PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्रीले भेट्न बोलाएका शेखरले मागे ओलीकै राजीनामा, पार्टी भित्रैबाट षड्यन्त्र भएको भन्दै ओलीले सुनाए पाँच कुरा



प्रकाश भण्डारी

प्रधानमन्त्रीले भेट्न बोलाएका शेखरले मागे ओलीकै राजीनामा, पार्टी भित्रैबाट षड्यन्त्र भएको भन्दै ओलीले सुनाए पाँच कुरा

काठमाडौं : पार्टीको आन्तरिक राजनीतिको कारण अप्ठेरोमा परेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली।

बहुमत सचिवालय सदस्यले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान गरेको निर्णय आफूलाई मान्य नभएको भन्दै ओलीले पार्टीमा आफूविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन्। यससँगै नेपाल कम्युनिस्ट पार्टी र सरकार संचालनमा उनलाई अप्ठेरो परेको छ।

यही राजनीतिक घटनाक्रमकाबीच नेपाली कांग्रेसका नेता शेखर कोरालाले प्रधानमन्त्री ओलीलाई भेटेका छन्। ओली प्रधानमन्त्री भएपछि शेखरले तेस्रोपटक उनलाई भेटेका हुन्।

उनले ओलीलाई अपरझट् भेटेका भने होइनन्। काठमाडौं बाहिर रहेका बेला तीन/चार दिन अघि उनलाई प्रधामन्त्रीको सचिवालयबाट फोन गएको थियो। त्यही फोनको निम्तोले शेखर आज बालुवाटार पुगेका हुन्।

बिहीवार बिहान शेखर र ओलीबीच करिब डेढ घण्टा लामो कुराकानी भयो। दुई नेताको भेटमा ओलीको राजीनामादेखि पार्टीभित्रको षड्यन्त्रबारेसम्म चर्चा भयो। आफ्नै पार्टी भित्र असजिलो महसुस गरिरहेका ओलीले विपक्षी दलका नेतासँग विभिन्न विषयमा छलफल गरे।

नैतिकताका आधारमा राजिनामा!

कोइराला र ओलीबीच भेट भइरहन्छ। त्यसैले उनीहरुबीच आत्मियता पनि राम्रो छ। कुराकानीमा ठट्टा पनि चल्छ। त्यसैले नै होला बालुवाटारबाट शेखरलाई भेटका लागि निम्तो गएको।

भेटका क्रममा ठट्यौली शैलीमा कोइरालाले ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाएका छन्।

उनले ओलीसँग भएको कुराकानीलाई उदृत गर्दै भने, 'मैले त जिल्ला जिल्लामा गएर तपाईंको राजीनामा मागेको छु अब के गर्नु हुन्छ भनेँ। प्रधानमन्त्रीले तपाई‌ंले माग्नु त ठिकै हो। त्यो त तपाईंहरुले गर्ने काम हो। तर मलाइ पार्टी भित्रै अप्ठेरो छ, भन्नु भयो।'

प्रधानमन्त्रीले भेटमा पार्टीभित्र उत्पन्न परिस्थितिको सामना गर्ने तयारी गरिहरको कोइरालालाई बताएका थिए।

संविधान संशोधन

नेकपा सचिवालयले वामदेव गौतमलाई (प्रधानमन्त्री बनाउने गरी) राष्ट्रिय सभामा लैजान भन्दै संविधान संशोधनका लागि कार्यदल बनायो। राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नपाउने व्यवस्थाका कारण गौतमले यस अघि नै संविधान संशोधन बिना राष्ट्रिय सभामा नजाने बताएका थिए।

यस कार्यदलको गठन प्रक्रिया देखिनै ‌ओली रुष्ट देखिए। कोइरालासँगको भेटमा पनि ओलीले यही विषयमा केही कुराकानी गरे।

'संविधान संशोधनमा उहाँको र मेरो विचार एउटै रहेछ। उहाँले कुनै व्यक्तिको स्वार्थका लागि संविधान संशोधन गर्न नहुने बताए। मैले उहाँको कुरामा सहमति जनाएँ', उनले भेटमा भएको कुराकानी बारे सुनाए।

गोकुलको टेप काण्ड

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो टेप सार्वजिनक भएपछि पदबाट राजीनामा दिए। बाँस्कोटा ओलीको विश्वास पात्र मानिन्थे र ओलीको बचाउमा पनि खुलेरै लाग्थे। उनको बहिर्गमनबाट कमजोर भइसेकाका ओलीले कोइरालासँगको भेटमा 'बाँस्कोटालाई पनि नछोड्ने' बताए।

कोइराला भन्छन्, 'उहाँले यसबारेमा धेरै कुरा गर्न त चाहनु भएन तर गोकुललाई पनि नछाड्‍ने बताउनुभयो।'

एमसिसी

मलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामार्फत सहयोग लिने/नलिने विषयमा नेकपा भित्रै मतभेद छ। केन्द्रीय कमिटीको बैठकले झलनाथ खनालको संयोजकत्वमा यसबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले यथास्थितिमा सम्झौता पास गर्न नहुने रायसहितको प्रतिवेदन ओलीलाई बुझाइ सकेको छ।

ओली एमसिसी जसरी भएपनि संसदबाट पारित बनाउनुपर्ने अडानमा छन्। शेखरसँगको भेटमा एमसिसीको विषयमा पनि ओलीले कुरा गरे।

'यसमा प्रधानमन्त्रीको पहिला जे अडान थियो त्यही हो। उहाँले पारित नै हुन्छ भन्नुभयो', काइरालाले भने।

सरकार फेरबदल

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओली सरकार फेर्ने कसरतमा रहेको चर्चा चल्न थालेको छ।

पुस अन्तिमतिर भैसेंपाटीस्थित वामदेव निवासमा भएको वहुमत सचिवालय सदस्यको भेटबाट नै सरकार फेर्ने कुरा अगाडि आएको बताइन्छ।  

बाँस्कोटा प्रकरण, यति काण्ड लगायतका कारण सरकार अलोकप्रिय हुँदै गएकाले सरकार फेर्नुपर्ने मत दाहालको रहेको बुझिन्छ। त्यो कुराको सुईंको प्रधानमन्त्री ओलीलाई पनि छ। यसरी आफ्नाविरुद्ध पार्टीको नेतृत्व तहकै नेता लागेको तथ्य ओलीले शेखरलाई सुनाए।

पार्टीभित्र बबण्डर मच्चिने देखिएपनि ओली आफूसँगको भेटमा कन्फिडेन्ट देखिएको भन्दै शेखरले भने, 'उहाँलाई आफ्नाविरुद्धको माइनुट लेखिएको बारेमा थाहा छ। तर उहाँ कन्फिडेन्ट देखुनुहुन्छ र सेटल गर्छु पनि भन्नु भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell