PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण



रासस

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण

तम्घास : मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो। पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए।

मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा रु दुई लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। कसुरेडाँडा समुन्द्री सतहबाट दुई हजार १५० मिटरको उचाइमा छ। कसुरेडाँडा प्याराग्लाइडिङको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए।

उनले पोखराको सराङकोट पनि एक हजार ४५० मिटरको उचाइमा भएकाले लामो र छोटो दूरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए। लामो दूरीका लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दूरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताए। उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ विस्थापित हुने अवस्था रहेकाले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताए।

स्थानीय रुमा भुसाल प्याराग्लाइडिङ देखेर अचम्म परिन। जीवनमा त्यसरी मान्छे आकाशमा उडेको देखेकी थिइनन्। “आकाशमा गिद्धजस्तै मान्छे उड्ने कस्तो अचम्म! मेरो आङनै सिरिङ्ग गर्यो”, उनले भनिन्, “मान्छेले नजानेको केही रहेनछ।” त्यस्तै प्याराग्लाइडिङ हुने खबर पाएर कसुरे पुगेका ६५ वर्षका भोजबहादुर चन्द पनि चकित परे। उनले बाँदर नजाने भिरबाट मान्छे उड्दा आश्चर्य लागेको बताए। चन्दले भने, “यो डाँडो रमाइलो होला भनेर कसैले सोचेका थिएनन्।”

परीक्षणको क्रममा बुधबार कसुरे पुगेका पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले विकटलाई निकट बनाउने यो सम्भावना मर्न नदिने बताए। नियमित प्याराग्लाइडिङका लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको उनको भनाई थियो। उनले अग्लुङबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसँगै कालोपत्रेको काम अगाडि बढेकाले कसुरेको प्याराग्लाइडिङलाई थप टेवा पुग्ने बताए। गाउँको माया मारेर मधेश झरेकाहरु पैसा तिरेर प्याराग्लाइडिङ गर्न आउने वातावरण सिर्जना गर्न आफूले कुनै विकल्प बाँकी नराख्ने उनको भनाई थियो।

मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले सडक निर्माणसँगै होलबाङमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने बताए। व्यावसायिक रुपमा प्याराग्लाइडिङ अगाडि बढाउने विषयमा आफूहरु सक्रिय रुपमा लाग्ने उनका भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell