PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ईश्वर पोखरेलको स्वेतपत्रमा जनार्दनको आपत्ति : म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो?



पहिलोपोस्ट

ईश्वर पोखरेलको स्वेतपत्रमा जनार्दनको आपत्ति : म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले रक्षामन्त्री इश्वर पोखरेलले जारी गरेको स्वेतपत्र माथि प्रश्न उठाएका छन्।

बिहिवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन्। शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति गम्भीर आपत्ति जनाए।

२०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो वा आत्मसमर्पण गराउन खोजिएको हो? भन्दै प्रश्न गरे। उनले आफूलाई तर्साउन खोजिएको भएपनि आफू असत्यको सामु नझुक्ने बताए।

उनले भने, ‘यदि त्यसरी यहाँ मलाई तर्साउन खोजिएको हो भने म असत्यको अगाडि कहिले पनि तर्सिन्न। सरकारले मलाई ढाट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ? जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन। कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट पर्‍यो। नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो। मलाई शंका उत्पन्न भयो। मलाई जवाफ चाहिन्छ, विश्वासको संकट पर्‍यो।’

आफूले सरकारका विरुद्धमा कुनै गलत कुरा नबोलेको भएपनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न गरे।

‘म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो। मैले कुनै गलत कुरा त बोलेको छैन तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधान भन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु’, उनले भने, ‘परिमार्जन गर्न म पनि लाग्ने गरेको छु। अर्को कुरा विकाश समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ। सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु। जनताको विकास निर्माणको तीव्र चाहना छ। सरकारले यसतर्फ जानुपर्छ भनेको छु। अरु केही गरेको छैन।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए।

‘म कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु, पत्रकार सम्मेलन गरेर। त्यसपछि बिना विभागिय जिम्मा थियो। मन्त्री नै नभएको नाम लेखिनुको कारण के? लेख्नुपर्ने नाम किन लेखिएन?’ उनले प्रश्न गरे।

स्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रस्टको कार्यालयमा गएर निवेदन दिएपनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उनले बताए। त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रस्टको कार्यालयमा नै नआएको भएपनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाईको पालामा कुनै निर्णय नै भएको थिएन’ भनने गरेको शर्माले बताए।

उनले भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै यसको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए। शर्माले ट्रस्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडी बढुनपर्ने माग समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell