PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

राजनीतिक खिचातानीले धमिल्याउँदै गएको त्यो स्केच ...



विधुर ढकाल

राजनीतिक खिचातानीले धमिल्याउँदै गएको त्यो स्केच ...

२०५२ साल फागुन १४ गते गोरखा जिल्लामा प्रहरीको गोली चल्यो। तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गरेको १४ दिन भएको थियो। प्रहरीको गोलीबाट एक अवोध बालकको मृत्यु भयो, दिलबहादुर रम्तेल।

तिनै रम्तेल, जसलाई माओवादीले जनयुद्धका प्रथम शहीद भन्दै सम्झिँदै आएको थियो। माओवादीले चलाएको जनयुद्धको जगमा टेकेर शान्तिपूर्ण आन्दोलन मार्फत् राजतन्त्र ढल्यो। संविधानसभाको निर्वाचन सम्पन्न भयो। संविधान पनि बन्यो।

जनयुद्धको नेतृत्व गरेको पार्टी अहिले छिन्नभिन्न छ। नेकपा (माओवादी) नामको पार्टी अहिले अस्तित्वमा छैन। जनयुद्ध सुरु गर्दा नेतृत्वमा रहेका नेताहरु अहिले फरकफरक पार्टीको नेतृत्वमा छन्।

जनयुद्धका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला साविकको नेकपा एमालेसँग पार्टी एकता गरी बनेको नेकपाको एउटा अध्यक्ष बनेका छन्। तत्कालीन नेकपा माओवादीले बनाएको जनसरकारका प्रमुख डाक्टर बाबुराम भट्टराई समाजवादी पार्टीको अध्यक्ष भएका छन्। जनयुद्धका 'लालध्वज' अब 'लालध्वज' रहेनन्। उनले मार्क्सवाद र लेलिनवादसँग माओवादसमेत परित्याग गरिसके।

अर्का नेता मोहन वैद्य 'किरण' नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्व गरेर बसिरहेका छन्। अर्का नेता नेत्रविक्रम चन्द 'विप्लव' नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व गरिरहेका छन्। उनको पार्टीका गतिविधिलाई वर्तमान कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाएको छ।

जनयुद्धको समयमा र त्यसपछि माओवादीका विभिन्न हिस्साहरु अस्तित्वमा रहँदा फागुनको तेस्रो हप्ता एउटा 'इपिक स्केच'को चर्चा हुन्थ्यो। त्यो स्केच हो उनै जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको।

अहिले उनको चर्चा सेलाउँदै गएको छ। यस वर्ष यो स्केच सामाजिक सञ्जालमा केही मात्र देखियो। तर, जनयुद्धको मुलधारबाट बाहिरिएको माओवादीका कुनै पनि खेमाले यो स्केचलाई अघिल्ला वर्षमा झै सम्झिएनन्।

तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले फागुन १४ लाई बलिदानी दिवस र यो सातालाई शहीद सप्ताहको रुपमा विभिन्न कार्यक्रम गरेर कलेज कलेजमा मनाउँदै आएको थियो।

मुल नेतृत्व पार्टी एकता गरी नेकपा बनेपछि अखिल (क्रान्तिकारी) पनि अनेरास्ववियु बनेको छ। यससँगै रम्तेलको सम्झना पनि सामाजिक सञ्जालको सानो घेरामा मात्रै सीमित हुन पुगेको छ।

यही बलिदानी दिवसको सम्झना नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन अखिल (क्रान्तिकारी) का अध्यक्ष लेखनाथ न्यौपानेले सामाजिक सञ्जाल मार्फत् गरे। गोरखाकै न्यौपानेले घटनालाई यसरी सम्झेका छन्-

#आज वलिदान दिवशवि.सं. २०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन भयो। आशाकाजी उम्कन सफल भए तर वीरबहादुरलाई प्रहरीले गिरफ्तार गर्‍यो। उनलाई लिएर ताकुबाट पन्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पन्द्रुङ देउराली जराङतिर लाग्यो। जराङस्थित ब्रह्मचारिणी निम्न माध्यामिक विद्यालय नजिक पुग्दा विद्यार्थीले शिक्षक गिरफ्तारीको विरोध गरेको आतङ्कमा प्रहरीले एक्कासी विद्यार्थीमाथि गोली चलायो। गोली लागी रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए। उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा ताप्ले गाविस छापथोकमा पुर्‍याउँदा दिलबहादुरको सहादत भयो। जनयुद्ध सुरू भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्ति भएकोले गोरखाका दिलहबादुर रम्तेल जनयुद्धका प्रथम सहिद बन्न पुगे।

 

बुधवार उनी थापथली क्याम्पसले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा सहभागी हुन पुगेका थिए।

उनले थापथली क्याम्पसबाट सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्-

बलिदानको मूल्यलाई न्यूनीकरण कसैले नगरौं। जनयुद्धबाट आएको पङ्ति जति कम्युनिस्ट बन्नसक्छ उति जनयुद्ध सही सावित गर्न सकिन्छ। #आज बलिदान दिवस एट थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडौं

रम्तेलको सम्झनामा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले बागबजारमा रहेको कार्यालयमा माल्यार्पण गरी मनायो।

विप्लव नेतृत्वको नेकपाले साताव्यापी रुपमा बलिदान दिवस र शहीद सप्ताह मनाउँदै छ। विप्लवले भण्डाफोर अभियानसहित ठाउँठाउँमा दीप प्रज्वलन र अन्य कार्यक्रम गरी मनाइरहेको छ।

विप्लवको गाउँ कपिलवस्तुको शिवनगरमा नेकपाले आयोजना गरेको रम्तेलको स्मृति कार्यक्रम।

जनयुद्धले पहिलो शहीद पाएको जिल्ला हो गोरखा। यही जिल्लाको प्रतिनिधित्व गर्ने डाक्टर बाबुराम भट्टराईले पनि यस वर्ष रम्तेललाई बिर्सिए। उनले सामाजिक सञ्जालमा समेत सम्झिएनन्।

प्रचण्डले पनि राजनीतिक रस्साकस्मा रम्तेलको सम्झनै गरेनन्। उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालले भने फेसबुकबाटै रम्तेललाई सम्झिइन्। तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका सहकमाण्डर जनार्दन शर्मा 'प्रभाकर'ले पनि रम्तेलको सम्झना फेसबुकमा पोस्ट गरे।

रम्तेलको सम्झना पूर्व माओवादीका नेताहरुले जति गरे ती सबै सामाजिक सञ्जालमै मात्र। त्यसैले त सामाजिक सञ्जालमा उनको त्यो इपिक स्केच चर्चित भयो। तर, वास्तवमा त्यो स्केच मलिन हुँदै गएको छ। जनयुद्धका शहीदहरु माओवादी वृत्तबाट बिर्सिँइदै गएका छन्।

त्यसो त रम्तेलकै स्मृतिमा वारपाक जराङमा निर्माण हुन लागेको शहीद स्मृति पार्कसमेत पूर्ण हुन सकेको छैन। गत वर्षमात्र प्रचण्डले पार्कको शिलान्यास गरेका थिए। यतिबेला सरकारको नेतृत्व गरेको पार्टी, नेकपाको अध्यक्ष बनेका प्रचण्ड पार्टीभित्रकै आन्तरिक कलहमा रुमलिएका छन्। राजनीतिक खिचातानीमै रुमलिएका प्रचण्डले हिजो जनयुद्धमा बलिदानी दिने शहीदहरुलाई नै बिर्सिँदै गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell