुन थालेको हो।

“प्रदेश राजधानी शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण गर्दैछौँ”, निर्देशक पौडेलले भने, “यसका लागि रु ४७ करोड बजेट विनियोजन गरिएको छ ।” २६ वटा सडक चालु आर्थिक वर्षको असारमा सम्पन्न हुने जनाउँदै बाँकी सडक क्रमागतरूपमा बन्दै जाने उनले बताए।

उनले भने, “वीरेन्द्रनगर नगरपालिकाभित्र ४० सडक छन्। तीमध्ये ११ सडक गत वर्षदेखि क्रमागत छन्। छब्बीस यो वर्षमा नयाँ सडक छन् भने ६.५० किलोमिटर सडक समपूरक भन्ने छुट्टै शीर्षक र जनता सडकलगायत पाँच वटा शीर्षकका सडक निर्माण कार्य भइरहेको छ।” एउटा पुल र सडकको बोलपत्र आह्वानबाहेक अरु सबै सडकका निर्माणकार्य सञ्चालन भइरहेको निर्देशक पौडेलले जानकारी दिए।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले राजधानी शहरको मुहारसँगै सिङ्गो कर्णाली प्रदेशको पूर्वाधार विकासमा जोड दिने ‘स्पिरिट’का साथ निर्माण कार्य शुरुआत गरिएको बताइन्। यससँगै सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, वन, वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षार्थ पनि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रवक्ता केसीको भनाई छ।

नागरिक समाजका अगुवा पीताम्बर ढकालले राजधानी शहरबाटै प्रदेशको विकास विस्तार गर्ने ढाँचा अघि बढाएको भन्दै सरकारको यो सोच सबैका लागि स्वागतयोग्य भएको प्रतिक्रिया दिए। उनले भने, “राजधानी सुन्दर, सभ्य र सुसंस्कृत हुन जरुरी छ। यसले नै हाम्रो पहिचान र सभ्यता दिने हो। सरकारले राम्रो कामको शुरुआत गरेकामा हामी कर्णालीवासी खुसी छौँ।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell