PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देश छोड्ने हल्लामा सुजाताको स्पष्टिकरण : नेपालीकै मायाले क्यान्सरलाई जितेँ, बाँकी जीवन यहाँकै सेवामा समर्पित हुनेछु



पहिलोपोस्ट

देश छोड्ने हल्लामा सुजाताको स्पष्टिकरण : नेपालीकै मायाले क्यान्सरलाई जितेँ, बाँकी जीवन यहाँकै सेवामा समर्पित हुनेछु

काठमाडौं : नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले देशले दिएको इज्जत र प्रतिष्ठाको गुन तिर्न बाँकी रहेको भन्दै आफूले मातृभूमि छोड्ने कल्पना समेत नगरेको बताएकी छन्। कोइरालाले आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै आफूले मुलुक छोड्ने भन्ने हल्ला चलाइएकोमा आपत्ति जनाइन्। कोइरालाले भनिन्, ‘देश छाड्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो। मेरा लागि सबैभन्दा प्रिय यो देश हो, म कसरी छाड्न सक्छु? मर्नुपरे पनि नेपालमै मरौंला।’

कोइरालाले मुलुक छोडेर बेलायतमा बस्ने तयारी गरेको भन्दै केही संचारमाध्यममा खबर आएपछि कोइरालाले आफूलाई निकै इज्जत र प्रतिष्ठा दिने मुलुकलाई छाड्ने कल्पना पनि नगरेको स्पष्ट पारिन् । नेतृ कोइरालाले नेपाल र नेपालीको मायाले आफू क्यान्सर मुक्त भई नयाँ जीवन पाएको बताउँदै भनिन्, ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ। उहाँहरुको मायाले नयाँ जीवन पाएकी छुँ। बाँकी जीवन पनि नेपाल र नेपालीको सेवामा समर्पित भइरहेकी छुँ।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने उनको धारणा छ।

नेपाल सुन्दर भए पनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उल्लेख गर्दै सुजाताले देश र जनताको सेवा गर्ने आफ्नो मन देखिको चाहना रहेको बताइन्। उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो। सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको उनले बताइन्। आफूले निरंकुशतासँग देशमै बसेर लडेको स्मरण गराउँदै कोइरालाले देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन्। आफूलाई नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुन तिर्न बाँकी रहेको उनको भनाई छ। नेतृ कोइरालाले भनिन्, ‘मैंले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहींबाट पनि सेवा गर्न सकिन्छ।’ सकारात्मक सोच र चिन्तनका साथ आफू नेपालमा बसेर सेवाभावका साथ सक्रिय भइरहने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell