PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

 पाटनका बहा: बहीबाट नाच्दै निस्किए दिपंकर बुद्धहरु, नागबहा: मा सम्यक महादान हुँदै

पाटनका बहा: बहीबाट नाच्दै निस्किए दिपंकर बुद्धहरु, नागबहा: मा सम्यक महादान हुँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : पाटनमा दिपंकर बुद्धहरु बहा: बहीबाट बाहिरिएका छन्। प्रत्येक पाँच वर्षमा आयोजना हुने सम्यक महादान पर्वमा पाटन क्षेत्रमा रहेका दिपंकर बुद्धहरुलाई एकै ठाउँमा भेला गराइन्छ।

बुधवार साँझबाट दिपंकर बुद्धहरुलाई पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडी भेला गराइएको थियो। परम्परागत बाजाका साथ दिपंकरहरुलाई ठाउँठाउँमा नचाउँदै कृष्ण मन्दिर पुर्‍याइएको थियो। सबै बुद्धहरु आइपुगेपछि सम्यक महादान हुने स्थान नागबहा: मा लगिएको थियो। यसपटक १ सय २६ जना दिपंकर बुद्धहरु महादानमा सहभागी छन्। 

बिहिवार बिहान महाविहारका २० जना स्थवीर आजुले विशेष पूजा गरेका थिए। बिहिवार दिनभर दिपंकर बुद्धहरुलाई महादान दिने गरिन्छ।  यससैँ महाद्वीप प्रज्वलन, महायज्ञ समेत गरिन्छ।

पहिला यो पर्व प्रत्येक वर्ष आयोजना गरिन्थ्यो।  तर, रणबहादुर शाहले गुठीका जग्गा सरकारीकरण गरेपछि पर्व संचालन गर्न आयस्ताको कमी भएसँगै सम्यक महादान प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको स्थानीय बताउँछन्।

नागबहालमा राखिएका दिपंकरहरुलाई भक्तजनहरुले धान, नुन, गहुँ, भटमान, फलफूल, सुनचाँदी, वस्त्र, नगद इत्यादी दान गर्ने परम्परा रहेको छ। लिच्छवीकालदेखि सुरु भएको यो पर्वमा दान गर्न दिपंकर बुद्ध रहेका स्थानमा मानिसहरुको घुइँचो लागेको छ। यसरी दान गर्दा समाजमा शान्ति, भाइचारा फैलिने र दान गर्ने भावनाको विकास हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell