PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

रजनीकान्तले गरे मोदी सरकारको आलोचना



पहिलोपोस्ट

रजनीकान्तले गरे मोदी सरकारको आलोचना
फोटो : bollywoodlife

बलिउड सुपरस्टार रजनीकान्तले नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको आलोचना गरेका छन्। केन्द्रीय राजधानी नयाँ दिल्लीमा चर्किएको हिंसात्मक आन्दोलनलाई लिएर रजनीकान्तले केन्द्र सरकारमाथि प्रश्न उठाएका हुन्।

नागरिकता संशोधन ऐन र राष्ट्रिय परिचयपत्रको नयाँ प्रावधानलाई लिएर नयाँदिल्लीमा फैलिएको हिंसामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो तीन दिनमा उत्तर पूर्वी दिल्लीमा विभिन्न स्थानमा ढुंगामुडा र आगजनीका घटना भएपछि प्रशासनले कर्फ्यू लगाएको छ। तर, अझै पनि स्थिती सामान्य हुन सकेको छैन।

यो घटनालाई लिएर बलिउडका कलाकारले सरकार र प्रहरी प्रशासनको आलोचना गरिरहेका बेला सुपरस्टार रजनीकान्तले सरकारको असफलतासँग जोडेका छन्। यो घटनाले खुफिया एजेन्सीहरुको असफलता देखाएको र गृह मन्त्रालय समेत फेल भएको रजनीकान्तले उल्लेख गरेका छन्।

समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा रजनीकान्तले आन्दोलन तथा प्रदर्शनहरु शान्तिपूर्ण रुपमा समेत हुनसक्ने भन्दै राज्यको कमजोरीका कारण अकल्पनीय घटनाक्रम विकास भएको धारणा राखेका छन्। 'यदि हिंसा भड्कियो भने कडाइका साथ सामना गर्नुपर्छ', उनले भनेका छन्।

दिल्लीमा हिंसा भड्किएपछि सेना परिचालनको माग समेत उठेको छ। नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सेना परिचालनका लागि गृहमन्त्री अमित शाहलाई अनुरोध गरेका छन्। तर, गृहमन्त्रीले कुनै निर्णय लिइसकेका छैनन्। दिल्लीमा हिंसा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर शान्तिको अपील गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell