PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

साविक विजेता पुलिस क्लबलाई हराउँदै एपिएफ खप्तड गोल्डकपको सेमिफाइनलमा



एम बम

साविक विजेता पुलिस क्लबलाई हराउँदै एपिएफ खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली : साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै विभागीय टोली एपिएफ क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीवार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई टाइब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो।

पहिलो चरणमा बाई पाएर सोझै क्वाटरफाइनल पुगेको नेपाल पुलिस एपिएफसँग टाइब्रेकरमा ४-३ ले पराजित हुँदै बाहिरिएको छ।

निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि टाईब्रेकरबाट निर्णय लिइयो। टाईब्रेकरमा एपिएफका सुदीप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे। एपिएफका नवीन लामाको प्रहारलाई भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए।

पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे। कप्तान भरत शाहको प्रहार पोलमा लागेर गोल हुन सकेन् भने अजित भण्डारीको प्रहारलाई एपिएफका गोलरक्षक रोमन रसाईलीले बचाए।

एपिएफ सहिद स्मारक ए डिभिजन लिगमा पुलिससँगको हारको बदला पनि लिएको छ। लिगमा एपिएफ पुलिसँग १-० ले पराजित भएको थियो। खेलको म्यान अफ द म्याच एपिएफका आशिष लामा चुनिए। उनले नगद १० हजार सहित ट्रफी पाए।

अब एपिएफले फाइनल प्रवेशको लागि शनिवार आयोजक सुदुरपश्चिम-११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको चौथो क्वाटरफाइनलमा शुक्रवार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन्।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell