PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदेश प्रहरी भर्नाको लागि तयारी शुरु



पहिलोपोस्ट

प्रदेश प्रहरी भर्नाको लागि तयारी शुरु

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले प्रदेश प्रहरी भर्नाको लागि तयारी शुरु गरेको छ। प्रहरी गठनसम्बन्धी आवश्यक कानुन संघीय सरकारले बनाएसँगै प्रहरी भर्नाका लागि तयारी शुरु गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

मन्त्री यादवका अनुसार प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ भने मन्त्रालय विनियमावली र निर्देशिका तयारमा जुटेको छ।

‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई टुंगो लगाइनेछ’, उनले भने, ‘सरकारले प्रदेश प्रहरी भर्नाको लागि विभिन्न दृष्टिकोणबाट तयारी शुरु गरेको छ।’

प्रदेश प्रहरी गठनका लागि चाहिने आवश्यक संघीय कानुन माघ २८ मा आइसकेको छ। संविधानले प्रदेशभित्रको शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि संघीय कानुन नआउँदा लामो समयदेखि प्रदेश प्रहरीको गठन अगाडि बढ्न सकेको थिएन। प्रदेश सरकारले संघीय कानुन आउनु एक वर्षअघि नै प्रहरी ऐन ल्याएको थियो।

प्रहरीको दरबन्दी निर्धारण र समायोजन गर्न ऐनले गृहसचिवको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको छ। समितिको पहिलो बैठक बसेर भर्ना प्रकृया छिट्टै अगाडी बडाउने मन्त्री यादवले बताए। ऐन अनुसार नेपाल प्रहरीको दरबन्दीमा रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दर्जासम्मका प्रहरी अधिकारीहरू प्रदेश प्रहरीमा समायोजन हुने प्रावधान रहेको छ। नेपाल प्रहरीका करिब ८० हजार जनशक्ति संघ र सातवटै प्रदेशमा रहने गरी बाँडिनेछन्।

आउँदो फागुनसम्म भर्नाका लागि सबै प्रक्रिया टुंग्याउने जनाइएको उनले बताए। प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रहरी भर्नाका लागि पाठ्यक्रम र परीक्षाको मोडालिटीलाई अन्तिम रूप दिने काम भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell