PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सत्तामा झै एथलेटिक्समा चर्कियो रडाको : खेलकुदमा चल्दो छ राजनीतिको हावा



मुकुन्द घिमिरे

सत्तामा झै एथलेटिक्समा चर्कियो रडाको : खेलकुदमा चल्दो छ राजनीतिको हावा

फागुन २४ गते। काठमाडौंमा दुईवटा दौड प्रतियोगिता हुँदैछ एउटा 'गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता' र अर्को 'दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेस च्याम्पियनसीप २०२०'।

दुवै एकैदिन।

अझ रोचक त यी दुई रेसको रुट पनि एकै। गणेशमान सिंह रोड रेसको रुट एडिडास सोरुम दरबारमार्गबाट सुरु हुने बताइएको छ। रत्नपार्क, भद्रकाली, शहीद गेट, वीर अस्पताल, जमल, केशरमहल, महाराजगन्ज, बालुवाटार, टंगाल, नागपोखरी हुँदै पुनः दरबारमार्गमा यो रेस सकिनेछ।

अर्कातर्फ, दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको रुट लैनचौर फुटबल मैदानबाट सुरु भइ लैनचौर ब्याङ्क्वेट, राजदरबार उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्राहालय, महेन्द्र शालिक, रत्नपार्क, दरबार हाइस्कुल, कान्तिपथ, केशरमहल, संचयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेल चोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानसम्म हो।

कसरी भयो यस्तो?

केही दिनअघि पत्रकार सम्मेलन गर्दै गणेशमान सिंहको स्मृतिमा फागुन अन्तिम साता गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिएको थियो। तर, बीचमा यो प्रतियोगितालाई लिएर विवाद निस्किए।

नेपाल एथलेटिक्स संघले राष्ट्रिय खेलकुद परिषदको प्रचारप्रसार शाखामा एउटा पत्र पठाउँदै आफ्नो अनुमतिबिना रोड रेस, अल्ट्रा रेस, ट्रेल रेस म्याराथन जस्ता खेल गतिविधि भइरहेको जनायो। र, आफ्नो स्वीकृतीविना गरिएका रेस अवैधानिक हुने जानकारी दियो।

तर, यो पत्रले थप एथलेटिक्समा अन्योल उब्जायो। संघको यो पत्रमाथि प्रश्न उठाउँदै प्रतियोगिताको आयोजनाका लागि संघको अनुमति चाहिने कुनै अन्तर्राष्ट्रिय मापदण्ड नरहेको तर्कहरु अघि सारिए। अल्ट्रा रेस, ट्रेल रेस तथा मास्टर च्याम्पियनसीप गराउन संघको अनुमति नचाहिने तर्क भयो। यतिमात्र होइन, एथलेटिक्स संघले आफूले निर्वाह गर्नुपर्ने भूमिका भन्दा हस्तक्षेपकारी भूमिका खेल्न खोजेको आरोप लाग्यो।

काउन्टर पत्र

'पत्र कान्ड' पछि एथलेटिक्स संघ झनै आक्रामक देखियो। बिहीवार पत्रकार सम्मेलन गर्दै त्यही दिन (फागुन २४ गते) नै अर्को रेसको घोषणा भयो। अर्थात् फागुन २४ गते 'दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसीप २०२०' पनि आयोजना हुने तय भयो।

करिब १ हजार ५ सय स्वदेशी खेलाडी सहभागी हुने रेसमा म्याराथन मार्फत् नेपाललाई पहिलो पदक दिलाउन सफल अन्तर्राष्ट्रिय धावक जितबहादुर केसी र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा तीन स्वर्णसहित कीर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने आयोजक संस्था रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए।

'दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसीप २०२०' मा नेपाल एथलेटिक्स संघको पनि साथ छ।

संघका अध्यक्ष भन्छन् : जानकारी आएको छैन

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवबिक्रम शाह भने आफूले एथलेटिक्सलाई व्यवस्थित गर्न खोजेको तर्क गर्छन्। उनले 'गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता' बारे आफूलाई कुनै औपचारिक जानकारी या पत्र नआएको दावी गरे।

'हामीलाई सूचना दिनुपर्‍यो नि। हामीकहाँ चिठी नै आएको छैन। जानकारी छैन। यहाँ 'इगो' का रुपमा कसले लिइरहेको छ। आफै हेर्नु न,' शाहले भने, 'खेलकुद भनेको युनाइट गर्ने हो। तर, यहाँ खेलमै एकरुपता देखिएन।'

एथलेटिक्स संघका पूर्व महासचिव सुनिल राजवंशी भने एथलेटिक्स संघमा आफू मातहतमा रहने ४७ विधा बाहेक अन्य विधामा हस्तक्षेप गर्न खोज्नु गलत भएको तर्क गर्छन्।

'संघले आफूले गर्नुपर्ने कामहरु नगरेर अरुले गरेको काममा पनि नचाहिँदो हस्तक्षेप गर्न खोज्नु गलत देखिन्छ,' उनले भने।

देशभित्र दौड प्रतियोगिता आयोजना गर्न एथलेटिक्सको राष्ट्रिय संघको स्विकृति लिनैपर्ने भन्ने कुनै पनि अन्तर्राष्ट्रिय मूल्य र मान्यता, नियम कानुन अन्तर्गत नपर्ने उनको तर्क छ।

'यस्ता प्रतियोगिताहरुमा संघको सलग्नताले आयोजकलाई प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुन सक्ने चाहिँ हुन्छ। त्यसका लागि संघले स्पष्ट नीति बनाउनु बेस हुन्छ,' उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'मात्र कुण्ठा बोकी सम्मान खोज्ने नियत पूरा नहुँदा हारगुहार गरेर भइरहेका प्रतियोगितामा अंकुश लाउन खोज्नु निन्दनीय छ।'

त्यस्तै मत छ, एथलेटिक्स संघका पूर्वसचिव समेत रहेका राजन खत्रीको। उनी एथलेटिक्स संघले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

'सबै पक्षलाई बोलाएर छलफल गर्ने हो भने अथवा वार्षिक क्यालेन्डर बनाएर अघि बढ्ने हो भने यस्ता समस्या आउँदैन,' एथलेक्टिक्सका जानकार खत्रीले भने। संघका कार्यालयदेखि पदाधिकारीसम्म पनि अन्योलमा रहेकाले यस्ता प्रतियोगितामा प्राविधिक सहयोग गरे राम्रो हुने उनले बताए।

एथलेटिक्स संघले प्रचारप्रसार शाखामा पत्र पठाएकोबारे उनले असन्तुष्टि पोखे।

सबैलाई समेटेर छलफल गरेर सबै कार्यक्रममा मिलाएर सहभागी गराए समस्या नै नहुने उनको बुझाइ छ। यसका लागि क्यालेन्डर बनाएर अघि बढाउनु पर्नेमा जोड दिए।

'एथलेटिक्स धेरै विधा भएको खेल हो। यसका लागि धेरैतिरबाट एथलेटिक्स संघले के गर्‍यो? खेलाडी उत्पादनका लागि के गर्‍यो? ३/४ वर्षमा कति वटा टुर्नामेन्ट गर्‍यो?,' खत्रीले प्रश्न तेर्साए।

मोफसलका प्रतियोगिताहरुबाटै खेलाडी उत्पादन भइरहेको उनको तर्क छ। तर, दुईवटा खेल जुध्नु भन्ने चाहिँ ठूलो विषय नभएको उनको भनाइ छ। 'एकैपटक दुइवटा रेस भए भने झन् धेरै खेलाडीले अवसर पाउँछन्,' उनले तर्क अघि सारे।

अरुले गरेको काममा अब्जेक्सन गर्नुभन्दा अगाडि आफूले पनि केही गरेर देखाउनु पर्ने खत्रीको सुझाव छ।

'मोफसलमा भइरहेको यति धेरै खेलले कसलाई सहयोग गर्‍यो त? एथ्लेटिक्स संघलाई होइन?,' उनको प्रश्न छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell