PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

५ वर्ष कुर्न नसक्ने प्रचण्ड, पार्टीको निर्णय नमान्ने ओली : बबण्डर मच्चिएको नेकपाको भविष्य के?



प्रकाश भण्डारी

५ वर्ष कुर्न नसक्ने प्रचण्ड, पार्टीको निर्णय नमान्ने ओली : बबण्डर मच्चिएको नेकपाको भविष्य के?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ। प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गुटको प्रतिविम्ब सरकार सञ्चालनमा समेत पर्‍यो। पार्टी निर्णयलाई नमान्ने ओली हठ र सरकारदेखि पार्टी सञ्चालनमा समेत हावी हुन चाहने प्रचण्डको टकराव वामदेव गौतम प्रकरणले छताछुल्ल बनाइदिएको छ। अहिले विवाद चरम उत्कर्षमा पुगेको भए पनि यसको जरा एमाले - माओवादी एकतासम्मै जोडिएको छ। पार्टीमा ओली - प्रचण्ड टकरावले नेकपा नामको भविष्य कतातिर जाला त?

कृत्रिम एकताले अन्यौल

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम अहिलेको विवादको जरा तत्कालनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतामा गएर ठोक्किने बताउँछन्। एमाले र माओवादीभित्रका गुटहरुको ब्यवस्थापनबिनै सर्प्राइज दिनेगरी एकता भए पनि त्यो पारस्परिक अविश्वासमै भयो। अविश्वास पूर्व एमाले र माओवादीमा पनि चरम रुपमा थियो।

'भित्री रुपमा हेर्दा एकता कृत्रिम देखिन्छ। एमालेभित्रको संगठन पनि कृत्रिम देखिन्छ र पारस्परिक अविश्वास पनि। त्यसैमा माओवादी मिसिन्छ। माओवादी पनि त्यस्तै थियो। दुवैतिरका पार्टीभित्रको ब्यवस्थापन नभइकन एकता भयो यसैले संकट ल्याइरहेको छ,' उनी भन्छन्।

गुटबन्दीकै झल्को दिनेगरी बेला बेलामा प्रचण्डले अभिब्यक्ति दिइरहे। उनी तब चुप देखिए जब पार्टीको कार्यकारी अध्यक्षको जिम्मा पाए। विश्लेषक गौतम ओलीका कारण अहिले माधवकुमार नेपाल र झलनाथ खनाल पनि माओवादी गुटमा सामेल भएको तर्क गर्छन्। वामदेव पनि ओली गुटमा आफूलाई सुविधाजनक अवस्था नहुने भएपछि प्रचण्ड गुटमा मिसिए। एकतादेखि नै पार्टीको आन्तरिक व्यवस्थापन लथालिङ्ग छ। विश्लेषक गौतम अहिलेको अवस्थालाई अन्यौलपूर्ण अवस्थाका रुपमा चित्रण गर्छन्।

बहुमतको निर्णय नमान्दा पार्टी दुर्घटनातिर

वामदेव गौतमलाई राष्ट्रिय सभामा लिने नेकपाको निर्णय ओलीले नमान्नु त्रुटिपूर्ण ठान्छन्, अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ। पार्टी एकीकरणदेखिको अविश्वासको संकट भन्दा पनि उनी पाँच वर्ष कुर्नै नसक्ने प्रचण्ड र पार्टीको निर्णय नमान्ने ओली अहिले नेकपा विवादको केन्द्र मान्छन्।

'मुख्यगरी दुई कारण हुन्। पहिलो, एउटाले पाँच वर्ष कुर्न चाहिरहेको छैन। अर्कोमा पार्टीको निर्णय मान्दिन भन्ने अराजकता छ,' उनी भन्छन्। वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यसम्म बनाउने प्रचण्डको चाहना रहेको बताउँछन् उनी। तर, ओली उनलाई राष्ट्रिय सभामा इन्ट्री गराउनबाट कुनै पनि हालतमा रोक्नुपर्ने अडानमा छन्। श्रेष्ठ युवराज खतिवडालाई अर्थमन्त्रीमा दोहोर्‍याउनुको कुनै कारण नभएको बताउँछन्। भन्छन्, 'उनले के चाहिँ काम गरे र दोहोर्‍याउनु पर्‍यो? उनले त विश्वमै नभएको काम गरे शिक्षा र कृषिमा आधा बजेट घटाइदिए। उनले त नेकपालाई धरापमा पार्ने काम गरेका छन्।'

ओली पार्टीको निर्णयभन्दा पनि एक ब्यक्तिको पछाडि लागेको टिप्पणी गर्दै श्रेष्ठले भने, 'एउटाले पार्टीमा निर्णय नै गराएको छ तर अर्कोले पार्टीको निर्णय नै मान्दिन भन्छ। आफू बैठकमा भएका निर्णय मान्ने र नभएका नमान्ने भए त अराजकता छाउँछ।'

नेकपा भन्ने पार्टी नरहन सक्छ

विश्लेषक श्रेष्ठ अहिले नेकपा भड्खालोमा परेको तर्क गर्छन्। उनी पार्टीमा भइरहेको गतिविधिले नेकपा ध्वस्त हुने स्थिति आउनसक्ने चेतावनी दिन्छन्। भन्छन्, 'यो समस्या त्यति चाँडो हल हुने सम्भावना देख्दिन म। अहिले त नेकपा भड्खालोमा पर्‍यो। यस्तै हो भने नेकपा भन्ने पार्टी नै नरहन सक्छ।'

तर, अर्का विश्लेषक गौतम भने नेपाली राजनीतिमा तदर्थवाद हावी भएकाले ओली प्रचण्डले चाँडै अस्थिर निर्णय गरेर भए पनि केही समयका लागि समस्या किनारा लाउने आकंलन गर्छन। तर, उनी पनि अहिलेको नेकपा विवादले सुविधाजनक बहुमतमा रहेको सरकार अस्थिर बन्न पुगेको स्वीकार्छन्।

वामदेवलाई राष्ट्रिय सभामा लगे के हुन्छ?

यो प्रश्नमा दुवै जना विश्षलेषकको एउटै उत्तर छ - केही हुँदैन। वामदेव अस्थिर राजनीति गर्ने नेता हुन्। उनलाई अहिले पनि एउटा गुटमा लागेर आफ्नो स्वार्थ पूरा गर्नुपर्ने अवस्था छ। संसदीय व्यवस्थामा राष्ट्रिय सभा र प्रतिनिधिसभा बाहिरका मान्छे पनि प्रधानमन्त्री हुनसक्ने व्यवस्था हुने तर्क गर्छन् विश्लेषक गौतम। तर, उनी यसमा नेपालका राजनीतिक दल संविधान बनाउँदै नै चुकेको बताउँछन्। भन्छन, 'भारतमा हेर्नुस् वा अरु देशमा, प्रधानमन्त्री वा मन्त्री भएको ६ महिनाभित्र प्रतिनिधि सभा या राष्ट्रिय सभाको सदस्यता लिएमा हुन पाइन्छ।'

वामदेव गौतम हारेको र जनमत नभएको नेता भएकाले उनलाई राष्ट्रिय सभामा गएर प्रधानमन्त्री हुन कठिन ठान्छन् गौतम।

विश्लेषक श्रेष्ठ पनि जनदबाव भएकाले राष्ट्रिय सभासम्म पुगे पनि संविधान संशोधन गरेर प्रधानमन्त्री हुन नसक्ने ठोकुवा नै गर्छन्। उनी प्रधानमन्त्री नभए उनैले पनि बेला बेलामा नेकपाभित्र अहिलेका जस्ता विवाद ल्याइरहने दुवै विश्लेषकको मत छ।

सरकार ढल्न सक्छ

राजनीतिक विश्लेषक गौतम ओली नेकपाको अध्यक्ष नभएको दाबी गर्छन। उनी ओली साविक नेकपा एमालेको अध्यक्ष भएको तर्क गर्छन्। 'उनी नेकपाको त अध्यक्ष हुँदै होइनन्। यो त तदर्थवादी निर्णय न हो,' उनको विश्लेषण छ। ओली अहिले पार्टीभित्र अल्पमतमा परेको बताउँदै केन्द्रीय समितिमा अल्पमतमा पर्दा पार्टीमा परेको मानिने र यो संसदीय दलमा यसको रिफ्लेक्शन भए ओलीले राजीनामा दिनुपर्ने बाध्यात्मक स्थिति आउने पूर्वानुमान गर्छन् गौतम।

श्रेष्ठ पनि गौतमको विचारनिकट छन्। उनी अहिलेको नेकपाको विवादको विकसित रुप अस्थिरता भएको तर्क गर्छन्।

'अहिलेको स्थिति समाधान हुने बाटोमा गएको त म देख्दिन, यसले निम्ताउने भनेकै अस्थिरता हो। त्यो भनेको नेकपा सकिने नै हो। र, सरकार ढल्ने नै हो। अब यिनीहरुले सुनौलो अवसर गुमाउँछन् यदि यसो भएमा,' उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell