PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लेन अनुशासन सिकाउँदै ट्राफिक प्रहरी : सुर्यविनायक-जडिबुटी सडकखण्डमा लेन प्रयोगको नयाँ नियम



पहिलोपोस्ट

लेन अनुशासन सिकाउँदै ट्राफिक प्रहरी : सुर्यविनायक-जडिबुटी सडकखण्डमा लेन प्रयोगको नयाँ नियम

काठमाडौं : सुर्यविनायक-जडिबुटी ६ लेन सडकखण्डमा यात्रुवाहक/मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेन र निजी/साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागू गरेको छ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले सुर्यविनायकमा एक कार्यक्रमबीच सो व्यवस्थाको शुरूवात गरे। सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

मासिक दुई सयको हाराहारीमा सवारी दुर्घटना

देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक दुई सयको हाराहारीमा सडक दुर्घटना भएकाले महाशाखाले उक्त लेन अनुशासनलाई कडाइका साथ लागू गरेको हो। ७ किमी लम्बाई भएको उक्त सडक खण्डमा प्रति मिनेट ५१ वटा मोटरसाइकल र २३ वटा ४ पाङ्ग्रे सवारी साधन गुड्ने गर्दछ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने, ‘सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापर्बाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको हो।’

नमुना र उदाहरणीय सडकखण्ड 

धुलिखेल-सिन्धुली-बर्दिबास सडक भई पूर्वी नेपाल तर्फ जाने सवारी साधनहरू यहि सडक भएर गुड्छन् र यहीँ सडक भएर राजधानी पनि भित्रिन्छन्। यस सडकमा सवारी साधनको चाप दिनानुदिन बढिरहेको छ। छिमेकी चीनसँगको व्यापारिक नाका तातोपानी खुलेपछि यो सडकमा अझै सवारी साधनको चाप बढ्ने निश्चित छ।

ढकालका अनुसार यस ६ लेनको सडकमा लेनअनुसार सवारी साधनहरू गुडाउनको लागि निर्माण गरिएको हो। यस नियमको कार्यान्वयनपछि दैशकै नमुना र उदारणीय सडकखण्ड हुने अपेक्षा गरिएको छ। ढकालले यसका लागि सम्पूर्ण सडक प्रयोकर्ताहरूले नियम पालना रसरोकारवाला निकायहरूलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध समेत गरे।

प्रचारप्रसारको लागि १० हजार पर्चा पम्पलेट

सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जाकारीका लागि १० हजार भन्दा बढी पर्चा पम्पलेट वितरण गरेसँगै ८० वटा जानकारीमूलक बोर्डहरू राखिएका छन्। उक्त सडकखण्डको ७ वटा चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्वारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ।

महाशाखाका प्रमुख ढकालले भने, ‘हाललाई उक्त नियम पालनाको लागि प्रहरी नायव उपरीक्षकको कमान्डमा ट्राफिक प्रहरी र जनपद प्रहरीको थप टोली खटाइ सम्झाइने गरिएको छ। सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाइ यस नियमलाई कडाईका साथ पालना गराइनेछ।’

केही समय पश्चात नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सयसम्म जरिबाना गर्न सक्नेछ। सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए।

सरोकारवाला सबैलाई राखेर शुरू हरिएको यो अभियानको अनुगमन र प्रभावकारी कार्यान्वयनमा सघाउन सम्बन्धित सरोकारवाला संघसंस्था, नागरिक समाजबाट प्रतिनिधित्व हुने गरी ६ सदस्य अनुगमन समिति समेत गठन गरिएको छ। पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एवं प्रभावकारी बनाउन स्थलगत रूपमा समस्याको पहिचान गरी ठाउँको ठाउँ कार्यान्वयनको लागि महाशाखाका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठीत सुझाव समितिले सुझाव पेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell