PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'वामदेवको विषय'मा नबोले पनि बाँस्कोटाको बचाउमा ओलीको अभिव्यक्ति



कुञ्जरमणि भट्टराई

'वामदेवको विषय'मा नबोले पनि बाँस्कोटाको बचाउमा ओलीको अभिव्यक्ति

काठमाडौं : यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह सतहमा छ। बुधवार दिउँसोको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गर्‍यो। त्यसको केही घण्टा बित्न नपाउँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्णय कार्यान्वयन नगर्ने जानकारी दिन बालुवाटार बोलाए।

वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीले युवराज खतिवडालाई राष्ट्रपतिबाट मनोनित हुने पदमा मन्त्रिपरिषद्बाट सिफारिस गरिएको भन्दै वामदेवलाई लैजाने निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएपछि नेकपाभित्रको कलह अझ बाहिरियो। आफूलाई घेराबन्दीमा गरिएको भन्दै ओलीले निर्णय कार्यान्वयन नगर्ने र त्यसमा सहयोगको याचना पनि गरे नेपालसँग।

सचिवालयको विवाद सतहमा आए पनि पूरा विवरणबारे पार्टीका तल्ला कमिटीका नेताहरु अन्योलमा नै रहे। राजधानीमा बिहीवार वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेला थियो। प्रदेश स्तरका नेताहरुले पार्टी सचिवालय बैठकको विषयबारे नेताबाटै जानकारी पाउने अपेक्षा गरेका थिए। किनकि बालुवाटार बैठकमा विवाद गर्ने नेताहरु एकै मञ्चमा उपस्थित थिए।

कार्यक्रमको सुरुवाती चरणमै नेता हितामान शाक्यले भने, 'बेलाबेलामा आएका यस्ता कुराहरुले हामीलाई काम गर्न खल्बल्याउँछ। तरङ्ग पैदा गर्छ।'

उनले पार्टी नेतृत्वको विवादले कार्यकर्ता तहमा कुन अवस्था आउँछ सुनाउँदै थिए। वाग्मती इन्चार्ज अष्टलक्ष्मी शाक्यले बेलाबेलामा आउने विषयले दिक्भ्रमित गर्ने सुनाउन भ्याइन्। उनीहरुको आशय थियो वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णयको विषयले निम्त्याएको संकट।

उनीहरुको जवाफ दिँदै पार्टी सचिवालय सदस्य इश्वर पोखरेलले 'माथिका विषयमा माथि नै मिलाउने' बताएर कुरालाई टाल्न खोजे। तल्ला तल्ला कमिटीका विषयमा ध्यान दिन उल्टै निर्देशन दिए उनले।

उनले बोल्ने क्रममा पटकपटक भने, ' माथिको कुरा माथि नै मिलाउँछौं।'

वरिष्ठ नेता माधवकुमार नेपालले पत्रपत्रिकामा विश्वास नगर्न सुझाए। उनले पार्टीलाई विघटन हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।

तर जे कुरा उठ्यो त्यस विषयमा पार्टीका दुवै अध्यक्षहरुले मौनता साँधे। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता नहुँदा पनि आफूहरुबीच मिल्ती कहानी सुनाए।

'बाहिर द्वन्द्व जस्तो देखिए पनि हामीबीच मिल्ती हुन्थ्यो। विवाद हामीले नै मिलाएका छौं। अब पनि समस्याहरु आफैले समाधान गर्ने हो,' उनले कार्यकर्तालाई भुलाउन खोजे।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यस विषयलाई कोट्याउनै चाहेनन्। चर्चामा रहेको विषयहरु गोकुल बाँस्कोटा र जन्मदिनको केक प्रकरण, सरकारका काम र आफ्नो मृगौला प्रत्यारोपणको विषयमा बोले प्रधानमन्त्री। सुरुमा गम्भीर देखिएका प्रधानमन्त्रीले बिस्तारै हाँसोको वातावरण पनि बनाइरहे आफ्नै शैलीमा।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बास्कोटाको उनले भरमग्दुर बचाउ गरे। अनधिकृत रुपमा बनेको टेपपछि आफ्नो विषयमा कुरा उठेकाले बास्कोटाले राजीनामा गरेको र आफूले स्वीकृत गरेको ओलीको बोली थियो।

उनले भने, ‘अनाधिकृत ढंगले टेप बन्यो। मेरा बारेमा प्रश्न उठ्यो भनेर उहाँले राजीनामा दिनुभयो। उहाँले मेरो आवाज होइन म न्याय खोज्छु भन्नुभएको छ। न्याय खोज्नुहोला। अनधिकृत मान्छेले रेकर्ड भनेर बजाउँछ भने के हो त्यो?’

प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेताहरुलाई आरोप लाग्दा माइतीघर मण्डलामा गएर विरोध गर्ने गरेको तर आफ्नो पार्टीमा भने अनाधिकृत रुपमा बाहिरिएको टेप सुनेर पार्टीभित्रै रमाएको पनि बताए।

उनले भने, 'अरु पार्टीहरु आफ्ना नेताहरुलाई मुद्दा चल्यो भने सदन अवरुद्ध गर्छन्। माइतीघर मण्डलामा उफ्रिन जान्छन्। हाम्रा साथीहरु कसैले झुटो आरोप लगायो भने आहा! क्या मज्जा भन्छन्। रमाउनुपर्ने खुशी हुनुपर्ने विषय होइन्।'

आफ्नो नाममा पनि उजुरी परेको सुनेको बताउँदै ओलीले उक्त उजुरीलाई भ्रष्ट र पत्रु उजुरीको संज्ञा दिए।

भ्रष्टाचार गरेको देखिए बास्कोटालाई कार्बाही गरिने पनि उनले भन्न भ्याए।

प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन केकका कारण चर्चित रह्यो। त्यसैले त्यो विषय उठाउँदा सचिवालयको किचलो छायाँमा पर्नेमा प्रधानमन्त्री सचेत थिए। नेपालको नक्सा राखिएको केक काटेको विषय सामाजिक सञ्जालदेखि संसदसम्मै बहसमा रह्यो।

कार्यक्रमको सुरुवातमा नै अष्टलक्ष्मी शाक्यले नेपाललाई काटेर खाएको भन्दै आक्रोश पोखेकी थिइन् ओलीप्रति। त्यसको भने उनले जवाफ दिए।

‘म नेवारको ज्वाइँ हो। ऐलामात्र ल्याउ भन्न मिलेन। कसले के के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ,’ हसाउँदै सुनाए ओलीले।

'आफ्नो जन्मथलोमा प्रधानमन्त्री पुग्दा बाजागाजा बजाएर रमाउँदा के को रुवावासी?,' ओलीको प्रश्न थियो।

‘भारतले नाकाबन्दी गरेर ग्यास नआउदा नबोल्ने कांग्रेसले केकमा राष्ट्रवाद खोज्ने?’ प्रश्नमाथि प्रश्न थपिरहे ओलीले। पररर ताली बज्यो। हाँसोको फोहरा पनि छुट्यो। अनि सचिवालयभित्रको गडबडी चाहिँ पटक्क बाहिरिएन।

प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री जन्मथलो पुग्दा बाजागाजा बजाए, नाचे तर पत्रकार धुरुधुरु रोए। मान्छे खुशी भएर कसैले केक ल्याए, कसैले खाए, बिजुली पानी गएकोमा खुशी मनाए। काठमाडौंमा रुवाबासी चल्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell