PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ शुरु, विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान : राष्ट्रपति भण्डारी



एम बम

धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ शुरु, विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान : राष्ट्रपति भण्डारी

कैलाली : कैलालीको धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ शुरु भएको छ। नेपाली भाषा र साहित्यको उन्नयनका लागि सुदूरपश्चिम साहित्य समाजको आयोजनामा महोत्सव आयोजना गरिएको हो।

महोत्सवको बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। राष्ट्रपति भण्डारीले महोत्सवले विश्व मानचित्रमा नेपाल र नेपालीको पहिचान स्थापित गराउन महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

‘महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउनुका साथै विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मलाई विश्वास छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउँछ। यस सुदूरपश्चिम क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरूलाई सुदृढ गर्नुपर्ने मैले महसुस गरेकी छु।’

फागुन २० गतेसम्म चल्ने महोत्सवमा विश्वभरका नेपाली भाषी साहित्यकारहरू सहभागी छन्। सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम र बर्मा लगायतका ठाउँबाट साहित्यकारहरू धनगढी आएका छन्।

महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारहरूको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव आदानप्रदान र प्रदेशका विभिन्न जातजाति तथा संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति हुने छन्। महोत्सवमा ५० वटा सेसनमा करिब डेढ सय जना साहित्यकारहरूको अन्तर संवाद तथा प्रस्तुति रहने कार्यसूची छ।

उद्घाटन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई एक लाख ११ हजार राशिको ‘बद्री कृष्णा वाङ्मय पुरस्कार २०७५’ प्रदानसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

यसैबीच वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकारहरू मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, बद्रीनाथ भण्डारी, तुलसीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई समेत सम्मान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell